जित्नैपर्ने दबाबमा नेदरल्यान्ड्स


खार्किभ : युरोकप–२०१२ मा अवसान हुने ग्रुप अफ डेथको पहिलो टोली को बन्छ होला ? सायद दोस्रो खेलअगावै समूह ‘बी’ को बुधबार हुने खेलबाटै कुनै टोली बाहिरिए त्यो नेदरल्यान्ड्स या पोर्चुगलमध्येकै हुनेछ । समूहको पहिलो खेलमा डेनमार्कसँग १–० ले पराजित भएपछि नेदरल्यान्ड्समाथि दबाब बढेको हो । पहिलो खेलमा पोर्चुगललाई पराजित गरेको जर्मनी नेदरल्यान्ड्समाथि जित हात पारेदेखि एक खेल बाँकी रहँदै क्वार्टरफाइनल प्रवेश गर्न सक्नेछ । यसैगरी डेनमार्कका लागि पनि पोर्चुगललाई पराजित गर्दै एक खेल बाँकी रहँदै पहिलो चरण पार गर्ने अवसर रहेको छ । पहिलो खेलमा दुवै परिणाम १–० को भएका कारण दोस्रो खेलबाटै उथलपुथल हुने सम्भावनालाई पनि नकार्न भने मिल्दैन ।
जर्मनीमाथिको जितले मात्र डच प्रशिक्षक बर्ट भान मर्जविकले लामो सास फेर्न सक्नेछन् । ‘यो ठूलो लडाइँ हो । तर पनि प्रतियोगितामा पुनरागमन गर्दै उपाधि जित्नसमेत लायक छौं भन्ने पुष्टि गर्न चाहन्छौं,’ डच रक्षक जोन हेटिंगा भन्छन् । डेनमार्कसँगको खेलमा छनोट चरणमा आठ खेलमा १२ गोल गरेका साल्केका क्लास जन हन्टलरलाई प्रशिक्षक मर्जविकले १९ मिनेट मात्र खेलाएका थिए । जर्मनीसँगको खेलमा भने सुरुआतबाटै खेल्ने सम्भावना रहेको छ । डेनमार्कसँग निष्प्रभावी रहेका इब्राहिम अफेली जर्मनीसँग बेन्चमा बस्ने र रोबिन भान पर्सी बायाँ विंगमा खेल्ने सम्भावना बढेको छ । रक्षापंक्तिमा पहिलो खेल गुमाएका जोरिस मेथिजसनले दोस्रो खेलमा फर्कनेछन् । यसो भएमा रोन भ्लार पनि बेन्चमा रहनेछन् ।
जर्मनीका प्रशिक्षक जोचिम लोउले नेदरल्यान्ड्ससँग पोर्चुगलसँगभन्दा राम्रो खेल्नुपर्ने बताए । उनले आफ्नो टोलीको फर्मेसन विपक्षीको खेल हेरेर नहुने बताएका छन् । पोर्चुगलसँग लोउले अनुभवी मिरोस्लाभ क्लोस र पर मेस्टरकरलाई बेन्चमा राख्दै मारियो गोमेज र म्याछ हयुमेल्सलाई खेलाएका थिए ।
पोर्चुगल र डेनमार्कले भने सोही टोली उतार्ने सम्भावना रहेको छ । प्रतियोगितामा आशा बाँकी राख्न पोर्चुगलले पनि जित्नैपर्ने दबाब भए पनि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले प्रतियोगितमा कमब्याक गर्ने सम्भावना व्यक्त गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया