मञ्जु –अरुणा जोडी क्वार्टरफाइनलमा


काठमाडौं, २८  जेठ । पश्चिमाञ्चलका मञ्जु गुरुङ र अरुणा शाहीको जोडी पेन्टागन दोस्रो महिला राष्ट्रिय बिच भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरमा नवनिर्मित बिच भलिबलकोर्टमा उक्त टोलीले मध्यपश्चिमाञ्चलका गीता डाँगी र अनुपमा मल्ललाई २१–१२ र २१–३ तथा नेपाल प्रहरीका पार्वती अर्याल र इन्दिरा कठायतको जोडीलाई २१–१४ र २१–३ को सोझो सेटमा पराजित गरी समूह ‘घ’ को विजेता बन्यो ।
नेपाल भलिबल संघद्वारा आयोजित प्रतियोगितमा प्रहरीका सुशीला थापा र कोपिला उप्रेतीको जोडी तथा एपिएफका विनिता बुढाथोकी र नेबिका चौधरीले दोहोरो जित हात पारे । सुशीला र कापिलको जोडीले मध्यपश्चिमाञ्चलका विनिता थापा र सरस्वती नेपालीलाई २१–१० र २१–१४ ले हरायो भने अर्कोमा पूर्वाञ्चलका मित्रा राई र पूर्णा राईलाई २१–८ र २१–३ ले पराजित गर्‍यो ।
एपिएफको टिमले मध्यमाञ्चलका रमिला तण्डुकार र कमला पुनलाई २१–११, १५–२१ र १५–११ तथा सुदूरपश्चिमाञ्चलका जयालक्ष्मी र भवानी चौधरीलाई २१–११ र २१–५ ले पन्छायो । निमा श्रेष्ठ र ज्योति चौधरीको अर्को एपिएफ टोलीले मनिषा तामाङ र कृपा अधिकारीको मध्यमाञ्चलको टोलीमाथि २१–११ र २१–१२ को सोझो सेटको जित हात पार्‍यो ।
अन्य खेलमा लिलिमा आङदम्बे र पूजा धिमालको पूर्वाञ्चल टोलीले जयालक्ष्मी र भवानी चौधरीको सुदूरपश्चिमाञ्चल टोलीलाई २२–२४, २४–२२ र १६–१४
ले हरायो ।
त्यस्तै मध्यपश्चिमाञ्चलका विनिता थापा र सरस्वती नेपालीले पश्चिमाञ्चलका खुसी खड्का र मालती आलेलाई २१–१३ र २१–१९ ले पराजित गर्‍यो । तीनदिने प्रतियोगितामा पाँच विकास क्षेत्र, नेपाल प्रहरी र एपिएफका समान २–२ गरी १४ टिम सहभागी छन् ।

प्रतिक्रिया