ओलम्पिकका बेला ट्वीटर नचलाउने

लन्डन : दुईपटक ओलम्पिक स्वर्णपदक जितिसकेकी बेलायती पौडीबाज रेबेका एड्लिङ्टनले लन्डन ओलम्पिक खेलकुदको अवधिमा आफूलाई सामाजिक सञ्जाल ट्वीटरबाट अलग राख्ने बताएकी छन् । उनले आफ्नो सुन्दरता र पौडी पोसाक पहिरेको अवस्थाबारे अत्यन्त चञ्चल टीकाटिप्पणी आउन थालेकोले त्यसो गर्न लागेको बताइन् । उनले ट्वीटर र अन्य सामाजिक सञ्जालमा ‘भद्दा’ छेडछाडपूर्ण टिप्पणीहरू आइरहेको देखेर आफूलाई उदेक लागेको बताइन् ।
गत बेइजिङ ओलम्पिक्समा ४०० मिटर र ८०० मिटर फ्रिस्टाइल इभेन्टमा स्वर्णपदक जितेकी एड्लिङ्टनले भनिन्, ‘यदि दसवटा राम्रा कमेन्ट आउँछन् भने अचानक कहाँ कताबाट एउटा वाहियात किसिमको र भद्दा खालको टिप्पणी आइहाल्छ । त्यसकारण अहिलेलाई मैले आफूलाई ट्वीटरबाट टाढा राखेकी छु ।’ ट्वीटरमा ४८ हजारभन्दा धेरै ‘फलोअर’ भएकी एड्लिङ्टन घरेलु माटोमा हुन लागेको ओलम्पिक्समा सहभागी हुने बेलायतका प्रभावशाली खेलाडीहरूमध्येकी एक हुन् । ‘मैले अब एकपटक ट्वीट गर्छु र त्यसपछि ओलम्पिक समाप्त नहुँदासम्म खेलबाहेक सबै कुरा बन्द रहनेछन्,’ एड्लिङ्टनले भनिन् । (एएफपी)

प्रतिक्रिया