भाग्यले जुराएको इङल्यान्ड–फ्रान्स भिडन्त

पेरिस, २२ जेठ । जिनेदिन जिदानको दुई हेड गोलले जिताएको विश्वकप उपाधि र त्यसपछि उनकै जादुमय प्रदर्शनका कारण जितेको युरोकपको उपाधिपछि फ्रान्सले ६ वर्षपछि विश्वकपमा फाइनलसम्मको यात्रा तय गर्‍यो । सन् २००६ को विश्वकप फुटबलको फाइनलमा मार्को माटाराजीलाई छातीमा टाउकाले हिर्काएका कारण जिदानले रातो कार्ड पाएपछि ‘जिदान युग’ को अन्त्य त भयो नै, फ्रान्सले पनि विश्वको राम्रो फुटबल टोलीको रूपमा छवि कायम राख्न सकेन । तिनै जिदान युगका कप्तान लरें ब्लाँको नेतृत्वमा रहेको फ्रान्स यसपटक भाग्यमानी ठहरिएको छ । पहिलो चरणमा स्पेन र जर्मनीको सामना गर्न नपरेको फ्रान्सका लागि स्टार खेलाडी वेन रोनीविना सुरुआती दुई खेल खेल्ने इङल्यान्डसँग खेल्न पाउने भाग्यमानी नै हो ।
समूह ‘डी’ मा रहेको फ्रान्सका प्रशिक्षक ब्लाँले ड्रपछि नै प्रतिक्रिया दिएका थिए, ‘यदि डेनमार्कको साटो हामी समूह ‘बी’ मा रहेको भए कति गाह्रो हुन्थ्यो होला,’ उनले अगाडि थपे, ‘हरेक टोलीको लक्ष्य समूहमा पहिलो या दोस्रो हुने नै हुन्छ । यदि हामी समूह ‘ए’ या ‘बी’ मा रहेको भए पहिलो चरण पार गर्न नै हामीलाई धेरै सुधार गर्नुपर्ने थियो । तर, यो समूहमा आफ्नो खेल खेलेमा समूहचरण पार गर्न सक्छौं ।’
ब्लाँको पहिलो दायित्व इङल्यान्डसँगको मनोवैज्ञानिक लडाइँ जित्ने नै हुनेछ । फ्रान्सका धेरै प्रभावकारी खेलाडी इङलिस प्रिमियरसिपमा खेल्ने भएका कारण ११ जुनमा हुने पहिलो चरणको खेलमा इङल्यान्ड र फ्रान्स दुवै एकअर्कासँग परिचित हुनेछन् । त्यसो त सन् २००४ मा लिस्बनको रंगशालामा जिदानले दुई गोल गरेका कारण आफ्नो टोली हारेको दिन इङलिस फ्यानहरूले अझै बिर्सेका छैनन् । २०१० मा वेम्बलीमा भएको मैत्रीपूर्ण खेलमा प्राप्त २–१ को विजयले मात्र पनि सायद इङलिसहरूको चित्त बुझेको छैन ।
इगोको लडाइँको रूपमा रहने ११ जुनको खेलमा दर्शक पनि त्यत्तिकै उत्साहित हुनेछन् । चाहे त्यो इङल्यान्डको होस् या फ्रान्सको । इङल्यान्डले यसभन्दा अघि फ्रान्समाथि सबैभन्दा बढी खुसी दिलाउने खुसी १९८२ को विश्वकपमा पाएको थियो । स्पेनमा ३० वर्षअघि भएको त्यो खेल सम्भँmदै ब्लाँ भन्छन्, ‘तीन दशकअघिको कुरा सम्भँmदै उनीहरू रमाउँछन् भने ठीकै छ । नत्र उनीहरूकै टोली अहिले राम्रो छ । तर के पनि सत्य हो भने हामी तीन उत्कृष्ट टोली स्पेन, नेदरल्यान्ड्स र जर्मनीको सामना गर्न गइरहेका छैनौं । यसकारण जे पनि परिणाम आउन सक्छ ।’
वेन रोनी र जोन टेरी इङल्यान्डका प्रमुख खेलाडी भए पनि रोनीविना भिड्न पाउनु नै फ्रान्सको भाग्य हो । ब्लाँसँगै विश्वकप विजयी टोलीका सदस्य रहेका विजन्ते लिजाराजु भन्छन्, ‘इङल्यान्डसँगको पहिलो खेलपछि नै हामी लयमा आउन सक्नेछौं ।’ आर्सनलका फ्रान्सेली प्रशिक्षक आर्सेन वेङ्गर यो समूहबाट दुवै टोली दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना व्यक्त गर्छन् । उनले दुवै टोलीले त्यो खेलमा भन्दा पनि पछिका दुई खेल जित्नमा ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

