कांग्रेसले अध्यादेशको प्रतिवाद गर्ने

काठमाडौं, २९ जेठ । नेपाली कांग्रेसले कामचलाउ सरकारले अध्यादेश जारी गर्न नसक्ने भन्दै महत्वपूर्ण निर्णय गर्दा राजनीतिक सहमतिमा गर्न सुझाव दिएको छ ।
पार्टी कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारलाई कुनैपनि प्रकारको अध्यादेश नल्याउन सुझाव दिएको केन्द्रीय सदस्य धनराज गुरुङले जानकारी दिए । उनले भने, ‘कामचलाउ सरकारलाई अध्यादेश जारी गर्न पाउदैन ।’
अध्यादेशबाट आर्थिक विधेयक वा अन्य विधेयक ल्याउने प्रयास गरिए त्यसको प्रतिवाद गर्ने निर्णय समेत गरेको केन्द्रीय सदस्य गुरुङले बताए ।
कामचलाउ सरकारका प्रधानमन्त्रीले मुलुकको प्रतिनिधित्व गर्न नसक्ने भन्दै प्रधानमन्त्री बाबुराम भट्टराईलाई विदेश भ्रमणमा नजान सुझाव दिएको छ । भट्टराई एक साताका लागि छिट्टै विदेश भ्रमणमा जाने कार्यक्रम तय भईसकेको छ ।
कामचलाउ सरकारले आफ्नो दायित्व र हैसियत भुलेर अध्यादेश जारी गर्ने, विदेश भ्रमणमा जाने जस्ता कार्य गरेमा त्यसबाट उत्पन्न हुने परिणामको स्वयं सरकार हुने निर्णय गरेको गुरुङले उल्लेख गरे ।
बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा समूहको भने अनुपस्थिति रहेको थियो । बैठक मंगलबार पुनः बस्ने गरेर स्थगित भएको छ ।

 

 

 

जेठ २९, २०६९

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी.नगर, ललितपुरमा बस्यो । देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र एनेकपा (माओवादी) नेतृत्वको सरकारको असंवैधानिक, प्रतिगामी र निरंकुश निर्णय एवं माओवादी सर्वसत्तावादका विरुद्ध २०६९ जेठ २६ गते काठमाडौँको खुलामञ्चमा भएको विरोध सभाको समिक्षा गर्दै आजको बैठकमा— उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु— महेश आचार्य, नरहरि आचार्य र आमोदप्रसाद उपाध्यायले आफ्नो धारणा राख्नु भएको थियो ।

