दलित परिवारको उपचार सुरु

काभ्रे, २२ जेठ । शरीरभरि रौँ भएका र गिजा सुन्निने रोगबाट पीडित दलित परिवारको धुलिखेल अस्पतालमा आइतबारबाट उपचार सुरु भएको छ ।

कुशादेवी–२, ओढारेका एक दलित परिवारले आर्थिक अभावकै कारण चार पुस्तासम्म उपचार गर्न नसकेको खबर सौर्यलगायत सञ्चारमाध्यममा समाचार प्रकाशन भएको थियो । जन्मदै शरीरभर रौँ आउने र उमेर बढ्दै गएपछि गिजाको कोषिका बढ्ने रोगबाट पीडित शालिकराम सुन्दास परिवारका चार सदस्यले नि:शुल्क उपचार पाउने भएका छन् ।
‘आर्थिक विपन्नता भएका व्यक्तिलाई उपचारको व्यवस्था गर्दै आएका छौँ,’ अस्पतालका प्रशासकीय प्रमुख राजेन्द्र कोजूले भने, ‘उनीहरूको उपचारमा लाग्ने सम्पूर्ण खर्च नलिने निर्णय गरेका छौँ ।’ आइतबार सुन्दास परिवारको रगत परीक्षण, भिडियो एक्सरे, दाँत तथा गिजाको परीक्षण गरिएको छ ।
सात महिनाअघि जन्मिएकी छोरीमा समेत एउटै रोग देखापरेपछि सुन्दास परिवार उपचारका लागि जुटेका थिए । ‘बुढेसकालमा अस्पताल गएर उपचार गराउने रहर थिएन, नातिनीमा समेत रोग देखापरेपछि अस्पतालको खोजीमा जुटेका थियौँ, पत्रकारहरूले सम्भव गराइदिनुभयो,’ ५६ वर्षीया गोमा सुन्दासले भनिन् । अस्पतालले ५६ वर्षीया गोमा, उनका भाइ ३८ वर्षीय शालिकराम र उनकी सातमहिने छोरी आशिकाको उपचार गर्न लागेको हो ।

प्रतिक्रिया