“साइकल चलाउँदा सिस्नाको झाङमा लडेँ”

भाइबहिनी हो, मेरो जन्म वि.सं. १९९५ साउन १ गते काठमाडौंको कुपन्डोलमा भएको हो । आठ दाजुभाइ तथा ६ जना दिदीबहिनीमध्ये म खन्तरे (सातौँ) सन्तान हुँ । बुबा सेनामा कप्तान हुनुहुन्थ्यो, उहाँले पाँचवटा बिहे गर्नुभएको थियो ।
त्यस बेलाको कुपन्डोलमा अहिलेजस्तो भिडभाड र मोटरको ओहोरदोहोर हुँदैनथ्यो । हनुमानथानको बाटो हुँदै घर जानुपथ्र्यो । डेढ हातको बाटो, वरिपरि नरकट घारी थियो । बेलुकाको के कुरा, दिउँसै स्याल हुइयाँ–हुइयाँ गरेर कराउँथ्यो । चारैतिर फाट्टफुट्ट घर, बागमतीको किनार हराभरा रूखैरूखले भरिएको थियो । बागमतीको पानी स्वच्छ, सफा र निर्मल थियो । हामी पौडी खेल्न जाँदा अञ्जुली भरिभरि पिउने गथ्र्यौं ।
सिराहाको गौरपुर, लक्ष्मीपुर भन्ने ठाउँमा मैले गुरुजीद्वारा पाटीमा सेतो माटी (खरी) र बाँसको कलमले कखरा चिन्ने र लेख्ने मौका पाएँ । पाटीमा कालो ध्वाँसो दलेर सिसाको गिलासको पिँधले दलेपछि टिलिक्क टल्कन्थ्यो । म २००४ सालमा पाटन हाइस्कुलमा तीन कक्षामा भर्ना भएँ ।
टाउकामा चपचिल्लै तोरीको तेल दलेर अनि किताबकापी गुलेलीको रबडले बेरेर स्कुल जान्थेँ । कहाँको चप्पल, कहाँको जुत्ता † प्राय: खाली खुट्टै दौडन्थेँ । दाजुहरूले आफ्नो किताब मलाई बोकाउँथे । दाजु बाठा कि म लाटा, त्यो बेला थाहा नै भएन । बाटामा भेटिने टोले मानिसहरू भन्थे, ‘यो राम सारै पढन्ते रहेछ, कति धेरै किताब † दाजुहरू लम्फु रहेछन्, किताबै लाँदैनन् ।’ म फुरुंग भएर बडो सानले खच्चरझैँ किताब ओसार–पसार गर्थें ।
स्कुल जाँदा सँधै पाँच पैसा लाने चलन थियो । टिफिनमा आँखा चिम्ली बित्तातोड कुदेर होटलमा गयो, साहुले दुई पैसाको चिउरा, अनि दुई पैसाको आलुको तरकारी बोहोतामा दिन्थ्यो, पेट टन्न † बाँकी एक पैसाको सङ्कत्रो (नुन हालेर घाममा सुकाएको अमिलो) खायो, अनि भित्र गएर एक हातले धारो समाती अर्को हातले पानी कल–कल–कल गरेर खायो, खेल खत्तम पैसा हजम † पेट टन्न र डम्म, क्या मज्जा हगि †
भाइबहिनी हो, स्कुलमा आएर सेनाका जमदारले कवाज खेलाउँथे म पढाइमा मध्यम खालको थिएँ । एकपटक जर्नेल मदन शमशेरले डकोटा भन्ने विमान ल्याएका थिए । त्यो हेर्न स्कुल छाडेर म पनि एयरपोर्ट पुगेको थिएँ । साहै्र रमाइलो भएको थियो ।
बालवयमा म शान्त खालको बच्चा थिएँ । ठूला मानिसहरू भूतको कथा भन्थे, भूत मेरो कलिलो मनमा सुस्त पाराले पसेर तर्साउने गथ्र्यो ।
