मेक्सिकोद्वारा ब्राजिल पराजित

टेक्सास : आसन्न लन्डन ओलम्पिकका लागि अभ्यास खेलमार्फत तयारी गरिरहेको ब्राजिल आइतबार उत्तर अमेरिकी प्रतिद्वन्द्वी मेक्सिकोसँग २–० ले पराजित भएको छ ।
मेक्सिकोलाई जित दिलाउन जाभियर हर्नान्डिज र जिओभानी डोस सान्तोसले गोल गरे । दुवैले पहिलो हाफमै गोल गरेका थिए । ब्राजिलका प्रशिक्षक मानो मेनेजेसले हारका बीच आफ्नो टोलीका अनुभवहीन खेलाडीलाई अनुभव हासिल गर्ने मौका भएको प्रतिक्रिया दिए । ‘मेक्सिकोका खेलाडी हामीभन्दा अनुभवी थिए,’ मेनेजेसले भने, ‘हामीले भरखरै मात्र डेनमार्क र अमेरिकाविरुद्ध खेलेका थियौं । यसका कारण खेलाडी थकित थिए जसको फाइदा मेक्सिकोले उठायो ।’ उनले आफ्ना खेलाडीले राम्रो खेल्न नसकेको पनि बताए । ‘हामीले कमजोर प्रदर्शन गर्‍यौं,’ उनले अगाडि थपे, ‘हाम्रा खेलाडीले समूहगत होइन व्यक्तिगत खेल खेले ।’
उनले मेक्सिकोविरुद्धको नतिजाले टोलीले नयाँ पाठ सिकेको बताए । ‘हामीले केही अवसर खेर फाल्यौं । यो नै हामीलाई महँगो सावित भयो । साँच्ची भन्ने हो भने यो सिक्न मिल्ने अनुभव हो । यो चुनौती सामना गरेर आफूलाई सुधार गर्नुपर्ने ठाउँ देख्यौं ।’ मार्सेलो, थिआगो सिल्भा र नेयमारजस्ता युवास्टारसहित उत्रिएको ब्राजिलले आफ्नो स्तरको प्रदर्शन गर्न सकेन । यस खेलपछि ब्राजिल न्यु जर्सीतर्फ प्रस्थान गरेको छ जहाँ उसले ९ जुलाईमा अर्जेन्टिनाको सामना गर्नेछ । नेयमारको भरोशामा रहेको ब्राजिल ओलम्पिकमा स्वर्णपदकविहीन यात्रालाई लन्डनमा टुंग्याउने प्रयासमा छ । ओलम्पिक तयारीमै रहेका अमेरिका र क्यानाडाले सोमबार गोलरहित बराबरी खेलेका छन् । (एपी)

प्रतिक्रिया