खोजखबर

कविताको त्यो आगो

सौर्य अनलाइन २०६९ जेठ २७ गते ३:२० मा प्रकाशित

हामी कविताको त्यो आगोमी गफिँदै–जिस्किँदै ढोँडेको जंगलमा पुगेका मात्रै के थियौँ, खोलापारि तीनजना प्रहरी देखिए । सिकारको खोजीमा बस्तीतिर पसेका भोका स्यालझैँ लखरलखर हामीतिरै आउँदै गरेका । तिनलाई देखेर म बोलेँ– ‘ऊ प्रहरी † यतै पो आउँदै छन् त, कतै मलाई नै समात्न आएका त होइनन् ?’ मेरो शंकाले साथीहरूलाई पनि झस्काएछ । डिल्लीले भने– ‘तँ कतै लुक् । हामी अगाडि जान्छौँ । कता हिँडेका रहेछन् थाहा लागिहाल्छ ।’
साथीहरू अगाडि लम्किए । मचाहिँ के गरौँ, कसो गरौँको दोधारमा परेँ । मास्तिर झाडीमा गएर लुकौँ कि जस्तो पनि लाग्यो तर आइपरेको परिस्थितिको सामना गर्ने विचार आयो । र, अगाडि बढेँ ।
प्रहरीहरू हामीछेउ आइपुगे । एकजना हामीले चिनेकै प्रहरी रहेछ– रुद्रबहादुर ढकाल । उसले मलाई सोधिहाल्यो– ‘भाइ † तपाईंको नाम के पो ?’
‘ल ठीकै भएछ, हामी तिमीलाई नै लिन आएका हौँ । सिडिओ सा’बले तिमीलाई भेट्न बोलाउनु भा’को छ । ल हिँड हामीसँग जिल्लातिर,’ उसले भन्यो ।
यकिन भयो म पक्राउ परेँ । अब के गर्ने होला ? एसएलसीको परीक्षा नजिकिइरहेको छ । ट्युसन पढ्न हिँडेको मान्छे । सब बर्बाद भयो । मनमनै सोचेँ र सोधेँेँ— ‘म ट्युसन पढ्न हिँडेको मान्छेलाई किन पक्रेको ? मैले के बिराएँ ? मलाई पक्रनुको कारण के हो ? खोइ पुर्जी ?’
‘ए † तँलाई पुर्जी चाहियो ? गफ त निकै जानेको रै’छस् । सरासर हिँड न हामीसँग, पुर्जी त पाइहाल्छस्
नि †’ ओठमा घना जुँगा पालेको एउटा मोटे प्रहरीले भन्यो । ऊ  हवल्दार प्रेमबहादुर दङ्गाल रहेछ । रुद्रेचाहिँ हामै्र गाउँको मान्छे थियो । छुद्र र लिच्चड किसिमको छवि भएको उसलाई गाउँमा कसैले पनि मन पराउँदैनथे । केही दिनअघिदेखि गाउँमा बढिरहेको उसको चुरीफुरी यही कारण रहेछ भन्ने मैले बल्ल चाल पाएँ । सेन्टअप टेस्ट दिएका विद्यार्थीहरूको बिदाइ समारोहमा मलाई उसले देखेको थियो । त्यसबेला मैले गरेको क्रान्तिकारी भाषण र वाचन गरेको कविता उसले अझै सम्झिरहेको रहेछ । ऊ हवल्दारलाई मेराबारे उकेरा लाइरहेको थियो– ‘हवल्दार सा’ब † यो त नेता पनि पो हो त ।’
अर्को प्रहरी मौन थियो । तामाङ भन्दै बोलाउँथ्यो हवल्दारले उसलाई । उसले चाहिँ मलाई बाटैभरि भनिरहेको थियो– ‘यति सानो मान्छे पनि कहीँ कम्निस्ट हुन्छ र † भाइ त भागे पनि हुन्छ ।’ म साँच्चै नै लुरे ज्यानको थिएँ ।
