गुण एयरलाइन्सको उडान सोमबारदेखि


काठमाडौं, २८  जेठ । विगत तीन महिनादेखि बन्द रहेको गुण एयरलायन्सको उडान पुन: सुचारु हुने भएको छ । कम्पनीले सोमबारदेखि नियमित उडान गर्न लागेको हो ।
जहाज ओभरहल गर्नुपर्ने भन्दै कम्पनीले गत फागुनमा उडान बन्द गरेको थियो । गुण एयरलायन्सका कार्यकारी निर्देशक घनश्याम आचार्यले शनिबार र आइतबारको लगातार परीक्षण उडानपछि सोमबारदेखि नियमित उडान सुचारु हुने जानकारी दिए । जहाजको इन्जिन तथा स्पेयर पाट्र्स आउन समय लागेकाले समयमै सेवा सुचारु गर्न नसकेको उनले बताए । तीनवटा बिचक्राफ्ट जहाज सञ्चालन गर्दै आएको एयरलायन्सका जहाजहरू ओभरहल (मर्मत–सम्भार) गर्नुपर्ने भएपछि सेवा बन्द हुन पुगेको थियो ।
इन्जिन तथा विमानका स्पेयर पार्ट्स विदेशबाट आइपुग्न समय लाग्नुका साथै जहाजको बिमा प्रक्रिया लम्बिएपछि ढिलाइ हुन पुगेको कम्पनीले जनाएको छ । आकस्मिक हवाई सेवा बन्द हुँदा सेवाग्राहीमा पर्न गएको असरप्रति गम्भीर बन्दै सेवा बन्द गर्नुपर्ने बाध्यता परेको एयरलायन्सले बताएको थियो ।
सन् २००९ मा स्थापना भएको गुण एयरलायन्सले दुईवटा बिचक्राफ्ट १९०० ‘सी’मार्फत देशभरका सातवटा सुगम गन्तव्यमा हवाई सेवा दिंदै आएको छ । एयरलायन्ससँग १९०० ‘डी’ मोडलको अर्को बिचक्राफ्ट जहाज भए पनि हाल सञ्चालनमा छैन ।
गुण एयरलायन्स यात्रु संख्याका आधारमा मुलुकको चौथो ठूलो वायुसेवा कम्पनी हो । यसले सन् ०११ मा पाँच हजार पाँच सय ७६ उडान गरी ७७ हजार आठ सय ८९ यात्रु बोकेको नागरिक उड्डन प्राधिकरणको तथ्यांक छ । दुई वर्ष अघिदेखि सेवा सञ्चालन गरेको गुण एयरलायन्स ‘गुण गु्रप’अन्तर्गत सञ्चालित छ ।

कार्यकारी निर्देशकमा आचार्य
गुण एयरलायन्सको कार्यकारी निर्देशकमा घनश्याम आचार्य बढुवा भएका छन् । दुई वर्ष अघिदेखि गुण एयरलाइन्समा कार्यरत आचार्य यसअघि प्रमुख रणनीतिक अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
काठमाडांै विश्व विद्यालयबाट एमबिए गरेका आचार्य ‘अपरेसन म्यानेजमेन्ट’मा दख्खल राख्छन् । गुण एयरलायन्सपूर्व उनले ह्याम्स हस्पिटलमा सिइओको जिम्मेवारी सम्हालेका थिए । १९ वर्ष नागरिक उड्डयन क्षेत्रमा खर्चेका आचार्यले पाँच वर्ष बुद्ध एयरमा वरिष्ठ कार्यकारी प्रबन्धको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।

प्रतिक्रिया