सेतो धरतीमा फूलेका हिउँका फूलहरू

ही मान्छे तर आफ्नो आवरणलाई अलिकति फरक बनाएँ । माथि पहेँलो वस्त्र धारण गरेँ । अलिअलि धार्मिक कुरा गर्न आउँछ । सोचेँ, यति भएपछि म देवघाटमा फिट हुन्छु । बिहानदेखि साँझसम्म म देवघाटका आमाहरूसँग हिँड्न थालेँ । उनीहरूले गरेजस्तै गर्दै घुलमिल हुन खोजेँ । राति सुत्न र साँझबिहान खान गलेश्वर आश्रम थियो । मेरो स्वार्थ थियो एउटा उपन्यास लेख्ने । त्यतिबेलासम्म विषयवस्तु छनोट र केही कथाहरूको आधारमा नाम पनि राखिसकेको थिएँ – सेतो धरती ।
बिहानको खाना खाएपछि दुई बजेसम्म फुर्सद हुन्छ । दुई बजेपछि आश्रममा फेरि प्रवचन सुरु हुन्छ । त्यसैले खाना खाएर वेदमायामाईको कुटीतिर लागेँ । बसुन्धरामाई र शीतलामाई पनि त्यही रहेछन्– बत्ती कात्दै, फूल केलाउँदै बसेका । म पुगेपछि हामी चारजना भयौँ । वेदमायामाईसँग मात्र म कुरा गर्न आउँछु भनेको थिएँ ।
मसँग भएको सानो पकेटडायरी, कलम, क्यामेरा देखेर होला आठ दशक पार गरिसकेकी वेदमाया माईले मलाई नियालेर तृषित हुँदै भनिन् – ‘अइलेको जमानाँ भ’को भ हामी नि यस्तै हुन्तेम् होला नि ।’
मैले उनीहरूलाई आफ्ना कुराहरू भन्न अनुरोध गरेँ । म त खुसी थिएँ । किनभने, एकजना भेट्न आउँदा थप दुईजना पनि भेटिएका थिए । वेदमायामाईबाट नै सुरु गरौंँ भनेको उनले भन्नै मानिनन् । कुरा सुरु भयो शीतलामाईबाट ।

शीतलामाई – माइतबाट घर देखिन्त्यो, पल्लो डाँडा । अरू सप्पै देखिओस् तर तो घर नदेखिओस् अस्तो लाउँत्यो । जे देख्न नपरे हुन्त्यो भनो तेई देख्न पर्नी । देख्तैआँ मन तेसैतेसै ढुकढुक हुन्त्यो । मैले देख्न चाएका सप्पैथोक छेलिँदा नि तेई घर मात्र किन देखिनुपरेको होला अस्तो लाउत्यो ।
हेर्दा नजिकैअस्तो देखिए नि जान एक ब्यानको बाटो । आमा खाली घर जा, घर जा भनेर कराइरनुउन्त्यो । तरुनी हुन लाकी छोरीले माइताँ धेरै बसिरन हुन्न भन्नुउन्त्यो ।
ब्यानै घर जान भनेर हिँनेकी म, दिनभरि चौताराँ खेलेर साँझ माइत फर्किन्तेँ । यस्तो धेरैपल्ट भो । र, बाआमाको गाली खान्तेँ । कइले त राति गाली मात्र खार सुत्थेगँ भातै नखाई ।
बूढा लोग्ने, दुष्ट सासू, तो घराँ गर्नुपर्ने कामको भारी, ई सप्पै कुरा सम्झिँदा घर जानुभन्दा त बरु अन्त कतै जान पाए हुन्त्यो नि अस्तो लाउँत्यो । तर, मेरो अन्त जाने ठाम कतै थेन ।
बाआमाले गाली अर्नुहुन्त्यो । उतिबेला छोरी ठूली भई भने कसैले झुक्कार लैजाला भन्नी डर हुन्त्यो बाआमालाई । तेसैले, सानैआँ बिआ अर्दिन्ते । आफूलाई भने ठूली भसी नि घर जानै मन लान क्यारे ।
एकपल्ट तेसरी नै घर जान हिनेकी म दिनभरि चौताराँ खेलेर साँझ घर फर्किएँ । बाआमासा खुप डर लायो, कर्सां लुकिरएँ । अँध्यारो भकोले अँध्यारोले बाएक अरू कसैले देखेन मलाई ।
साउन मइना थ्यो खुप ठूलो पानी परिरयो । म कर्सां अझ ढेपिएँ । बाछिटे पानीले रुझाम्न थाल्यो मलाई । तेसपछि अलक्क घरभित्र छिरेँ । बा ओछ्यानमा पल्टिरनुभ’को थ्यो । आमा भान्साँ केके काम अर्दै हुनुउन्त्यो कुन्नि ? म भने सुटुक्क आफ्नो ओछ्यानमा गर भोकै सुतेँ । ठूलो पछ्यौराले मुख छोपेर नचलीकन सुतेँ ।
