कथा–“मान्छे/मान्छेहरू”को

०४८ सालमा उदयपुरका नवीन खड्का, धनुषराजु राई, अञ्जान थापालगायतका रंगकर्मी साथीहरू मिलेर ‘ज्योतिपुञ्ज नाटय समूह’ स्थापना गरेका थियौँ । यसै समूहबाट हामी पूर्वाञ्चलका खोटाङ, ओखलढुंगा, सिन्धुली, उदयपुरलगायतका जिल्लाहरूमा स्टेज नाटकहरू मञ्चन गर्ने गथ्र्याैँ । यसरी मैले ज्योतिपुञ्जबाट सरुभक्त, अशेष मल्ल, विजय मल्ल र म आफैँले लेखेको दर्जन नाटकहरू निर्देशन गर्ने अवसर पाएँ ।
२०५१ सालमा उच्चशिक्षाका लागि काठमाडौं आएपछि यहाँ पनि ‘ज्योतिपुञ्ज’बाट नाटकहरू मञ्चन गर्ने क्रम सुरु भयो । पचासको दशकको आरम्भताका काठमाडौंको नाटक र रंगमञ्चीय गतिविधि अहिलेको जस्तो पटक्कै थिएन । नाम कहलिएका धेरैजसो रंगकर्मीहरू टेलिभिजन र चलचित्रमा पलायन भएका थिए । राजधानीको रंगमञ्च लगभग शून्य अवस्थामा थियो । वर्षको एकपटक भने प्रज्ञाप्रतिष्ठानले राष्ट्रिय नाटक महोत्सवको आयोजना गथ्र्यो । यो बेला मुलुकभरका रंगकर्मीहरू एकै ठाउँमा भेला भई एक–अर्काका नाटय प्रस्तुति हेर्न पाइने भएकाले रंगकर्मीहरूका निम्ति दशैँ आएजत्तिकै हुन्थ्यो । त्यसबाहेक अरू बेला काठमाडौंका प्रेक्षालयहरूमा नगन्य रूपमा नाटक मञ्चन हुन्थ्यो ।
२०५३ सालमा राष्ट्रिय नाचघरमा हरिहर शर्माको पहलमा नाटकको एक वर्षीय प्रशिक्षण कार्यक्रम सुरु भयो । म त्रिचन्द्र कलेजमा पढ्दै थिएँ । तेस्रो वर्ष म नाचघरको प्रशिक्षण कार्यक्रममा सामेल भएँ । एक वर्षको अवधिमा मैले नाटकलाई अझ नजिकबाट बुझ्ने मौका पाएँ । त्यसबेलासम्म मैले राष्ट्रिय नाटक महोत्सवहरूमा विप्लव ढकालको ‘नीलाम्बरको आकाशयुद्ध’, अशेष मल्लको ‘हारेका मान्छेहरू’ लगायतका नाटकहरू निर्देशन गरिसकेको थिएँ । मेरा सबैजसो नाटकहरू प्रस्तुतिका दृष्टिले प्रयोगशील हुन्थे ।
यसपछि म अझै फरक नाटयप्रस्तुतिको सोचमा थिएँ । मलाई नाटकमा कुनै नयाँ प्रयोग गर्ने मन थियो । जुन प्रयोगबाट नेपाली नाटक र रंगमञ्चमा केही नयाँ कुरा दिन सकियोस् भन्ने लाग्थ्यो । २०५७ साल वैशाखमा काठमाडौंका केही बहिरा साथीहरूसँग भेट भयो । सुन्न र बोल्न नसक्ने उनीहरूको हाउभाउ र सांकेतिक कुराकानीबाट म खुबै प्रभावित भएँ । अभिनयमा ‘एक्सप्रेसन’ र ‘बडी ल्यांग्वेज’ को ज्यादै महत्त्व हुन्छ । उनीहरू यी दुवैलाई आफ्नो मूक–सञ्चार प्रक्रियामा सघन प्रयोग गर्थे । उनीहरूलाई देखेपछि मैले एउटा सूत्र फेला पारेँ । नाटकमा कलाकारको रूपमा सबै पात्रहरूमा बहिराहरूलाई नै छनोट गर्दा के होला ? भन्ने लाग्यो । केही समयपछि सम्पूर्ण बहिरा कलाकारहरूलाई लिएर नाटक गर्ने निचोडमा पुगेँ ।
