जर्मनीको जितमा गोमेज नायक


खार्किभ, २९ जेठ । युरोकप फुटबल प्रतियोगिताको समूह ‘बी’ को खेलमा दाबेदार टोली नेदरल्यान्ड डेनमार्कसँग १–० ले स्तब्ध भएको छ । शनिबार राति नै भएको अर्को खेलमा जर्मनीले पोर्चुगललाई १–० ले नै पराजित गर्‍यो । ७२आंै मिनेटमा सामी खडेरियाको क्रसमा बायर्न म्युनिखका स्ट्राइकर मारियो गोमेजले जर्मनीका लागि निर्णायक गोल गरे । ८०आंै मिनेटमा ३४आंै जन्मदिन मनाइरहेका मिरोस्लाभ क्लोजबाट प्रतिस्थापन हुनुअघि गोमेज अर्को एकपटक पनि गोलको नजिक पुगेको थिए ।
यसपटक राम्रो लयमा रहेको पोर्चुगलले पनि केही राम्रा अवसर सृजना नगरेको होइन । नानीको एउटा प्रहार क्रसबारमा लाग्नु र सिलभेस्टर भारेलाले एक अवसर गुमाउनु पोर्चुगलको झनै दुर्भाग्य बन्यो । भेरेलाले नजिकैबाट गरेको प्रहार जर्मन गोलरक्षक म्यानुअल नेयरको हातमा नै परेको थियो ।
पोसेसनमा जर्मन अघि रहेको पहिलो हाफमा पेपेको एउटा प्रहार क्रसबारको भित्र लागेर गोललाइनमा नै ठोक्किएर फर्कनु पोर्चुगलको दुर्भाग्य थियो । जर्मन प्रशिक्षक जोचिम लाउले क्लोजलाई बेन्चमा राखेर गोमेजलाई खेलाएको खेलमा पेर मस्टाक्याकरको साटो म्याट हयुमेल्सलाई अवसर दिएका थिए । लाउको निर्णय सही सावित गर्ने क्रममा हयामुयल्सले राम्रो खेल खेले भने बोएटाङले रोनाल्डोलाई रोक्न सफल भए ।
प्रतियोगितामा पहिलो आश्चर्यजनक नतिजा दिलाउने क्रममा डेनमार्कका लागि २४औं मिनेटमा क्रोहन डेलिलले गोल गरे । उनको लेफ्टफुटेड प्रहारले मार्टेन स्टेकन बर्गको दुई गोडाको बीचैबाट पोस्टको दिशा लिएको थियो । ३६औं मिनेटमा सन् २०१० को विश्वकपमा पनि जित हात पारेको डेनमार्कसँग बराबरी गोलको नजिक पुगेको नेदरल्यान्ड चुकेको थियो । आर्जेन रुबेनको प्रहार क्रसबारमा लागेर फर्केको थियो । नेदरल्यान्डबाट खार्किभमा आएका १० हजारभन्दा बढी घरेलु समर्थक अघि खेलेका नेदरल्यान्डका हरेक आक्रमणलाई डेनिस रक्षकहरूले कुशलतापूर्वक सामना गरेका थिए । यसैबीच समर्थकले असभ्य व्यवहार गरेका कारण युइएफएले रुसी टोलीमाथि कारबाही गर्ने सम्भावना बढेको छ ।
पारजकया बाबजुद १८ वर्षकै उमेरमा मैदानमा उत्रेर जेटो विलियम्सले कम उमेरमा युरोकप खेल्ने खेलाडीको रूपमा कीर्तिमान कायम गरेका छन् । साथै नेदरल्यान्डलाई दोस्रो चरण प्रवेशका लागि समूहका दुवै खेल जित्नैपर्ने दबाब परेको छ । नेदरल्यान्डले समूहको दोस्रो खेल जर्मनीसँग खेल्नेछ । ‘म यहाँ दु:खी भएर बसेको छु किनकि हामीमाथि दुवै खेल जित्नैपर्ने स्थितिको सृजना भएको छ,’ डच मिडफिल्डर मार्क भान बोमेलले भने ।
उता डेनिस प्रशिक्षक मार्टिन ओलसेनले नेदरल्यान्डमाथिको जित साँच्चै महत्त्वपूर्ण भएको बताएका छन् । ‘हामी साँच्चै सफल भयांै । हामीले प्रतियोगिताकै बलियो टोलीलाई पराजित गरेका छांै । यसक्रममा टोलीका सबै खेलाडीले उतकृष्ट प्रदर्शन गरे,’ ओलसेनले भने । यसअघि नेदरल्यान्डले डेनमार्कसँग खेलेका २५ मध्येका २३ खेलमा जित हात पारेको थियो । पोर्चुगलको विगत हेर्दा पराजित भए पनि निराश भइहाल्नुपर्ने अवस्था भने छैन । यसअघि २००४ मा घरेलु भूमिमा आयोजित प्रतियोगितमा पनि पोर्चुगल पहिलो खेलमा पराजित भए पनि फाइनलसम्म पुगेको थियो ।

