डेङगुका रोगी भेटिए

चितवन, २२ जेठ । गर्मी बढेसँगै चितवनमा दुई जना नयाँ डेङ्गुका बिरामी भेटिएका छन् । विभिन्न रोगको शंक्रमण बढ्दै गएका बेला यहाँका अस्पतालमा उपचार गराइरहेका दुईजनामा डेङ्गु रोगको संक्रमण भेटिएको  अस्पतालले जानाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टरकन्ट्रोल निरीक्षक राम केसीका अनुसार भरतपुर अस्पतालमा एक जना र मेडिकल कलेज भरतपुरमा एक जना डेङगुको संक्रमण भएका विरामीको उपचार भइरहेको छ ।
डेङगु एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । चितवनमा गएको वर्ष डेङगु रोगले महामारीको रुप लिएको थियो । उच्चज्वरो आएका बिरामीको रक्त परीक्षणका क्रममा गएको वर्ष मात्र सात सय ३९ जनामा डेङ्गुरोग फेला परेको थियो । यो वर्षमा भने गएको भदौयता पहिलोपटक सोमबार डेङगु रोगी पहिचान भएको केसीले जानकारी दिए । सो समयमा ६३ जना डेङगुका रोगी पहिचान भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
गएको वर्ष जिल्लामा फैलिएको उच्च ज्वरोबाट १८ जनाको ज्यान गएको थियो । जसमा तीन जना डेङगुको रोगी भएका पहिचान भएको थियो । अन्यको भने रोग पहिचान नभएको उनले बताए । डेङगु रोग उच्च ज्वरो आएको समयमा पहिचान हुने चिकित्सकहरुले बताएका छन् । उच्च ज्वरोको कारण शरिरमा प्लेटलेस कम हुँदा समयमा नै उपचार नपाए बिरामीको मृत्यु पनि हुन सक्ने उनले बताए । त्यस्तो अवस्था प्लेटलेस बढाउने औषधी (किट) बिरामीको शरिरमा दिनुपर्छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले उक्त औषधी नि:शुल्क रुपमा उपलब्ध गराइरहेको छ । गएको वर्ष उक्त किटको अभाव भएको थियो । यसवर्ष भने पर्याप्त रहेको केसीले जानकारी दिए ।
एडिस जातको पोथी लामखुट्टेले दिउँसोको समयमा टोक्दा उसको शरिरमा भएको भाइरस मानव शरिरमा सर्ने भएकोले जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले डेङगु रोगबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन सुझाव दिएको छ । त्यसैगरी यस रोग लागेको मानिसबाट पनि अर्को व्यक्तिमा लामखुट्टेको टोकाइबाट यो रोग सर्न सक्छ । चितवनमा यसअघि लामखुट्टेको लार्भा नष्ट गर्न ‘खोज र नष्ट गर’ भन्ने अभियान पनि चलाएको थियो ।

प्रतिक्रिया