पूर्वप्रम थापाको स्वास्थ्यमा सुधार

काठमाडौं, २८ जेठ । अचानक मुटुको गति बन्द भएर शनिबार अस्पतालमा भर्ना भएका पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको मुटुमा स्थायी पेसमेकरको सफल प्रत्यारोपण भएको छ ।
पूर्व प्रधानमन्त्री थापको उपचार गर्न भारतबाट आएका डा. कास्किवाल सहितको चिकित्सकको टोलीले आज बिहान स्थायी पेसमेकर प्रत्यारोपण गरेको हो ।
मुटुको चाल सञ्चालनमा सहयोग पुराउने स्थायी पेसमेकरको सफल प्रत्यारोपण पछि पूर्व प्रधानमन्त्री थापको स्वास्थ्यमा क्रमश सुधार आएको उपचारमा संलग्न चिकित्सक डा. भारत रावतले बताए । उनका अनुसार स्थायी पेसमेकरको शल्यक्रिया भारतवाट आएका चिकित्सक डा.मुकेन्द्र चौहानको सहयोगमा भएको रावतले बताए ।
विशेषज्ञ डा. चौहानका अनुसार आज जडान गरिएको पेसमेकरले ८ देखि १० वर्षसम्म काम गर्ने छ ।
शनिवार बिहान ९ बजेर ४५ मिनेट जाँदा अचानक हार्ट एरेस्ट भएर उपचारका लागि नर्भिक अस्पतालमा भर्ना भएका थापालाई कृतिम स्वासप्रश्वास दिएर मेकानिकल भेन्टिलेटरमा राखिएको छ ।
अचेत अवस्थामा रहेका थापाको शल्यक्रिया पछि सुधार हुँदै गएपनि अझै पूर्ण रुपमा होस खुल्न सकेको छैन । ‘अझै पूर्ण रुपमा होस खुलेको छैन,’ डा. रावतले भने, ‘अहिले उहाँले सामान्य प्रतिक्रिया देखाइरहनु भएको छ’
‘क्रमश सुधार हुँदै गएकाले आशा बलियो भएर गएको छ,’ डा.रावतले भने ।
चिकित्सकहरुले थापको स्वास्थ्यमा आएको सुधारलाई मेडिकल मिराकल भनेका छन् । थापाको यही क्रममा सुधार जारी रहेमा २४ देखि ४८ घण्टाभित्र भेन्टिलेटरबाट निकाल्न सकिने चिकित्सकहरुले बताएका छन् ।
अचानक बेहोस भएर ढलेका थापालाई शनिवार बिहान १० बजे अस्पताल पुराउदा नाडीको गति, रक्तचाप, श्वास प्रस्वास नभएको अवस्था थियो ।
अहिले थापाको रक्तचाप १००/८० र मुटुको चाल तथा फोक्सोले पनि राम्रोसँग काम गरीरहेको छ ।
८६ वर्षीया थापा मुटुको पुरानो रोगी हुन् । उनको २२ वर्ष अघि अमेरिकामा ओपन हार्ट शल्यक्रिया भएको थियो । उनको केही समय पहिला नर्भिकमै कोरोनरी एन्जियोग्रामसमेत गरिएको थियो ।

प्रतिक्रिया