रोनाल्डोको बचाउमा फिगो
पोल्यान्ड : पोर्चुगलका लागि सबैभन्दा धेरैपटक अन्तर्राष्ट्रिय फुटबल खेलेका लुइस फिगोले शनिबार युरोकपमा पोर्चुगलले जर्मनीविरुद्ध व्यहोरेको हारमा कप्तान क्रिस्टियानो रोनाल्डोको बचाउ गरेका छन् । उनले पोर्चुगलले सफलता हात पार्न रोनाल्डोलाई अवसर दिनुपर्ने बताए ।
‘मलाई लाग्छ, पोर्चुगल टिमले राम्रो प्रदर्शन गर्न रोनाल्डोलाई अवसर दिनुपर्छ ।’ पूर्वराष्ट्रिय कप्तान फिगोले भने, ‘रोनाल्डोको शैली भनेको ‘फिनिस’ गर्ने हो, गोल गर्ने हो तर यदि यसका लागि टिमले उनलाई अवसर दिँदैन भने उनको प्रदर्शन प्रभावकारी हुन सक्दैन ।’ पूर्वफिफा वर्ष खेलाडीसमेत रहेका ३९ वर्षीय फिगोको सानदार प्रदर्शनमा पोर्चुगलले सन् २००४ को युरोकप संस्करणमा फाइनल यात्रा तय गरेको थियो ।
पोर्चुगलका लागि १ सय २७ पटक खेलेका फिगोले पोर्चुगलले अघिल्लो चरणको यात्रा तय गर्न नेदरल्यान्ड्स र जर्मनी दुवैविरुद्ध जित हात पार्नुपर्ने बताए । ‘हामीले सुधार गर्नुपर्छ । पोर्चुगल पाएका अवसरमा प्रभावकारी देखिएन । हामीले अब एउटा पनि गल्ती नगर्न प्रयास गर्नुपर्छ ।’ जर्मनीविरुद्ध विङ्गरका रूपमा प्रयोग गरिएका पूर्वफिफा वर्ष खेलाडी रोनाल्डो निष्प्रभावी देखिएका थिए । सेन्ट्रल फरवार्ड सम्हाल्ने जिम्मा पोस्टिगालाई दिइएको थियो । ७२औं मिनेटमा जर्मनीका मारियो गोमेजले खेलकै एक मात्र गोल गरेपछि पोर्चुगल पहिलो खेलमा निराश हुन पुगेको हो । (एजेन्सी)

