धोनी शनिबार नेपाल आउने

काठमाडौं, ३१ जेठ । भारतीय क्रिकेट टिमका कप्तान महेन्द्रसिंह धोनी यही शनिबार नेपाल आउने भएका छन् । नेपालस्थित भारतीय राजदूतावास र नेपाल क्रिकेट संघ (क्यान) ले उनको नेपाल भ्रमणको बन्दोबस्त गरिसकेका छन् ।
एयर इन्डियाबाट शनिबार बिहान साढे ९ बजे नेपाल आइपुग्ने धोनीले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइसिसी यु–१९ विश्वकपको तयारी गरिरहेका नेपाली टोलीका सदस्यसँग सोही ठाउँ पुगेर अन्तरक्रिया गर्नेछन् भने शनिबार साँझ नेपालमै बिताएर भोलिपल्ट पशुपतिको दर्शन गरी बिहान स्वदेश फिर्ता हुनेछन् ।
भारतीय दूतावास र क्यान दुवैले धोनीका लागि सुरक्षा व्यवस्था कडा गर्ने जनाएका छन् । धोनीको नेपाल भ्रमणबारे मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा क्यान महासचिव अशोकनाथ प्याकुरेलले सुरक्षा चुनौती रहेको भन्दै त्यसका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपिएफ) सँग विशेष छलफल गर्ने जानकारी दिए । ‘धोनीजस्ता विश्वचर्चित खेलाडी नेपाल आउन लागेकाले कीर्तिपुर क्रिकेट मैदानमा दर्शकको उपस्थिति बाक्लो हुन सक्छ । त्यसैले यसका लागि कसरी सुरक्षा व्यवस्था मिलाउने भन्ने सम्बन्धमा नेपाल प्रहरी र एपिएफसँग विशेष छलफल हुनेछ,’ महासचिव प्याकुरेलले भने ।
प्याकुरेलका अनुसार धोनीले खेलकै प्रक्रियाद्वारा क्रिकेट मैदानमा खेलाडीसँग धोनीले अन्तरक्रिया गर्नेछन् । ‘मैदानभित्र रहेर धोनी र खेलाडीबीच अन्तरक्रिया हुन्छ,’ प्याकुरेलले भने, ‘सम्भवत: धोनीले खेलेरै खेलाडीसँग साक्षात्कार गर्नेछन् ।’ यता नेपालस्थित भारतीय राजदूतावासकी प्रतिनिधि अपूर्वा श्रीवास्तवले धोनीको भ्रमण ‘अफिसियल’ भएको जानकारी दिइन् । केही साताअघि मात्र भारतीय दूतावासले धोनी नेपाल आउन लागेको खबर सार्वजनिक गरेको थियो ।
धोनीको भ्रमणले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट जगतमा थप चिनाउने क्यानले विश्वास लिएको छ । ‘नेपालमा धोनीको भ्रमण भइरहँदा यसले विश्वको ध्यान खिच्नेछ । स्वयं भारत पनि नेपाली क्रिकेटबारे सकारात्मक हुने हाम्रो विश्वास छ,’ प्याकुरेलले भने, ‘धोनीले पनि नेपालबारे सन्देश लिएर स्वदेश फर्कनेछन् र विश्वस्तरका खेलाडीबीच पनि नेपाली क्रिकेटले थप चर्चा पाउँछ ।’
कीर्तिपुर भ्रमणका क्रममा धोनीसँग नेपाली क्रिकेटको विकासका लागि के गर्न सकिन्छ भनी कुराकानी गर्ने प्याकुरेलले जानकारी दिए । ‘विश्व च्याम्पियन टोलीको छिमेकी भएर पनि हामीले भारतबाट केही फाइदा लिन सकेका छैनांै,’ उनले भने, ‘यस विषयमा कसरी नेपाली क्रिकेटलाई थप माथि पुर्‍याउन सकिन्छ भनी उनीसँग कुराकानी हुनेछ ।’ एसिसी यु–१९ एसिया कप र आइसिसी यु–१९ विश्वकपको पूर्वसन्ध्यामा हुन लागेको धोनीको नेपाल भ्रमणले नेपाली खेलाडीलाई फाइदा पुग्ने विश्वास लिइएको छ ।

यस्तो छ धोनीको भ्रमण तालिका
शनिबार
ङ्ग बिहान साढे ९ बजे त्रिभुवन विमानस्थलमा आइपुग्ने ।
ङ्ग ११ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गएर युवा खेलाडी
(यु–१९) सँग अन्तरक्रिया गर्ने । त्यहाँ करिब दुई घन्टा बिताउने ।
ङ्ग कीर्तिपुरबाट लन्चका लागि भारतीय दूतावास जाने ।
ङ्ग याक एन्ड यति होटलमा साँझ ४ बजे आयोजना हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुने । उक्त कार्यक्रममा नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पनि उपस्थिति रहने कार्यक्रम छ ।
आइतबार
ङ्ग बिहान पशुपति दर्शन गर्न जाने ।
ङ्ग बिहान करिब १० बजे स्वदेश फर्कने ।

प्रतिक्रिया