युरोकपको तयारीमा मैत्रीपूर्ण खेल

लन्डन : आसन्न युरोकप फुटबल प्रतियोगिताको तयारीका क्रममा त्यसमा सहभागी हुने १६ टोली पछिल्लो केही समयदेखि अभ्यास खेलमा जुटिरहेका छन् । यसै क्रममा शनिबार राति केही म्याच भए जसमा केही परिणाम विस्मयकारी पनि रहे ।

नेदरल्यान्ड्सद्वारा गोलवर्षा
नेदरल्यान्ड्सले शनिबार राति गोलको वर्षा गर्दै उत्तरी आयरल्यान्डलाई ६–० ले पराजित गर्‍यो । विश्वकप उपविजेता टोलीको जितमा रविन भान पर्सी र इब्राहिम अफेलेले दुई/दुई गोल गरे । वेस्ली स्नाइडर र रोन भ्लारले थप गोल गरेका थिए ।
राष्ट्रिय टोलीबाट केही समययता राम्रो प्रदर्शन गर्न नसकिरहेका इङलिस क्लब आर्सनलका स्ट्राइकर पर्सीले विश्वको दोस्रो ठूलो फुटबल प्रतियोगिता मानिने युरोकपको पूर्वसन्ध्यामा भएको उक्त खेलमा दुई गोलका लागि पनि साथ दिएका थिए ।
खेलमा खाता पर्सीले नै खोलेका थिए । ११औं मिनेटमा स्नाइडरको पासलाई सदुपयोग गरी पर्सीले खेलको पहिलो गोल गरे । स्नाइडरले नै त्यसको चार मिनेट पनि बित्न नपाउँदै अग्रता दोब्बर बनाए ।
३७औं मिनेटमा आफ्नो पासमा अफेलेले गोल गर्नुअघि पर्सीले २९औं मिनेटमा पेनाल्टी प्रहारमार्फत गोल गरेका थिए । मध्याह्नपछि डच टोलीले एकपक्षीय बनिरहेको खेलमा थप दुई गोल गर्‍यो । पर्सीकै पासलाई सदुपयोग गर्दै अफेलेले व्यक्तिगत दोस्रो गोल थपेका थिए । ७८औं मिनेटमा अफेलेको पासमा भ्लारले गोल गरी टोलीको आधा दर्जन गोल पूरा गरेका थिए ।

पोर्चुगल पराजित
यता युरोकपको उपाधि जित्न सक्ने टोलीका रूपमा हेरिएको पोर्चुगलले भने विस्मयकारी ढंगले हार व्यहोरेको छ । केही दिनअघि मात्र बल्गेरियाविरुद्ध बराबरी खेलेको पोर्चुगल शनिबार टर्कीविरुद्ध मैत्रीपूर्ण खेलमा ३–१ ले पराजित भयो । टर्कीविरुद्ध पोर्चुगलको प्रदर्शन कमजोर र निराशाजनक रहयो । ६५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टी प्रहारमार्फत गोल गर्नुअघि टर्कीले खेलमा २–० ले अग्रता लिएको थियो । उमत बुलुतले ३५ र ५२औं मिनेटमा टर्कीका लागि गोल गरी पोर्चुगललाई दबाब दिएका थिए । हारतर्फ नजिकिइरहेका बेला पोर्चुगलका पेपेले ८८औं मिनेटमा आत्मघाती गोल गरी टर्कीका लागि गोल थपिदिएका थिए ।

पोल्यान्डलाई सहज जित
त्यस्तै युरोकप आयोजक पोल्यान्डले एन्डोरालाई ४–० ले हरायो । नर्वे र क्रोएसियाबीच सम्पन्न अर्को खेल १–१ ले बराबरीमा टुंगियो । एडुआर्डोको एकल प्रयासमा ७९औं मिनेटमा भएको गोलमार्फत सुरुआती अग्रता लिएको क्रोएसियाविरुद्ध तारिक एल्यौनौसीले ९०औं मिनेटमा नर्वेका लागि गोल गरी खेललाई बराबरीमा पुर्‍याएका हुन् । (एजेन्सी)

प्रतिक्रिया