भोक लाइरको थ्यो । भोकभन्दा धेरै डर लाइरको थ्यो । बाआमाका आँखा छलेर लुक्ने ठाम कतै थेन । देखेसि के भन्ने होला अब ? कति गाली खानुपर्ने हो ? अबेरसम्म निद्रा लान । तेसैले, ब्यान अबेरसम्म निदाइचु ।
आमाले देख्नुभच । गाली अर्दै बिम्झाम्नुभो । म जुरुक्क उठिनँ । लाचार भर सुतिरएँ । ब्यानब्यानै म भर्खरकी यौवनाले यति धेरै गाली खाएँ कि मैले अघिल्लो दिनदेखिको भोक नि जम्मै बिर्सें ।
झरी परिरको थ्यो । तेसरी झरी नपरेको भए आमाले नै तुरुन्तै मलाई घर पुर्‍याउन जानुउन्त्यो होला । बदलामा दिनभरि नि गाली खानुपर्‍यो मैले, घर खान सकिनँ भनेर ।
बाइर झरी परिरकै थ्यो । सप्पैले देख्ने अरी बलेसी रोइरको थ्यो । भित्र म कसैले नदेख्नेअरी रोइरकी थेँ एकान्तमा । तेतिबेला त बाआमाको नि पटक्कै माया लान । किनभने, वाँहरू मेरो इच्छाविपरीत गरिरनुभको थ्यो । आफ्नू इच्छा र रअरलाई जस्ले मयाँ अर्च, उसैको मयाँ लाउनी रच । तर, मेरो इच्छा र रअरलाई मयाँ अर्नी कोई थेनन् । तेसैले, मेरो मन एकदमै विचलित भो ।
रात पर्‍यो । मध्यरात भो । आमा, बा, भाइबइनी सप्पै निदाइसकेका थे । बाइर झरी परिरकै थ्यो । म भने अलक्क बाइर निस्केँ । मर्न जान्चु भनेर निस्केँ । तर, झरीले रुझाम्च भनेर स्याखु ओढेर निस्केँ ।
रात परेसि बाइर पिसाप फेर्न नि जान डराउनी म अहँ, केइको नि डर लान । भूतप्रेत, भीरपइरो, चिप्लो बाटो, सर्प बिच्छी केइको नि डर लान । आफूलाई तिन्को डर नलापसि तिन्ले पनि तर्साम्दा रइन्चन् । मलाई त अँध्यारोको नि डर लान । अँध्यारोमै त जान लाकी थेँ, कइल्यै उज्यालो नहुनी ठाममा † किन डर लाम्त्यो त अँध्यारोको ?
घरभन्दा अलिकति पल्तिर ठूलो पहरो थ्यो । तईंबाट फदालेर मर्चु भनेर गएँ । पहराको डिलाँ पुएँ । एकछिन सुस्ताएँ । स्याखु राखेर फदाल्न खोजेँ । पहरासँ नडराकी म एक्कासि पहराट फदाल्न भने डराएँ । मनाँ लायो, मैले एकछिन पनि सुस्ताउन हुँदैन्त्यो । सरासर जुन बेगमा गकी थेँ, तेई बेगमा फदाल्नुपर्ने थ्यो । भुल अरेँ । तेई सुस्ताइको समयमा मेरो मनमा डर पलाएच ।
एकछिनपछि फदाल्छु भनेर स्याखु ओडेर बसिरहे तेई पहराँ । झन् डर पलाम्दै गो, पलाम्दै गो । एकैछिनमा त डर झ्याम्म परेको ठूलो रुखअस्तो पो भो । हुँदाहुँदा त अलि बेरपछि मलाई तेई अँध्यारोको पनि डर लाउन थाल्यो । भूतप्रेत, सर्पबिच्छी, भीरपहिरो, चिप्लो बाटो सप्पैको डर लाम्न थाल्यो । एकै ठाममा उभिरदा पनि कतै मेरा खुट्टामा सर्पले टोक्ने पो हो कि भनेर डराएँ ।
मर्न लेखेको रइन्च भनम् न अब । धरतीको पहराट होइन, आफ्नै जीवनको पहराट, आफ्नै जीवनमा खसेँ †

बसुन्धरामाई – भख्खर किशोरी हुन लाकी थेँ । मेरा अंगहरू पनि भर्खर पोको पर्न लाका बन्दाकोबीअस्ता भका थे †
घराँ सासूससुरा थेनन् । सासू भको भ म तिनीसँ सुत्तेँ होला । ससुरा भका भ बाअस्तै ठानेर भन्तेँ होला – बा मलाई दाइअत्रै केटोले पिट्च । तर, सासूको थान्काँ सौता र ससुराको थान्काँ लोग्ने थे । म सौतासँ सुत्तेँ ।
म चाँडै निदाम्तेँ । कइलेकाईं मध्यरातमा बिम्झँदा सौता मसँ हुन्तिनन् । कहाँ गइन् होला भनेर म आत्तिन्तेँ । आत्तिँदै खोज्तेँ अँध्यारोमा । अनि कतै नपाएर डराम्दै सुत्तेँ । तिनी काँ गइन् होला ? बिहानीपख बिम्झँदा त तिनी मसँगै हुन्थिन् । एकपल्ट सोधेँ – ‘काँ जानु भको थ्यो त दिदी राति ?’