केही दिनअघि शालिकराम ढकालले मलाई एक दिन खुसुक्क भनेका थिए– ‘शशी भाइ † तपाईंको नाममा सिडिओ कार्यालयबाट वारेन्ट आएको रहेछ, रुद्रे प्रहरीले सोधखोज गर्दै थियो । होसियार भएर हिँड्नु होला है † प्रहरीले कुनै पनि बेला तपाईंलाई पक्रन सक्छ ।’
मैले उनको कुरालाई खासै वास्ता गरिनँ । पक्रे पक्रन्छ भन्ने लाग्यो । अन्तत: म गिरफ्तारीमा परेँ । तथापि मलाई आफू गिरफ्तारीमा परेकोमा दु:ख नलागेर एकप्रकारले गर्वानुभूति भइरहेको थियो ।
मलाई प्रहरीहरूले आफूसँगै लिएर हिँडे हाम्रै गाउँतिर । मेरा साथीहरूचाहिँ स्कुलतिरै लागेजस्तो गरे । यदि म पक्राउ परिहालँे भने अरू क–कसलाई पक्राउ गर्न आएका रहेछन् ? बुझेर र तिनलाई सूचना दिएर भगाउने भन्ने हाम्रो सल्लाह भइसकेको थियो ।
‘तँ त खुब क्रान्तिकारी कवि पो रै’छस् । राजाविरोधी कविता लेख्ने मु…† भन् तेरो त्यो कविता कसले लेखिदिएको हो ?’
ए † यिनेरले मलाई त्यो कविताको कारणले पो पक्राउ गरेका रहेछन् भन्ने मैले बल्ल बुझेँ । तर, केही नबुझेझैँ उल्टै जुँगे हवल्दारतिर प्रश्न फर्काएँ– ‘कस्तो कविता ? मलाई केही थाहा छैन ।’
‘बढो बाठो बन्दो रै’छस् । हेर्दा त फुच्चे देखिन्छस् । मान्छे त कडै पो रै’छस् । नढाँटी भन्, अस्ति नै देवकोटा जयन्तीमा तैँले सुनाएको त्यो कविता कसले लेखिदिएको हो ?’
‘ए त्यो कविता ? म आफैँले लेखेको हुँ । कविता पनि कसैले लेखिदिएर हुन्छ ?’ मैले जवाफ फर्काएँ ।
‘तँ निकै बाठो रै’छस् । अब थाहा पाउँछस् ।’ हवल्दार कड्कियो र जुँगामा ताउ लगाउँदै मलाई शिरदेखि पाउसम्म नियाल्यो । म चुपचाप तिनीहरूको बीचमा हिँडे । बाटोभरि तिनले मलाई अत्याए– ‘राजाको गाथगद्दी ताक्ने मुला † अब जिन्दगीभरि जेलमा सड्ने भइस् ।’ हाइस्कुल पढ्ने फुच्चे केटाले यस्तो राजतन्त्रविरोधी क्रान्तिकारी कविता लेखेकै होइन, अरू कसैले लेखेर मलाई वाचन गर्न मात्र लगाएको हो भन्ने ठानेको रहेछ प्रहरी प्रशासनले ।
भक्तकिरण तल खोलैखोला, जंगलैजंगल फालहान्दै अघि नै मेरो घरमा पुगेर म पक्राउ परेको समाचार दिएछन् र घरमा भएका क्रान्तिकारी किताबहरू लुकाउन सहयोग गरेछन् । मलाई ती किताबहरूको बारेमा डर लागिरहेको थियो । अनेरास्ववियुको तत्कालीन भोजपुर जिल्ला कमिटी सहसचिव थिएँ म र मेरो खल्तीभरि सदस्यता रसिद, पर्चा–पम्प्लेट थिए, जसलाई मैले यस्सो पाखा लागेजस्तो गरी नष्ट गरिदिएँ ।
प्रहरी घरमै पुगेर खानतलासी गर्ला कि भन्ने भयले मलाई खुब पछ्याइरहेको थियो । तर, धन्य तिनीहरू हाम्रो घरतिर लागेनन् । मणि राईलाई खोज्दै उनको घरमा पुगे । उनलाई घरमा नभेटेपछि कट्टीतिर उकालिए । तिनले कट्टी स्कुलबाट मणि र भूमि राईलाई पक्राउ गरे अनि याकुतिर लगे । याकुमा पुगेर शंकरप्रसाद ढकाललाई पनि पक्रिए ।  विप्लव र देवराज ढकालको नाममा पनि वारेन्ट रहेछ । विप्लव दाइ भोजपुरमै थिए । देवराजले चाहिँ हामी पक्राउ परेको सुइँको पाएर सुइँकुच्चा ठोकेछन् ।