डेनिस प्रशिक्षकलाई तनाब
लिस्वन : जारी युरोकपमा नेदरल्यान्ड्सलाई १–० ले हराएर आफ्नो पहिलो खेल जितेको डेनमार्कका प्रशिक्षक मर्टेन ओल्सेन यतिबेला विवादमा छन् । सामाजिक सञ्जाल फेसबुक र ट्विटर प्रयोग गर्नबाट मर्टेनले टिमका सदस्यलाई लगाएको प्रतिबन्धले डेनमार्कमा राजनीतिक रूप लिएको छ ।
एक पुराना स्कुलका प्रशिक्षक रहेका ओल्सेनलाई लाग्छ, यस्ता सामाजिक सञ्जालले खेलाडीको प्रदर्शनमा सिर्जनात्मक सहयोग गर्दैन । निकोलास बेन्डन्टरसहित डेनमार्कका केही खेलाडी ट्विटरमा नियमित भेटिन्छन् तर ओल्सेन आफ्नो पछिल्लो निर्णयविरुद्ध पछि नहट्ने बताउँछन् ।
उनको यस निर्णयले डेनमार्क सरकारको पनि ध्यान तानिएको छ । ओल्सेनलाई बर्खास्त गर्नेसम्मका हल्ला चलेका छन् । डेनमार्कका संस्कृतिमन्त्री उफे एल्बाएकले ओल्सेनको नीतिविरुद्ध आक्रमण गर्दै यसले खेलाडीको नागरिक अधिकार हनन भएको उल्लेख गरेका छन् । राजनीतिक वृत्त र डेनिस सञ्चारमाध्यममा ओल्सेनको यस नीतिबारे प्रशस्त टीकाटिप्पणी भएको छ । मानवअधिकारसम्बन्धी युरोपियन महासन्धिअनुसार आधारभूत अधिकार हनन गर्नेलाई कडा कारबाही गरिने व्यवस्था छ । प्रतियोगितामा सहभागी हुन पोल्यान्ड–युक्रेन आएयता खेल चलिरहँदासम्म यसैकारण ओल्सेन तनावमा रहने गरेको जनाइएको छ । (एजेन्सी)

महिलाले पुरुषसँगै बसेर फुटबल हेर्न नपाउने
तेहरान : इरानले युरोकप फुटबलको सार्वजनिक स्थानमा देखाइने प्रत्यक्ष प्रसारण हेर्नबाट महिलालाई प्रतिबन्ध लगाएको छ । पुरुषहरू बढी उत्तेजित हुने भएकाले ‘इनएप्रोप्रिएट’ वातावरण रहने भन्दै महिलालाई प्रतिबन्ध गरिएको यहाँको प्रहरी प्रशासनले जनाएको छ । ‘जब महिला र पुरुषसँगै बसेर फुटबल हेर्छन्, त्यहाँ सोहाद्र्रपूर्ण र सान्र्दभिक वातावरण हुन्न ।’ सामाजिक सरोकारका क्षेत्रमा इरानका कार्यवाहक पुलिस कमान्डर बहमान कार्गरले भने, ‘पुरुष जब फुटबल हेर्छन् उनीहरू उत्तेजित हुन्छन् र अपशब्द बोल्छन् ।’ पुरुषसँगै बसेर हेर्दा महिलाको आत्मसम्मानमा चोट पुग्ने भन्दै प्रतिबन्ध लगाउने प्रहरीको निर्णय उनीहरूले स्वागत गर्नुपर्ने बहमानले बताए ।
युक्रेन र पोल्यान्डले आयोजना गरिरहेको युरोकप इरानमा राज्यद्वारा सञ्चालित टेलिभिजनले प्रसारण गर्दै आएको छ । सन् २०१० को विश्वकप र २०११ को एएफसी एसियन च्याम्पियनसिपमा जसरी फिल्म हल तथा नाटयघरमा पनि प्रेमप्रेमिका तथा परिवारलाई लक्षित गरी युरोकप देखाइने गरिएको छ इरानमा । इरानमा महिलालाई सार्वजनिक बसमा पछाडि बस्न, महिलाले मात्र प्रयोग गर्ने स्विमिङ पुल र बिच प्रयोग गर्न पाउने प्रावधान छ । (एजेन्सी)

प्रतिक्रिया