प्रहरीको कुटाइले चालकको हात भाँच्चियो

राजविराज, २८ जेठ । ड्युटी सकेर घर जाने क्रममा चार प्रहरी मिलेर कुटपिट गर्दा ट्रयाक्टर चालकको हात भाँच्चिएको छ । ज्यादती गर्ने प्रहरीलाई कारबाहीको माग गर्दा सगरमाथा अञ्चल अस्पतल राजविराजमा बल प्रयोग गरेर प्रहरीले थप आतंक मच्चाएपछि स्थानीय आक्रोशित भएका छन् ।

काम सकेर घर जाने क्रममा शुक्रबार राति स १ च २६१ नम्बरको ट्रयाक्टरका चालक सप्तरी बोरिया–४ का ३० वर्षीय वेचन सदा चार प्रहरी जवानबाट कुटिएका हुन् । कुटपिटबाट उनको हात भाँच्चिएको छ ।
प्रहरीको कुटाइबाट सदाको टाउको र छातीमा पनि चोट पुगेको छ । उनलाई राजविराजस्थित अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारार्थ धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । प्रहरीले बन्दुकको कुन्दाले हिर्काउँदा हात भाँच्चिएको स्थानीयले बताएका छन् ।
घटनामा संलग्न चार प्रहरीले मादकपदार्थ सेवन गरी सदालाई विनाकारण कुटपिट गरेको स्थानीयले बताएका छन् । उनीहरूलाई मेडिकल चेक गरेर कारबाहीको प्रतिबद्धता नआएसम्म उपचारका लागि धरान नलैजाने भन्दै स्थानीयले विरोध गर्दा सगरमाथा अञ्चल अस्पतालमै प्रहरीले बल प्रयोग गरेको थियो । एसपी गणेश थापाले बल प्रयोग गरेर स्थानीयलाई तितरबितर पार्दै गम्भीर घाइते सदालाई राति ११ बजे थप उपचारार्थ धरान पठाएको थियो ।
एसपी थापाले प्रहरी चार जवानलाई कारबाही गर्न ट्रयाक्टर पनि प्रहरी नियन्त्रणमा लिनु पर्ने बताएपछि स्थानीयले विरोध गरेका थिए । एसपी थापाले मदिरा सेवन गरेर चालक कुटपिट गर्ने जवानको नाम पनि सार्वजनिक गरेका छैनन् । सौर्यसँगको प्रतिक्रियामा एसपी थापाले ट्रयाक्टरको कागजपत्र चेक गर्ने क्रममा प्रहरीसँग विवाद भएपछि चालकले कुटाइ खाएको बताए । उनले ड्युटीमै मदिरा पिएर सर्वसाधारण पिट्ने प्रहरीको मेकिडल रिपोर्ट आएपछि मात्र कारबाही अघि बढ्ने जनाए । प्रहरीले गरेको ज्यादतीमा प्रमुखकै संरक्षण भएपछि स्थानीय भने थप आक्रोशित छन् ।

प्रतिक्रिया