रमिला–कमलाको जोडीलाई उपाधि


काठमाडौँ, ३०  जेठ । मध्यमाञ्चलले दोस्रो पेन्टागन राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा  मध्यमाञ्चलका रमिला तण्डुकार र कमला पुनको जोडीले पुलिसका कोपिला उप्रेती र सुशीला थापाको जोडीलाई पराजित गर्‍यो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय हातामा नवनिर्मित बिच भलिबल कोर्टमा भएको फाइनलमा विजेता जोडीले २१–१६ र २१–१३ को सोझो सेटको जित हात पार्‍यो ।
पहिलो सेटमा कुनै समय पुलिस जोडी ८–७ ले अघि  थियो । त्यसपछि मध्यमाञ्चलको जोडी लगातार अंक बटुल्दै विजय उन्मुख भयो । पहिलो सेटमा सुशीलाले तीन सर्भिस बाहिर प्रहार गर्नु  पराजयको कराण बन्यो । धेरै खेलमा दबाबको सामना गर्न नसकेका कारण पराजय बेहोर्ने पुलिस क्लब दोस्रो सेटमा भने सम्हालिन नै सकेन । पहिलो अंक जोडे पनि त्यसपछि मध्यमाञ्चल जोडीले लागातार सात अंक जोडेको थियो ।
उपाधिसँंगै मध्यमाञ्चल जोडीले १० हजार तथा उपविजेता प्रहरी जोडीले सात हजार रुपियाँ पुरस्कार हात पारे । विजेता टोलीलाई प्रायोजक पेन्टागन कलेजका अध्यक्ष एसपी सिंहले पुरस्कार प्रदान गरे । उनले भलिबल संघसँंगको सहकार्य निरन्तर रहने प्रतिबद्धता जाहेर गरे ।
प्रतियोगिताको पहिलो संस्करण चितवनमा भएको थियो । यस वर्षदेखि मात्र  पेन्टागनले प्रायोजन गर्न थालेको हो  । भलिबल संघले काठमाडाँैमा नै कृत्रिम बिच भलिबल कोर्ट बनाएर त्यसैमा प्रतियोगिताको आयोजना गर्ने महत्त्वपूर्ण काम गरे पनि केही कुरामा भने चुकेको थियो । कुनै पनि प्रतियोगितामा समयको महत्त्व कत्ति हुन्छ भन्नेमा ध्यान नै दिइएन । तीन बजे निर्धारित फाइनल खेल चार बजेभन्दा पछि मात्र सुरु भएको थियो । फाइनल खेल हेर्न कोर्ट वरपर रहेका दशर्क भलिबल अधिकारी र अन्यको गरी लगभग एक दर्जनभन्दा बढीको भाषण सुनेर नै एक घन्टाभन्दा  बढी समय वाक्क मानेर बसेका थिए ।
एपिएफका विनिता बुढाथोकी र नेबिका चौधरीले तेस्रो स्थानमा चित्त बुझाए । त्यस जोडीले एपिएफकै निमा श्रेष्ठ र ज्योति चौधरीको जोडीलाई सिधा सेटमा २१–१७ र २१–१० ले पाखा लगायो । तेस्रोले पाँच हजार तथा चौथोले तीन हजार रुपियाँ पुरस्कार प्राप्त गरे ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव केशव स्थापितले पुरस्कार प्रदान गरे । नेपाल भलिबल संघद्वारा आयोजित तीनदिने प्रतियोगितामा पाँच विकास क्षेत्र तथा दुई विभागीय टिम प्रहरी र एपिएफका समान २–२ गरी कुल १४ टिम सहभागी थिए । प्रतियोगितामा साबिक विजेता प्रहरीका निता शाह र चूडा खड्काको जोडीले भाग लिएनन् । उनीहरु तेस्रो एसियाली बिच खेलकुदका लागि हाल चीनको हायाङमा छन् ।

प्रतिक्रिया