सानिया–भूपतिलाई मिश्रित युगल

भारतीय जोडी सानिया मिर्जा र महेश भूपतिले चालु प्रेmन्च ओपनको मिश्रित युगल (मिक्स्ड डबल्स) को उपाधि जितेका छन् । फाइनलमा यो जोडीले पोल्यान्डका क्लाउडिया जेन्स–इग्न्यासिक र मेक्सिकोका स्यान्टियागो गोन्जालेजको जोडीलाई ७–६ (७–३) र ६–१ ले दुई सोझो सेटमा पराजित गरेको हो ।
दोस्रो ग्रान्डस्ल्याम उपाधि आफ्नो नाममा लेखाउन भारतीय जोडीलाई केवल १ घन्टा १३ मिनेट समय लागेको थियो । यो जोडीलाई विश्व वरीयतामा सातौं स्थान प्राप्त छ । यसअघि यो जोडीले सन् २००९ मा अस्ट्रेलियन ओपनमा पनि यसैगरी डबल्सतर्फको उपाधि जितेको थियो । सानिया मिर्जाको सम्बन्धमा यो उनको दोस्रो ग्रान्डस्ल्याम उपाधि हो भने महेश भूपतिका लागि भने बाह्रौं उपाधि हो । भूपतिले यो जितसँगै अहिलेसम्म आठवटा मिश्रित उपाधि जितिसकेका छन् ।
शुक्रबार रातिको खेलमा सानिया–भूपतिको सुरुआत पहिलो सेटमा राम्रो हुन सकेको थिएन तर जसैजसै खेल अगाडि बढ्दै गयो, उनीहरूले आफ्नो स्थिति क्रमश: बलियो बनाउँदै लगे र सेटलाई टाइब्रेकरको अवस्थासम्म पुर्‍याए । अन्तत: सेट नै ७–३ ले जिते पनि । दोस्रो सेटमा सानिया–भूपतिले इग्न्यासिक–गोन्जालजनको जोडीलाई पूर्णरूपले दबाबमा राखिरहे र सजिलै त्यो सेट ६–१ ले जिते । यो जितसँगै सानिया–भूपतिको जोडीले भारतको प्रतिनिधित्व गर्दै लन्डन ओलम्पिकमा खेल्ने सम्भावना बढेर गएको छ ।

प्रतिक्रिया