जन्मदिनमा रक्तदान


दाङ : ‘जन्मदिनमा केक काटिन्थ्यो, पाटी गरिन्थ्यो र घुम्न जान्थेँ,’ घोराही– ११ रतनपुरका नीरज गिरीले भने, ‘जन्मदिन फरक तरिकाले मनाउन रक्तदान गर्ने अठोट गरेको छु ।’ १९ वर्षीय गिरीले एक दर्जन सहपाठीसँगै जन्म दिनका अवसरमा रक्तदान गरेर नयाँ ढंगमा जन्मदिन मनाएका छन् । ‘आगामी दिनमा पनि रक्तदान गरेर जन्मदिन मनाउने सोचेको छु,’ उनले प्रतिबद्धता जनाए । गिरी महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा स्नातक प्रथम वर्षमा अध्ययनरत छन् ।
‘सधैँजसो सञ्चारमाध्यममा रगतको अभावमा बिरामी तथा सुत्केरीको मृत्युलगायत समाचार सुन्दा र पढ्दा दु:ख लाग्छ,’ गिरीले भने, ‘जन्मदिनका अवसरमा रक्तदान गर्दा अरूले जीवनमा राहत पाउँछन् भने किन खर्च गरेर केक काट्ने ?’ गिरीको १९औँ जन्मदिनका अवसरमा एक दर्जन सहपाठीले रक्तदान गरेका थिए ।
गिरीको निर्णयसँगै उनका साथी डिल्ली शर्माले समेत आफ्नो जन्मदिनमा रक्तदान गर्ने निर्णय गरेका छन् । नेपाल रेडक्रस सोसाइटी, दाङले जन्मदिनमा रक्तदान गर्ने कार्य जिल्लामै पहिलो र नयाँ भएको जनाएको छ । संयोजक दिलीप न्यौपानेले दाङमा दैनिक एक सय ५० पिन्ट रगत आवश्यक भए पनि आधा पनि रगत संकलन हुन सकेको छैन । ‘बिरामीका आफन्त आउँछन् र रगत नपाएर झगडा गर्छन्,’ उनले भने, ‘जिल्लामा रक्तदाताको समेत अभाव छ ।’ (सौस)

प्रतिक्रिया