महाकवि देवकोटाको जन्मजयन्ती मनाएको अभियोगमा हामीलाई पक्राउ गरिएको रहेछ । याकुमा धुमधामले मनाएका थियौँ जन्मजयन्ती । र, त्यस कार्यक्रममा वाचित कविता तथा देवराजहरूले प्रस्तुत गरेको प्रहसनलाई आधार मानेर देवकोटा जयन्ती मनाउने बहानामा राजतन्त्रविरोधी गतिविधि गरेको भनेर हामीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको रहेछ । कुनचाहिँ मण्डलेले त्यो काम गर्‍यो ? अहिलेसम्म पनि रहस्यको गर्भमै छ ।
डिएसपी कार्यालय पुगेपछि अर्को कुरा पनि थाहा भो– मेरो नाममा त अर्को पनि वारेन्ट रहेछ । रेकर्ड फायल पल्टाएर मलाई इन्सपेक्टरले थर्कायो— ‘ओठ निचोर्यो भने दूध आउलाजस्तो छ, साला फुच्चे कम्युनिस्ट राजनीति गर्ने ? क्रान्तिकारी कविता लेख्ने ? अब गइस् तँ जेलमा । एई यसलाई खोरभित्र लगेर थुनिदेओ ।’
कविता लेखेकै कारण मैले स्कुलबाट पाइरहेको छात्रवृत्ति खोसियो । नागरिकता प्रदान गरिनमा पनि बन्देज लगाइयो । घरमा बुबाआमालाई दिनरात विभिन्न किसिमका टर्चर दिइन्थ्यो । अब त राजाको गाथगद्दी ताकेको अभियोग पनि लाग्यो ।
हामीलाई सिडिओले अन्तत: पन्ध्र दिने तारिखमा रिहा गरिदियो । लागेको थियो– जेल हाल्ला । तर, कुन्नि † किन हो तारिखमा छोडिदियो । दुई तीनचोटि तारिख धाइयो पनि । त्यत्तिकैमा ०४६ सालको जनआन्दोलन सुरु भयो । हामी भूमिगत भएर आन्दोलनमा होमियौँ । प्रहरीले धुइँपत्तालसँग हामीलाई खोजिरहेकै थियो । र, हामीविरुद्धको मुद्दा बहुदल आएपछि मात्र खारेज भयो ।
मैले त्यतिबेला सुनाएको कविताको शीर्षक थियो—
कुन्नि † अब यहाँ के हुने हो ? फ्रान्सेली राज्यक्रान्तिको विषयलाई आधार मानेर लेखिएको त्यो कविताले तत्कालीन निर्दलीय पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रलाई साँच्चीकै हल्लाइदिएको रहेछ र त कविता लेखेकै कारणले मलाई गिरफ्तार गरी राजगद्दी ताकेको मुद्दा लगाइयो ।
म आठ–नौ कक्षाको विद्यार्थी हुँदैखेरि (वि.सं.२०४५ सालमा) लेखेको यो कविताले राज्यसत्ताको मुटु त्यस्तरी हल्लाइदेला र त्यत्ति ठूलो तरंग सिर्जना गर्ला भन्ने मैले त अन्दाजै गरेको रहेनछु त्यतिबेला । तर, जब–जब आज यो कविताले बोकेको भाव र यसको भयानक सन्देशबारे म गहिरिन्छु, तब–तब मेरो आङ सिरिङ्ग भएर आउँछ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय