ब्राजिलविरुद्ध मेसीको हयाट्रिक

न्यु जर्सी, २९जेठ । लिओनेल मेसीले हयाट्रिक गरेपछि शनिबार राति भएको एक मैत्रीपूर्ण  खेलमा अर्जेन्टिनाले ब्राजिललाई ४–३ ले पराजित गरेको छ । लगातार तीनपटक फिफा वर्ष खेलाडी भइसकेका २४ वर्षीय मेसीले ८४औँ मिनेटमा एक्लो प्रयासमा सनसनीपूर्ण गोल गरी हयाट्रिक पूरा गरेका थिए ।
‘यस प्रकारले प्राप्त जितले हामीलाई टिम तथा समूहका रूपमा बलियो बनाउँछ,’ मेसीले पाँचपटकको विश्वकप विजेताविरुद्ध प्राप्त जितपछि भने, ‘मैत्रीपूर्ण भए पनि ब्राजिललाई हराउनु जहिले पनि विशेष हुन्छ । मेरा तीन गोलप्रति म खुसी छु । ब्राजिल र अर्जेन्टिनाबीचको खेलमा सात गोल देख्नु पनि अचम्मै रह्यो ।’ आफ्नो पूर्ण शक्तिका साथ उत्रिएको अर्जेन्टिनाविरुद्ध ब्राजिलले आसन्न लन्डन ओलम्पिकलाई लक्ष्यित गरी युवा खेलाडीलाई उतारेको थियो । रोमुलो, ओस्कार र हुल्कले अर्जेन्टिनाविरुद्ध गोल गरे । ‘सर्जियो अगुइरो र गोन्जालो हिग्विइनजस्ता ठूला  र नाम चलेका खेलाडीसहित उत्रिनु विशेष रह्यो,’ मेसीले भने, ‘यस नतिजाले मसहित टिमका सबै सदस्यलाई खुसी तुल्याएको छ ।’
मेसीले खेलको अन्तिममा ब्राजिलका युवा स्टार नेयमारसँग टिसर्ट साटेका थिए । ‘मेरा बारेमा उसले (नेयमार) जहिले राम्रो बोल्दै आएको छ ।’ मेसीले भने, ‘ऊ ठूलो खेलाडी पनि हो, त्यसैले खेलको अन्त्यमा हामीले टिसर्ट साट्यौं ।’ अर्जेन्टिनाका प्रशिक्षक अलेजान्द्रो सावेलाले आफ्नो टोलीले गरेको प्रदर्शन र प्रयोग गरेको बलबाट सन्तुष्ट भएको प्रतिक्रिया दिए । ‘सौभाग्यवश मेसी अर्जेन्टिनी भए त्यसैले उनको साथमा हामीले खेल्ने मौका पायौं ।’ सावेलाले मेसीको तारिफ गरे ।
अर्जेन्टिनाका फर्वार्ड सर्जिओ अगुइरोले मेसीले स्वाभाविक प्रदर्शन गरेको प्रतिक्रिया दिए । ‘आज मेसीले गरेको प्रदर्शनबाट म अचम्मित भएको छैन । ऊ विश्वकै सर्वोत्कृष्ट खेलाडी हो ।’ म्यानचेस्टर सिटीका लागि यस सिजनमा इंग्लिस प्रिमियर लिग उपाधि दिलाएर विश्व चर्चामा आएका अगुइरोले भने, ‘उनले तीनपटक फिफा वर्ष खेलाडी अवार्ड जितिसकेका छन् र फेरि अर्को एकपटक जित्ने दौडमा छन् । सन्न्यास नलिएसम्म उनी विश्वमा सर्वोत्कृष्ट ठहरिइरहनेछन् ।’

प्रतिक्रिया