मीनपचासको बिदामा सिराहा, कामतमा जाँदा थानकोटबाट भीमफेदी र भीमफेदीबाट थानकोट भरिया दाइले डोकोमा बसाएर ओसार–पसार गर्थे । घरभरि टन्न बच्चाहरू भएकाले पुलपुलिने मौका नै पाइएन । ठूलो भएर केही बन्ने सपना थिएन, तर पढ्नुपर्छ भन्ने सोचचाहिँ थियो ।
म रेडियो नेपालको बालकार्यक्रममा भाग लिन पनि पुग्थेँ । एक दुईपटक सिकाएपछि बच्चाहरूले आफैँ रेडियो स्क्रिप्ट लेख्नुपथ्र्यो । मलाई लेख्न सिकाउने गुरु नै रेडियो नेपाल हो । सात–आठ कक्षामा पुगेपछि म झगडिया र हुलिया किसिमको बच्चा हुन पुगेँ ।
एकपटक पानी परेको थियो । स्कुलको हलमा बर्सादी झुन्ड्याएर आफ्नो बेन्चमा बस्न जाँदा सधैँ पछाडि बस्ने साथीहरू अगाडि आएर बसेका रहेछन् । मैले प्रेमपूर्वक अनुरोध गरेँ तर उनीहरूले मेरो किताब फालिदिए । रिसले आँखा नदेखेर मैले उनीहरूलाई भकुरिदिएँ । उनीहरूले ग्रामर पढाउने सरलाई पोल लाउन पुगें । सर कक्षामा आएर सोझै मलाई ग्रामर सोध्न थाल्नुभयो । मैले पनि फटाफट उत्तर दिँदै गएँ । त्यति हुँदा पनि एक्कासि सरले मलाई गाली गर्दै पिट्नुभयो । ती सर साइकल चढेर ल कलेजमा पढ्न जाने गर्नुहुन्थ्यो । कुपन्डोलको अहिले ठूलो पुल भएको ठाउँमा त्यतिखेर सानो पुल थियो । हुन त मैले त्यो गर्नु हुन्नथ्यो भाइबहिनी हो, तर त्यो बेलामा बुद्धि कहाँ थियो र ? सर साइकल चढेर आउनुभयो र मलाई देखेर भन्न थाल्नुभयो, ‘ए रामविक्रम, अस्तिको चड्कनले पुगेन कि क्या हो ?’ यो सुनेर मेरा कन्सिरी ताते । मैले, ‘क्या हो न स्या हो’ भन्दै सरलाई साइकल सुद्ध घचेटेर पुलमुनि पानीमा पुर्‍याइदिएँ र घरतर्फ टाप ठोकेँ । भोलिपल्ट स्कुल पुग्दा मलाई रेस्टिकेट गर्ने कुरा चल्यो, तर हेडसरले सबै कुरा चाल पाएपछि त्यो कुरा त्यहीँ भासभुस भयो ।
नेपाली, इतिहास र अंग्रेजी मलाई मन पर्ने विषय थिए । गणितमा त सातो गएर अलमलिन पुग्थेँ । ६ कक्षासम्म सिसाकलमले अनि निब हालेको होल्डरले लेखेँ । आठ कक्षामा बल्ल पेनले लेख्न सुरु गरेँ । हामी फुटबल र पिङपङ पनि खेल्ने गथ्र्यौं ।
भाइबहिनी हो, एकपटक हाफ कैंची साइकल चलाउन सिक्दा सिस्नुको झ्याङमा लडेँ । ममाथि साइकल लड्यो । बल्लतल्ल उठेँ, तर सिस्नुले जिउ पोलेर बिजोग भयो । घरमा गएर भनूँ कि नभनूँ भयो । खप्न नसकेपछि बल्ल मुमालाई भनेँ, उहाँले गोबर दलिदिनुभयो । एकातिर सिस्नुको चस्को अर्कोतिर गोबरको हस्को, रात नसुती छर्लंगै काटियो ।
मैले २०१२ सालमा १७ वर्षको उमेरमा पाटन हाइस्कुलबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेँ ।
प्रस्तुति : अनुक्रमराज

प्रतिक्रिया