तिन्ले भनिन् – ‘बाइर बस्न † पेट कटक्क काटेर †’
सोचेँ, इनको पेट सारै काटेको रच क्यारे । कति धेरैबेर लाकी । यस्तै सोचिरएँ धेरै पटकसम्म । धेरैपछि था पाएँ, तिनी त दुलासँ सुत्न जाँदिरचिन् । एक दिन दुलाले सौतासँ सुटुक्क भनेको सुनेँ – ‘कान्छी अलि सानी छे’ मैले नसुनेझैँ अरेँ । थाहै नपाअस्तो अरेँ । दुलाले सौतासँ भनेका कुरा सम्भिँmदै दुला गइसकेसि सौतातिर फर्कें । तिन्का गइरा आँखामा हेरेँ । तिन्का आँखाले भनेअस्तो लायो, यो कान्छी याँभन्दा बढ्दै नबढोस् ।
०००
अब भन्ने पालो वेदमायामाईको छ । तर, उनले केही भन्नै मानिनन् । शीतलामाई र वसुन्धरामाईबाट मैले अपेक्षा नै गरेको थिइनँ । उनीहरू त वेदमायामाईको कुटीमा आउँदा संयोगले भेट भएका । बरु उनीहरूले आफ्नो जीवनका एकएकओटा भए पनि संवेदनशील घटना सुनाए । तर, वेदमायामाईले पटक्कै सुनाउन मानिनन् । जसको कुरा सुन्न आएको थिएँ उनैले सुनाइनन् । कर गरेँ – ‘केही त भन्नुस् माईआमा †’
– ‘मलाई केई भन्न आम्दैन बा ।’
– ‘सबैभन्दा बढी नै तपाईंलाई आउँछजस्तो लाग्छ ।’
– ‘सप्पै बिर्सिसक्कियो नि अब ।’
– ‘आफ्नै जीवन पनि बिर्सन सकिन्छ र ?’
– ‘भगमान्ले सप्पै बिर्साइदिए नि बा †’
तर, भगवान्ले नै उनलाई बारबार आफ्नो जीवन सम्झाइरहेछन् जस्तो लाग्यो । मैले साह्रै कर गरेपछि आफ्नो जीवनलाई गाउँखाने कथाजस्तो बनाएर उल्टो मलाई नै साधिन्– ‘भित्र रङ छ बाइर छैन, धरती हो तो सृष्टि छैन के हो ?’
त्यसपछि दंग परेर उनलाई हेरिरहेँ । केही बोल्नै आएन मलाई । त्यसपछि उनैले भनिन्– ‘तो भनेको मै हुम् क्या † मलाई गाउँ देऊ अब… †’
अब मैले ‘भित्र रङ छ बाइर छैन, धरती हो तो सृष्टि छैन के हो ?’ को आधारमा झन्डै आठ दशक लामो उनको कथा लेख्नु थियो । झन्डै एक वर्षसम्म मनमस्तिष्कमा उनीलगायत अरू थुप्रै माईआमाहरूको आफ्नो संवेदना र विचारलाई एकै ठाउँमा मिसेर अनि पकाएर लेखेँ – सेतो धरती ।

प्रतिक्रिया