पुरानै अडान पछि सहमति हुन सकेन

काठमाडौं, ३० जेठ । पार्टी फूटको संघारमा पुगेको एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले असन्तुष्ट वरिष्ठ उपाध्यक्ष मोहन बैद्य पक्षसँग परामर्श गरेका छन् ।
काठमाडौंस्थित बैद्य निवासमा आज भएको दाहाल र बैद्य बार्तामा सहमतिको प्रयास खोजिएपनि कुनै ठोस सहमति हुन नसकेको नेताहरुले बताएका छन् । बार्तामा बैद्य समूहले पार्टीको राजनीतिक कार्यदिशामा पुनःविचार गर्न आग्रह गरेको थियो भने संस्थापन पक्षले असार–१ गतेको भेला रोकेर बार्तामा आउन आग्रह गरेका थिए । यद्यपी दुबै पक्ष आ–आफ्नै अडानमा रहेपछि सहमति हुन नसकेको हो ।
बार्तामा एमाओवादी अध्यक्ष दाहालले बैद्य समूहलाई असार–१ गते राखेको भेला स्थगित गर्न भनेपनि उपाध्यक्ष बैद्यले अस्विकार गरिदिएको छ ।
बैठक पछि सञ्चारकर्मीसँग संक्षिप्त कुरागर्दै अध्यक्ष दाहालले बार्तामा कुनै ठोस सहमति हुन नसकेको बताए । यद्यपी उनले बार्ता र छलफल जारी रहेको भन्दै निकास आउनेमा आफू आशावादी रहेको दाबी गरेका छन् ।
बरिष्ठ उपाध्यक्ष बैद्यले छलफलका क्रममा कुनैपनि ठोस सहमति हुन नसकेको बताए । उनले भेलापनि नरोकिने उल्लेख गरेका छन् ।
लामो पछि भएको छलफलमा संस्थापन पक्षबाट अध्यक्ष दाहाल, सचिव पोष्टबहादुर बोगटी, स्थायी समिति सदस्य कृष्णबहादुर महरा तथा असन्तुष्ट समूहका तर्फबाट वरिष्ठ उपाध्यक्ष बैद्य, महासचिव रामबहादुर थापा, सचिव सिपी गजुरेल, स्थायी समिति सदस्य देब गुरुङ लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया