पूर्वप्रम थापा पूर्ण होसमा

काठमाडौं, २९ जेठ । शनिबार अचानक मुटुको गति बन्द भएर नर्भिक अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा पूर्ण रूपमा होसमा आएका छन् । आइतबार मुटुमा स्थायी पेसमेकरको सफल प्रत्यारोपणपछि उनको स्वास्थ्यमा क्रमिक सुधार आएको हो ।
सोमबार बिहानदेखि नै पूर्णरूपमा होसमा आएका राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष थापाले बिहानै चिया–बिस्कुट र दिउँसो अम्लेट खाएको अस्पतालले जनाएको छ । उपचारमा संलग्न चिकित्सक डा. भारत रावतका अनुसार थापाको स्वास्थ्यमा चामत्कारिक सुधार आएपछि सोमबार उनलाई ह्विल चियरमा राखेर अस्पतालमा केही समय घुमाइएको थियो । ‘उहाँको स्वास्थ्यमा निकै सुधार आएको छ’ डा. रावतले भने, ‘उहाँ अहिले कुर्सीमा बस्न सक्ने र कुराकानी गर्न सक्ने हुनुहुन्छ ।’
शनिबार बिहान हार्ट एरेस्ट भएका पूर्वप्रधानमन्त्री थापाको उपचार गर्न भारतबाट डा. आरआर कास्किवालसहितको चिकित्सकको टोली आइतबार बिहान अस्पतालमा आएको थियो । टोलीले थापाको स्थायी पेसमेकरको सफल प्रत्यारोपण गरेको थियो ।

प्रतिक्रिया