सरकारीमै रमाइलो

‘सरकारी काम कहिले जाला घाम !’ नौलो होइन, यो उखान नेपालीका लागि । सरकारी कामकाज र गतिविधिमा उत्पन्न प्रवृत्तिलाई संकेत गर्छ यसले । सरकारी स्वामित्वमा पर्ने धेरै कार्यालयजस्तै पर्छन् सरकारी क्याम्पसहरू पनि । शिक्षाजस्तो संवेदनशील क्षेत्रमा पनि उपर्युक्त उखानको आसय मेल खानु विडम्बना नै हो । सरकारी क्याम्पसलाई पनि अरू सरकारी कार्यालयजस्तै देख्नेहरूका लागि निजी क्याम्पस गतिलो विकल्प बनेको पनि छ । देशमा निजी क्याम्पसको संख्या चुलिँदै गइरहँदा त्यहाँ पढ्न जाने विद्यार्थीको संख्या पनि बढ्दो छ । तर पनि सरकारी क्याम्पसमा पढ्ने विद्यार्थीको क्रेज भने आफ्नै खालको छ । उनीहरू यहीँ मजा देख्छन्, मजा लिन्छन् ।
तनहुँका प्रकाश न्यौपाने नेपाल ल क्याम्पसका विद्यार्थी हुन् । एलएलबी तेस्रो वर्षमा पढिरहेका उनलाई सरकारी क्याम्पस नै गुणस्तरीय लाग्छ रे । ‘यहाँ अनुभवी प्राध्यापकहरूको लेक्चर सुन्न पाइन्छ, यहीँ राम्रो छ नि,’ उनले भने । सरकारी क्याम्पसका शिक्षकहरूबाट गुणस्तरीय शिक्षा लिन सकिनेमा उनी विश्वस्त छन् । अर्घाखाँचीकी सरिता गिरीको रोजाइ पनि सरकारी क्याम्पस नै बन्न पुग्यो । बागबजारको पद्मकन्या क्याम्पसमा स्नातकोत्तर पढिरहेकी उनलाई सरकारी क्याम्पस पढेर कुनै पछुतो छैन रे । भन्छिन्, ‘मेहनत गर्नेलाई यहाँ केले तगारो हाल्छ र †’
निजी कलेजका आफ्नै नियम हुन्छन् । निश्चित नियमको सीमाभित्र बाँधिएको हुन्छ विद्यार्थीलाई । आरआर क्याम्पसमा बिए पहिलो वर्ष पढ्दै गरेका अरबिन्द भट्टराईले निजी र सरकारी दुवै कलेज चाखेका रहेछन् । तर, उनलाई आकर्षण गर्नमा सरकारी क्याम्पस नै अगाडि आएछ । ‘महँगो शुल्क तिरेर पढेको निजीमा जस्ता शिक्षकले पनि पढाउन सक्छन् तर सरकारीमा पढाउने दक्ष र अनुभवी नै हुँदा रहेछन्’ उनको अनुभव थियो । सरकारी क्याम्पसमा एउटै वर्गका विद्यार्थी पढ्न आउने हुनाले पनि त्यहाँ सबैको मन मिलेको लाग्दो रहेछ उनलाई । अन्य विभिन्न सरकारी क्याम्पसबाट शैक्षिक योग्यता हासिल गरेर आएकी फुटुङकी गोमा पाण्डेको पछिल्लो रोजाइ पनि सरकारी क्याम्पस नै रहेछ । हाल नेपाल ल क्याम्पसमा पढ्दै गरेकी गोमालाई पहिला अभिभावकले निजी कलेज रोज्न सुझाब दिएका थिए रे । ‘मलाई त निजी कलेजका विद्यार्थीका छाडा फेसन, ड्रेससँगै गुनासो छ’ –उनले सुनाइन् । ‘मेरो भाइले नै एउटा कलेजको ड्रेस मन नपरेर कलेज चेन्ज गर्‍यो ।’ विद्यार्थीहरूले पढाइमा भन्दा पनि फेसनमा मोह राख्दै गएकोप्रति उनको गुनासो थियो ।
दक्ष र अनुभवी शिक्षकहरूको उपलब्धता मात्र पनि क्याम्पसको सम्पूर्ण सुविधा होइन । आवश्यक शैक्षिक वातावरण पनि त हुनपर्‍यो । क्याम्पसमा हुने राजनीतिक क्रियाकलापलाई समस्या पनि मान्छन् यी विद्यार्थी । ‘कति विद्यार्थीलाई राजनीतिमा इन्ट्रेस्ट नै हुँदैन तैपनि कलेजमा त्यस्ता गतिविधिसँग अभ्यस्त हुनैपर्ने बाध्यता बन्छन्,’ अरविन्दले भने । ‘राजनीतिले गर्दा कहिलेकाहीँ पढाइमा समस्या हुन्छ,’ प्रकाशले सुनाए । तीबाहेक पनि सरकारी क्याम्पसका अन्य धेरै समस्या रहेको विद्यार्थीहरू स्विकार्छन् । अनुभवी र दक्ष भनिएका शिक्षकहरूले लगाव दिएर नपढाउने समस्या पनि छन् उनीहरूका । ‘निजी क्याम्पसमा जाँदाचाहिँ राम्रो टाइम दिने शिक्षकहरू सरकारी क्याम्पसभित्र छिर्दा नै अल्छी गर्छन्,’ प्रकाशले गुनासो पोखे ।
निजी कलेजका विद्यार्थीका तुलनामा सरकारी कलेजका प्राय: विद्यार्थी संघर्षमुखी स्वभावका हुने धारणा राख्छिन् सरिता । अनि आफूहरूलाई बढी जिम्मेवारबोध हुने ठान्छन् अरविन्द । क्याम्पसमा हुने सीमित अस्तव्यस्तताका बीच त्यहीँबाट आफ्नो सुनौलो भविष्यका खाका कोरिरहेका हुन्छन्, सरकारी क्याम्पसका विद्यार्थीहरू । ‘मुलुक अनि जीवन’ बनाउन घुँडा धसिरहेका हुन्छन् । निजीका तुलनामा सस्तो शुल्क र दक्ष शिक्षक हुनुले उनीहरूलाई ‘सान’को अनुभूति गराउँछ ।
                                                                                                                                                                                        प्रस्तुति : सरोज

प्रतिक्रिया