बेसक्याम्पमा स्टार फुटबलर


वार्सा,२३ जेठ । सहभागी १६ टोलीले नै युरोकप फुटबल प्रतियोगिताको तयारी पूरा गरेका छन् । धेरैले खेल्नुपर्ने मैत्रीपूर्ण खेल खेलिसकेका छन् । आयोजक पोल्यान्ड र युक्रेनमा दिलाइएको प्रशिक्षणस्थलमा सबै टोली व्यस्त रहेका छन् । पोल्यान्डले वार्सामा सात हजार समर्थकअघि आइतबार प्रशिक्षण गर्‍यो । एन्डोरामाथि ४–० को जितपछि उत्साहित पोल्यान्डका गोलरक्षक वेइजन सेज्नेवास्कीले घरेलु समर्थकका सामु खेल्न अझ सजिलो हुने विचार व्यक्त गरे ।
पोल्यान्डको छिमेकी देश चेक गणतन्त्रको टोली ट्रेनबाटै वार्सा पुगिसकेको छ । रेलको यात्रामा तास खेल्ने, फिल्म हेर्ने र गाना सुन्ने गर्दै चेक खेलाडी वार्सा पुगेको रक्षक रोबक हुनिकले बताए । चेक झन्डाअंकित रेल पोल्यान्ड पुग्नेबित्तिकै त्यहाँ रहेका हजारांै समर्थक स्वागत गर्न आएका थिए । छिमेकी देश पोल्यान्डमै खेल्ने भएका कारण चेकलाई घरेलु भूमिकै अनुभव पनि हुनेछ ।
चेकको तुलनामा रुसले भने कम स्वागत पायो । ब्रिस्टल होटलअगाडि रहेका ५ सय जनाको रुसी टोली पोल्यान्ड पुग्दा स्वागत गर्न तयार थिए । टोलीका अन्य खेलाडी बसबाट झरेर होटलमा गए पनि रोमन पाब्लुचेन्को केही समय अटोग्राफमा व्यस्त रहे । शुक्रबार जुरिचमा इटालीसँग मैत्रीपूर्ण खेल खेलेको रुसले मंगलबारदेखि वार्सामा नियमित प्रशिक्षण गर्नेछ ।
‘ग्रीस टोलीलाई शुभकामना छ । जब यो टिम मैदानमा प्रवेश गर्छ । नीलो आकासे र सेतो रंगबाहेक केही पनि देख्नुहँुदैन,’ ग्रीस टोलीलाई लिएर वार्सा पुगेका हवाइजहाजका पाइलट भन्दै थिए । पोल्यान्ड पुगेको चेक टोली पनि मंगलबार बिहान लेजिनेयो बेसक्याम्प पुग्नेछ । भरखरै चोटबाट मुक्त भएकाले एथेन्समा रहँदा एकदिन मात्र प्रशिक्षण गरेका दायाँ रक्षक भासिलिस टोरेडोरिसले वार्सामा भने पूरा समय प्रशिक्षण गर्नेछन् । ग्रीसमा मेडिकल स्टाफले उनले पूरा समय खेल्ने अपेक्षा गरेका छन् । प्रतियोगितामा प्राप्त गर्न सक्ने नतिजाकै बारे उनीहरू भन्छन्, ‘फुटबलमा यसै भन्न सकिन्न । यसै सत्रको च्याम्पियन्स लिगमा पनि धेरैले रियल म्याड्रिड र बार्सिलोनाबीच फाइनल खेल हुने अपेक्षा गरेका थिए । तर त्यस्तो भएन । युरोकपमा पनि धेरैले अपेक्षा नगरेको हुन सक्छ । यसकारण हामी कुनै पनि नतिजाका लागि तयार छौं ।’ ग्रीक खेलाडी आफूहरू अप्रत्यासित नतिजा दिलाउन तयार रहेको बताउँछन् ।
एक दिनअघि नै युक्रेन आइपुगेका स्वीडेनका कप्तान जिलाटान इब्राहिमोभिक भने यो प्रतियोगिता नै सबैभन्दा महत्त्वपूर्ण हुने बताउँछन् । डच, इटालियन र स्पेनिस लिग जितिसकेका इब्राहिमोभिक राष्ट्रिय टोलीले जित पाउँदा त्यसभन्दा फरक मजा आउने बताउँछन् । गेरी काहिलको अनुपस्थिति इङल्यान्डका प्रशिक्षक रे हडसनका लागि चिन्ताको विषय हो । लिभरपुलका मार्टिन केलीलाई टोलीमा बोलाइएको छ । सायद उनले युरोकपमै खेलजीवनको सबैभन्दा महत्त्वपूर्ण अनुभव गर्नेछन् । फिल जाकेन्जा, जेसन ल्यास्कट, जोन टेरी र म्यानचेस्टर युनाइटेडका फिल जोन्ससहितको जब्बर रक्षापंक्ति भएको इङल्यान्डका लागि युक्रेनको खेल सजिलो हुने अनुमान गरिएको छ ।
महिनौंदेखि इङल्यान्डसँगको पहिलो चरणको खेलको प्रतीक्षा गरेको फ्रान्सेली टोलीलाई पेरिसबाट २३ जना बालकले बिदाइ गरे । थुप्रै बालक राष्ट्रिय टोलीलाई बिदाइ गर्न इच्छुक रहे पनि गोलाप्रथाबाट २३ जनाको छनोट गरिएको थियो । लरें ब्लाँको टोलीले पेरिसमा अन्तिम प्रशिक्षण बालकहरूको साथमा गरेको थियो ।
उपाधि लक्ष्यका साथ प्रस्थान गर्नुअघि नेदरल्यान्ड्सले तीन मैत्रीपूर्ण खेल खेलेको थियो । बल्गेरियासँगको २–१ को पराजय र स्लोभाकियासँगको २–० को जितपछि उत्तरी आयरल्यान्डलाई ६–० ले हराएको नेदरल्यान्ड्स त्यसै खेलबाट आफू उपाधि जित्नलायक रहेको महसुस गर्न थालेको छ । सन् १९४९ मा इङल्यान्डसँग ९–२ ले पराजित भएयता उत्तरी आयरल्यान्डले ६ गोल खाएको यो नै पहिलोपटक हो । युरोकपमा सबैभन्दा छाउने अनुमान गरिएका फरवार्ड रोबिन भान पर्सीले आफूहरू एकदमै उत्साहित भएको बताएका छन् ।
पोर्चुगल भने लिस्बनबाट प्रस्थान गर्नुअघि केही सशंकित भएको छ । अन्तिम मैत्रीपूर्ण खेलमा पोर्चुगल टर्कीसँग पराजित भयो भने समूहका अन्य टोली डेनमार्क र जर्मनीले जित हात पारे । जर्मनीका बास्टिग स्वेस्टनाइगर चोटबाट मुक्त भएको समाचार पनि पोर्चुगलका लागि राम्रो होइन । पोर्चुगलका प्रशिक्षक पावलो बेन्ट जोचिमको लोको जर्मनीसँगको भिडन्तका लागि आफूहरू एकरत्ति पनि नडराएको बताइसकेका छन् ।
लगातार तीन मैत्रीपूर्ण खेलमा भएको पराजय, त्यसमा रुससँगको ३–० को फराकिलो हारपछि इटाली केही दिन मानसिक शक्ति पाउनमा नै केन्द्रित रहेको छ । स्पेनसँगको खेलअघि इटालीेले पनि नडराएको दाबी गरेको छ । दुई प्रमुख उपाधि जितेको स्पेनको प्रशिक्षण शैली अलि फरक छ । गर्लप्रेmन्ड लिएर घुम्न मनले चाहेजस्तो गर्न र रातमा शारीरिक असर नपर्ने गरी डिस्को थेक जान प्रशिक्षक लुइस अरागनोसले छुट दिएका छन् । सर्जियो रामोस डिस्कोमा नाचेको फोटो बाहिर आएपछि अरागनोसले प्रतिक्रिया दिए, ‘फोटोग्राफरले राम्रो गरेनन् । म कस्तो मजाले नाचेको थिएँ । यादै गरेनछन् ।’
क्लब र राष्ट्रिय टोलीमा पहिलो ११ मा स्थान पाउन प्रतिस्पर्धा गरिरहेका कभिन डोयल र सने लोग्ले गर्ने जोक नै आयरल्यान्ड ड्रोसिङरुमको आकर्षण हो । नर्वेसँगको अन्तिम मैत्रीपूर्ण खेलमा १–१ को बराबरीपछि स्लेभान सिलिकले आफ्ना केटाहरू धेरै प्रशिक्षणले थाकेको प्रतिक्रिया दिए । आयरल्यान्ड गणतन्त्रको खेलअघि यो टोली थकाइ हटाउन केन्द्रित हुनेछ ।

