इरा र माहिका फाइनलमा


काठमाडौ,२५  जेठ । इरा एम राउत र माहिका राणा प्रथम बोरिस लिसानेविच स्मृति जुनियर खुला टेनिस प्रतियोगिताको यु–१२ गल्र्स सिंगल्सतर्फ बुधबार फाइनलमा प्रवेश गरेका छन् ।
इराले उक्त उमेरसमूहको शीर्ष वरीयताकी मायांका राणालाई सिधा सेटमा ६–४ र ६–२ ले पराजित गरिन् । माहिकाले एनी माथेमाको चुनौती ३–६, ६–३ र ६–३ ले पन्छाइन् । त्यसै स्पर्धाको ब्वाइजमा संरक्षकभूषण वज्राचार्य र प्रणव खनालले फाइनलमा स्थान पक्का गरे । संरक्षकले सत्यप इलिमलाई ६–० र ६–० तथा प्रणवले संरक्षकका भाइ सम्यकलाई ६–२ र ६–३ को सोझो सेटमा हराए ।
इरा यु–१० सिंगल्सको पनि उपाधिनजिक पुगिन् । सेमिफाइनलमा इराले निमा रोकामाथि ६–० र ६–० को सहज जित हात पार्दै अल्सा रेग्मीसँंग फाइनल भेट पक्का गरेकी हुन् । अर्को सेमिफाइनलमा अल्साले अभिलाषा विष्टलाई ६–० र ६–० ले सहजै हराएकी थिइन् । यु–१६ गल्र्स सिंगल्समा राष्ट्रिय च्याम्पियन अश्लेषा लिसानेविच, विजिशा श्रेष्ठ, विभूति कार्की र मन्जिता न्याछ:ले सेमिफाइनल यात्रा तय गरे ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको सेमिफाइनल अश्लेषाले वसुधा देवकोटालाई ६–० र ६–०, विजिशाले शिवालिका राणालाई ६–० र ६–१ तथा विभूतिले सची गुरुङलाई ६–० र ६–३ ले हराए । मन्जिताले अनुष्का जोशीबाट वाक ओभर पाइन् । यु–१६ ब्वाइज सिंगल्समा सुदर्शन सिग्देल, आइभन हो लिसानेविच, अभय गौचन र अशोक कुँवर सेमिफाइनलमा पुगे । तीन घन्टा २५ मिनेटसम्म चलेको खेलमा सुदर्शनले आभाष मल्ललाई ६–४, २–६ र ७–६ को सेटमा पन्छाए । उक्त समय नेपाली टेनिसको यु–१६ उमेरसमूहको कीर्तिमानी समय हो ।
त्यस्तै आइभनले सुबोध उदासलाई ६–० र ६–१, अभयले सक्षम कार्कीलाई ६–२ र ७–५ तथा अशोकले प्रणव कायस्थलाई ७–६, ०–६ र ६–१ ले पन्छाए । अश्लेषा र आइभन दिवंगत बोरिसका नातिनी/नाति हुन् । लिसानेविच परिवार नै प्रतियोगिताको आयोजक हो ।

प्रतिक्रिया