बैठकको निर्णय देहाय बमोजिम छ—
१. संविधान र सहमति विपरीत षडयन्त्रपूर्ण रुपमा प्रधानमन्त्रीबाट सिफारिश गरिएको अध्यादेश जारी नगर्न सम्माननीय राष्ट्रपतिज्यू समक्ष नेपाली कांग्रेसका सभापति श्री सुशील कोइराला र नेकपा (एमाले) का अध्यक्ष श्री झलनाथ खनालले संयुक्त हस्ताक्षर गरी जारी गर्नु भएको प्रेस वक्तव्यलाई कार्यसमितिको यो बैठक अनुमोदन गर्दछ ।
२. डा. वावुराम भट्टराई संविधानत प्रधानमन्त्री पदबाट मुक्त भैसकेको वर्तमान अवस्थामा काम चलाउ सरकारले विभिन्न अध्यादेश जारी गराउन खोज्नु तथा प्रधानमन्त्रीले विदेश भ्रमण जान खोज्नु कुनै पनि दृष्टिकोणबाट उचित मान्न
सकिन्न । पद मुक्त प्रधानमन्त्रीले सत्ता छोडी राष्ट्रिय सहमतिको मार्ग प्रसस्त गर्नु पर्ने यथार्थलाई स्वीकार्नुको सट्टा देशलाई दूरगामी प्रभाव पार्ने निर्णय गर्न लागेको र अनावश्यक रुपमा ठूलो व्ययभार गर्दै विदेश भ्रमण (रियो द जेनेरियो) गर्न लागेकोमा नेपाली कांग्रेस घोर आपत्ति एवं विरोध प्रकट गर्दछ । यस्ता कार्य तत्काल रोक्न सरकारको ध्यानाकर्षण गर्दै यस्ता कार्यको विरोध गर्न सम्बद्ध सबै पक्षसँग नेपाली कांग्रेस आग्रह गर्दछ ।
३. एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले “नेपाली सेना माओवादीको भैसकेको, आफ्नो पार्टीसँग अझै हतियार बाँकी रहेको, आफ्नो उद्देश्य सत्ता कब्जा गर्ने नै हो” भन्ने खालका अभिव्यक्ति दिएको कुरा विभिन्न संचार माध्यमबाट सार्वजनिक भएका छन् । दुस्साहसपूर्ण, उत्तेजनात्मक, कायरतापूर्ण र दिग्भ्रमित पार्ने खालका माओवादी नेतृत्वका यी अभिव्यक्तिहरुलाई नेपाली कांग्रेस तीव्र निन्दा एवं भत्र्सना गर्दछ ।
राष्ट्रको एक जिम्मेवार र वफादार संस्था नेपाली सेनालाई समेत विवादमा पार्न एनेकपा (माओवादी) नेतृत्वले प्रकट गरेका यस्ता कपटपूर्ण र भड्काउ विचारबाट सजग रहन सम्बद्ध सबै पक्षसँग नेपाली कांग्रेस आग्रह गर्दछ ।
४. नेपाली कांग्रेस भक्तपुरका निवर्तमान सभापति एवं कांग्रेस नेता ६९ वर्षीय राधेश्याम जोन्छेको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख प्रकट गर्दछ । लोकतन्त्रको सुदृढीकरण र स्थायित्वका लागि अनवरत क्रियाशील स्वर्गीय जोन्छेलाई राजनीतिक पूर्वाग्रहका आधारमा तत्कालीन नेकपा (माओवादी) ले गोली प्रहार गरेपछि २०५९ देखि उहाँ अपाङ्ग रुपमा उपचार गराउँदै आउनु भएको थियो । स्वर्गीय जोन्छे तत्कालीन नेकपा (माओवादी) बाट पीडित रहनु भएको र गोलीको असरबाट उहाँको निधन भएको हुँदा उहाँलाई राज्यले तुरुन्त शहीद घोषणा गर्न कार्यसमितिको यो बैठक जोडदार मांग गर्दछ ।
५. राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री श्री सूर्यबहादुर थापा विगत केही समयदेखि अस्वस्थ हुनु भई काठमाडौँको नर्भिक अस्पतालमा उपचार गराइरहनु भएको छ । कार्यसमितिको यो बैठक उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

विशेष प्रस्ताव
१. प्रजातान्त्रिक आन्दोलनको धरोहर, जीवनभर राष्ट्र र प्रजातन्त्रको निमित्त सतत संघर्षरत एक साहसिक र निडर महिला नेतृ सुश्री शैलजा आचार्यको २०६६ जेठ २९ गते निधन भएको थियो । स्वर्गीय आचार्यले लामो समयसम्म अनवरत् तवरले संघर्षरत् रहेर प्रजातन्त्र स्थापना तथा पार्टीको संगठनमा पुर्‍याएको योगदानलाई नेपाली काँग्रेसले सधै उच्च सम्मानका साथ
सम्झिरहनेछ । पुण्यतिथिको आजको दिन उहाँको आत्माको चिर शान्तिको कामना गर्दै उहाँप्रति आजको यो बैठक श्रद्धाञ्जली अर्पण गर्दछ ।

कार्यसमितिको बैठक २०६९ जेठ ३० गते मंगलबार दिनको १ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।
वसन्तकुमार गौतम
मुख्य सचिव

प्रतिक्रिया