शेभचेन्कोले युक्रेनलाई जिताए, इङल्यान्ड–फ्रान्स बराबरीमा

किभ, ३१ जेठ । युरोकप फुटबलमा दुई भेट्रान स्ट्राइकर आन्द्रेइ शेभचेन्को र जिलाटन इब्राहिमोभिक छाएको खेलमा युक्रेनले स्वीडेनलाई २–१ ले पराजित गरेको छ । सोमबार राति भएको खेलमा सहआयोजक युक्रेनका लागि दुवै गोल शेभचेन्कोले गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा इब्राहिमोभिकको गोलमा स्वीडेनले अग्रता लिएको थिथो । समूह ‘डी’ को पहिलो खेलमा फ्रान्सले इङल्यान्डलाई १–१ गोलको बराबरीमा रोक्यो । जेसन लेस्कटको हेड गोलमा अघि बढेको इङल्यान्डको विरुद्धमा म्यानचेस्टर सिटीकै सामिर नास्रीले गोल गरे । लेस्कटले दिलाएको अग्रतालाई नौ मिनेट मात्र कायम गरे पनि रे हजसनको टोली राम्रो फर्ममा रहेको फ्रान्सविरुद्ध अंक खोस्न सफल भएपछि समूहको होड खुला नै रहेको छ ।
‘अन्य बलियो टोलीसँगभैंm हामीले फ्रान्ससँग पनि राम्रो खेल्यौं,’ खेलको समाप्तिपछि हजसनले भने । हजसनले बराबरीको नतिजा पनि सन्तोषजनक रहेको बताएका छन् । उनका समकक्षी फ्रान्सेली प्रशिक्षक लरें ब्लाँले पनि बराबरी नतिजा नै खेलअनुसारको सही नतिजा भएको बताए । ‘हामीले इङल्यान्डले गोल गरेलगत्तै नफर्काएको भए हार्न पनि सक्थ्यांै । तर, के पनि हो भने खेल हाम्रो नियन्त्रणमा नै धेरै समय रहयो,’ ब्लाँले भने ।
इङल्यान्डका लागि सुखद् पक्ष भने एलेक्स ओक्सालेड चेम्बरलिनले देखाएको उज्ज्वल भविष्यको सम्भावना पनि हो । स्टेवार्ट डाउनिङ घाइते भएपछि १८ वर्षीय चेम्बरलिनलाई आश्चर्यजनक रूपमा सुरुआतदेखि नै लेफ्ट विंगमा खेलाइएको थियो । शुक्रबार इङल्यान्डले किभमा स्वीडेनसँग खेल्नेछ भने डोन्सटेकमा फ्रान्सले युक्रेनसँग खेल्नेछ ।
स्वीडेन र युक्रेनको खेलमा भने एसी मिलानका पूर्व र वर्तमान फरवार्ड नै छाए । दोस्रो हाफको सातौं मिनेटमा किम काल्र्सस्ट्रमले दिएको पासमा इब्राहिमोभिकले नजिकैको दूरीबाट गोल गरे । चोटका कारण सत्रको आधाभन्दा बढी समय गुमाएका पूर्वयुरोपेली वर्षखेलाडी शेभचेन्कोले प्रशिक्षक ओलेग ब्लोखिमको विश्वासलाई सार्थक तुल्याउने क्रममा दुई हेड गोल गरे । उनले इब्राहिमोभिकले गोल गरेको तीन मिनेटपछि बराबरी गोल गरे । ६२औं मिनेटमा विजयी गोल गर्दै शेभचेन्कोले १०८ अन्तर्राष्ट्रिय खेलमा व्यक्तिगत ४८औं गोल गरे ।
पहिलोपटक आफूलाई मार्क गरिरहेको उल्फ मेलबर्गलाई बिट गरेका शेभचेन्कोले दोस्रो गोल गर्ने क्रममा ओलेग गुसेभको कर्नरमा इब्राहिमोभिकभन्दा माथि उफ्रेर हेड गरेका थिए । इन्जरी समयमा जोहान इल्मान्ढरलाई शेभचेन्कोले बल उपलब्ध गराए पनि उनको प्रहारले गोलपोस्टको दिशा लिन सकेन । ‘मैले आफूलाई २० वर्षेभैंm महसुस गरेको छु, ३५ को जस्तो होइन,’ खेलपछि शेभचेन्कोले भने ।
पूर्वप्रधानमन्त्री युलिया टाइमसेन्कालाई रिहा गर्न माग गरिरहेका युरोपियन युनियनका स्वीडेन, इङल्यान्ड र फ्रान्सका कुनै पनि सरकारी अधिकारी खेल हेर्न रंगशाला पुगेनन् । खेलको समाप्तिपछि उत्साहित शेभचेन्कोले अन्य कुनै पनि घटनाले आफूलाई प्रभाव नपार्ने बताएका छन् । उनले हरेक खेल फाइनलसरह भएको र यो जितले नै दोस्रो चरण यात्राको सम्भावना प्रबल भएको बताए ।
इङल्यान्डलाई अग्रता दिलाउने क्रममा भने लेस्कटले स्टिफन जेरार्डको फ्रिकिकमा हेड गरेका थिए । नास्रीले भने डी–बक्सबाहिरबाट ड्राइभ गर्दै पहिलो बारमा गोल गरेका थिए ।

प्रतिक्रिया