एमालेमा संविधानसभा व्युताउन माग

काठमाडौं, ३० जेठ । एमालेले आफ्ना असन्तुष्ट जनजाति नेताहरुसँग उनीहरुका मागलाई लिएर छलफल गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय बल्खुमा आज एमालेका शीर्ष नेताहरुले जनजाति नेताहरुसँग मागका बारेमा छलफल गरेको उपाध्यक्ष अशोक राईले जानकारी दिए ।
एकल जातीय पहिचानका आधारमा संघीय राज्यमा पार्टीले अडान राख्नुपर्ने माग गरेका उनीहरुले विघटित संविधानसभा पुनस्थापनका लागि पहल गर्न माग अघि सारेका छन् । उपाध्यक्ष राईले जातीय पहिचान सहितको संघीय राज्य र नयाँ संविधान जारी गर्नका लागि संविधानसभा केही समयका लागि व्युताउन माग गरेको बताए ।
असन्तुष्ट जनजाति नेताहरुले नेतृत्व समक्ष जातीय पहिचानका राज्य, संविधानसभा पुनस्थापना गराउन पहल गर्नुपर्ने लगायतका माग लिखित रुपमा अघि सारेका छन् ।
नेतृत्वसँगको छलफलका लागि उपाध्यक्ष राई, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु पुगेका थिए । जनजाति नेताहरुले जातीय पहिचानका पक्षमा पार्टी उदाशिन रहेको भन्दै पार्टी छाड्ने चेतावनी दिएका छन् । केही नेताले पार्टी परित्यागको घोषणा समेत गरिसकेका छन् ।
जनजाति नेताहरु र मागका बारेमा छलफल गर्न एमालेले असार पहिलो साता राष्ट्रिय भेला समेत बोलाई सकेको छ ।

प्रतिक्रिया