म नक्सालको बहिरा बालकको स्कुल र काठमाडौं बहिरा संघमा पुगेँ । केही दिन उनीहरूको क्रियाकलाप नजिकबाट अवलोकन गरेँ । यसै क्रममा केही बहिरा साथीहरूसँग नजिकबाट चिनजान भयो । बहिरा स्कुलमा सांकेतिक भाषा पढाइरहेका काभ्रेका रमेशलाल श्रेष्ठ, बहिराहरूको सामाजिक कार्यमा सक्रिय वीरबहादुर बोगटी, पद्मकन्या कलेजमा स्नातक पढिरहेकी दीपावली शर्मा, बहिरा चित्रकार प्रतीज्ञ शाक्यहरूसँग कुराकानी भयो नाटक गर्नेबारे । तर, मलाई सञ्चारमा कठिनाइ भयो । म सांकेतिक भाषा राम्ररी जान्दिनथेँ । उनीहरू मैले बोलेको सुन्न सक्दैनथेँ । यसको लागि धेरैपटक सेतो कागजमा लेखेर कुराकानी गरेँ । यो प्रक्रिया झन्झटिलो थियो । उनीहरूलाई मैले नाटक गराउनु छ भने पहिला उनीहरूको भाषा जान्नुपर्छ भन्ने लाग्यो । त्यसपछि म काठमाडौं बहिरा संघमा गएँ । त्यहाँबाट सञ्चालित चार महिने सांकेतिक भाषा प्रशिक्षण लिएँ । मलाई सांकेतिक भाषा सिकाउने सिन्धुलीका सांकेतिक भाषविद् किरण आचार्य पनि बहिरा नै थिए । सांकेतिक भाषा जानिसकेपछि मलाई नयाँ संसारमा प्रवेश गरेको महसुस भयो । संसारका अबुझहरूको ठूलो हिस्साले नै ‘लाटो’, ‘बिचरा’ र यस्तै अनेकानेक शब्दहरूले अपहेलना गरिरहेको ‘बहिराहरू’को मन त धेरै नै फराकिलो र सिर्जनशील हुँदो रहेछ भन्ने थाहा पाएँ ।
मैले सांकेतिक भाषासँगसँगै नाटकको तयारी पनि थालिसकेको थिएँ । एकैखाले मान्छेहरूको भिडमा पनि फरक मान्छेको अनुहार लिएर उभिएका बहिराहरूका निम्ति नाटकको कस्तो आलेख तयार गर्ने भन्ने कुरामा मैले धेरै सोचेँ । अनि शीर्षक जुराएँ– ‘मान्छे/मान्छेहरू’ र नाटक लेख्न थालेँ । त्यतिबेलासम्म बहिराहरूको आधिकारिक सांकेतिक भाषाका चार हजार शब्दहरू मात्र बनेका थिए । २०५२ सालपछि नै नेपाली सांकेतिक भाषाको अध्ययन र विश्लेषण हुन थालेकाले पनि २०५७ सालसम्म सबै कुराहरू बुझाउने प्रशस्त संकेतहरू बनिसकेका थिएनन् । तर, आँट गरिसकेपछि जसरी पनि नाटक तयार गर्नु नै थियो । धेरै माथापच्चीसी गरेपछि नाटक ‘मान्छे/मान्छेहरू’को आलेख तयार भयो । बहिरा कलाकारहरूलाई देखाउँदा उनीहरूले खुबै मन पराए । यसपछि कलाकार छनोट गर्ने काम थियो । धेरैजना बहिराहरूबाट फरक पृष्ठभूमिका दसजना कलाकार छनोट गरेँ । वीरबहादुर बोगटी, दीपावली शर्मा, प्रतीज्ञ शाक्य, कुञ्जन पौडेल, सुरेश शाही, धनुभाजु महर्जन, रामप्रसाद अधिकारी, रोजिना श्रेष्ठ, सुमन शाही र रवीन्द्र श्रेष्ठ नाटक ‘मान्छे/मान्छेहरू’का निम्ति छानिए ।
नाटकको पूर्वाभ्यास सुरु गर्नुअघि उनीहरूलाई नाटक, रंगमञ्च र अभिनयका केही कुराहरू सिकाउनु आवश्यक थियो । यसका लागि मैले काठमाडौंमा त्यो बेला हुने हरेकजसो नाटकमा उनीहरूलाई लान थालेँ । यसबाट उनीहरूले रंगमञ्चलाई नजिकबाट छाम्ने अवसर मात्र पाएनन् उनीहरूमा आत्मबल पनि बढ्दै गयो । अरूका नाटक हेर्दा र कलाकारहरूले धाराप्रवाह संवाद बोलेको देखेर बहिरा साथीहरू सांकेतिक भाषामा पनि यसरी नै संवाद भनेर कथानक प्रस्तुत गर्न सकिन्छ भन्ने कुरामा ‘कन्भिन्स’ हुँदै गए ।