चीनविरुद्ध स्पेनको साँघुरो जित

साविक विजेता स्पेन आसन्न युरोकपको पूर्वसन्ध्यामा खेलिएका तीनवटै अभ्यास खेलमा विजयी भएको छ । सोमबार भएको अन्तिम अभ्यास खेलमा विश्वकप विजेतासमेत रहेको स्पेनले चीनलाई १–० ले हरायो । स्पेनको जितयात्रालाई कायम राख्ने क्रममा चीनविरुद्ध डेभिड सिल्भाले निर्णायक गोल गरे । जोसे एन्टोनिओ कामाचेको प्रशिक्षणमा रहेको चीनका लागि गोलकिपर जेङ चेङले लगातारका प्रहारलाई आकर्षक बचाउ गरी स्पेनलाई अन्तिम समयसम्म जितका लागि संघर्ष गर्न बाध्य बनाएका थिए । खेलको ८४आंै मिनेटमा इङलिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड सिल्भाले मिडफिल्डर आन्द्रेस इनेस्टाले आकर्षक रूपमा ड्रिबलिङ गर्दै अगाडि लगेर दिएको पासमा गोल गरेका थिए । गोलका लागि खेलभर संघर्ष गर्नुपरे पनि स्पेनले सुरुआतदेखि नै दबाबपूर्ण प्रदर्शन गरेको थियो । यो जितसँगै स्पेन अब युरोकप खेल्न आयोजनास्थल पोल्यान्ड–युक्रेन जानेछ जहाँ समूहचरणको पहिलो खेलमा १० जुलाईमा उसको भेट इटालीविरुद्ध हुनेछ ।

प्रतिक्रिया