नाटक ‘मान्छे/मान्छेहरू’ को सम्पूर्ण पूर्वाभ्यासमा लगभग तीन महिना लाग्यो । उनीहरूमा नाटक गर्ने रहर थियो र मभित्र ऊर्जा र प्रतिबद्धता । यसरी गरिएको परिश्रमपश्चात् रसियन कल्चर सेन्टरमा २०५७ साल पुस महिनामा ‘मान्छे/मान्छेहरू’ प्रस्तुत भयो । पहिलो प्रदर्शनीबाट धेरैतिरबाट प्रशंसा पाएँ । सबै बहिरा कलाकारहरूले अभिनय गरेको यस नाटकलाई काठमाडौं बहिरा संघले नेपाली सांकेतिक भाषाको पहिलो नाटक भनी मान्यता दियो । पहिलो मञ्चनपश्चात् ‘मान्छे/मान्छेहरू’लाई मैले नेपाल प्रज्ञाप्रतिष्ठानले आयोजना गर्ने गरेको राष्ट्रिय नाटक महोत्सवमा सहभागी गराउने सोच बनाएँ । साथीहरूसँग सल्लाह गरेर महोत्सवका लागि ‘मान्छे/मान्छेहरू’को आलेख पठाएँ । छनोट समितिभित्र रहेका केही पुरातन विचारधाराका सदस्यहरूले सांकेतिक भाषामा नाटक गर्न मिल्दैन भनेर अड्डी कसेछन् । नेपाल प्रज्ञाप्रतिष्ठानमा नीर शाह नाटय विभागका प्राज्ञ हुनुहुन्थ्यो । उहाँले नाटकमा नयाँ–नयाँ कुराहरूलाई स्वागत गर्नुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो । सायद त्यसैले पनि ‘मान्छे/मान्छेहरू’ महोत्सवका लागि छनोट भयो ।
त्यो बेला पाँचै विकास क्षेत्रबाट ५६ वटा नाटकहरू मञ्चनका लागि छानिएका थिए । मैले काठमाडौंबाट सहभागी नाटक दर्ता गरेको थिएँ । क्षेत्रीय नाटक उत्सवमा प्रस्तुत भई अन्तिम छनोटमा परेका नाटकहरू मात्र राष्ट्रिय नाटक महोत्सवमा सहभागी हुन पाउने व्यवस्था थियो । यसरी २०५७ साल चैत्रमा प्रज्ञाप्रतिष्ठानले एकैसाथ मुलुकभर पाँच विकास क्षेत्रमा क्षेत्रीय नाटक उत्सवको आयोजना गर्‍यो । नाटक ‘मान्छे/मान्छेहरू’को प्रदर्शन पूर्वाञ्चलको बिर्तामोडमा गर्नुपर्ने भयो । बहिरा कलाकार साथीहरू लिई गइयो । नाटक हेरिसकेपछि अभिनय गर्नेहरू बहिरा हुन् भनेपछि धेरैले अचम्म मान्थे । हामी नाटक देखाएर फर्कियौँ । नाटक अन्तिम प्रतिस्पर्धाका लागि छनोटमा परेका १२ वटा नाटकको सूचीमा ‘मान्छे/मान्छेहरू’ पनि परेको जानकारी प्रज्ञाप्रतिष्ठानले दियो । अनि राष्ट्रिय नाटक महोत्सव २०५८ मा ‘मान्छे/मान्छेहरू’ काठमाडौंमा प्रदर्शन भयो । सबै नाटकलाई उछिनेर यस नाटकले वर्षको ‘सर्वश्रेष्ठ नाटक’को पुरस्कार पायो । मैले वर्षको सर्वश्रेष्ठ नाटक निर्देशकको पुरस्कार पाएँ ।
‘मान्छे/मान्छेहरू’ले मलाई नयाँ चिनारी दियो । त्यसपछि मैले ‘ज्योतिपुञ्ज साइन थिएटर’बाट संकेत नाटक अभियान सुरु गरेँ । थुप्रै बहिरा र सुन्ने नाटयकर्मीहरूले यसमा साथ दिए । आज पनि हामी संकेत नाटकमा निरन्तर काम गरिरहेका छौँ । ‘मान्छे/मान्छेहरू’ नाटकको रचनागर्भको कुरा यतिबेला सम्झिँदा त्यो मेरो रंगमञ्चीय यात्राको सबैभन्दा पृथक र सार्थक प्रयास थियो जस्तो लाग्छ ।

प्रतिक्रिया