दोषी कर्मचारीलाई कारबाही गर्न दबाब

काठमाडौं, २१ जेठ । बारास्थित त्रिवेणी स्पिनिङ मिल्सले ६ करोडभन्दा बढीको विद्युत् चोरी गर्दा मिलेमतोमा संलग्न कर्मचारीलाई नेपाल विद्युत् प्राधिकरणले कारबाही गर्ने भएको छ ।

प्राधिकरणकै कर्मचारीको मिलेमतोमा ६ करोड १५ लाख ९२ हजार रुपियाँबराबरको विद्युत् चोरी भएको प्रमाणसहित चुहावट महाशाखाले बुझाएको फाइल नै गायब भएपछि अहिले प्राधिकरणमा उक्त विषयले चर्को रुप लिएको छ । ‘विद्युत् चुहावटमा कर्मचारीको मिलेमतो देखिएको छ, उनीहरूलाई कारबाही हुन्छ,’ प्राधिकरणका निमित्त कार्यकारी निर्देशक टीकाराम बिसीले भने । प्रशासनका कामु उपकार्यकारी निर्देशक बद्रीनाथ रोक्काको संयोजकत्वमा रहेको समितिले फाइल हराएको विषयमा छानबिन गरिएको उनले बताए ।
प्राधिकरण स्रोतका अनुसार फाइल गायबबारे कानुन विभागका अधिकृत राजकुमार पोखरेललगायतसँग सोधपुछ गरिएको छ । तत्कालीन कानुन विभाग प्रमुख गोविन्दराज खरेल भने ‘छानबिन समितिलाई स्पष्टीकरण दिन्नँ’ भन्दै हिँडेपछि छानबिन प्रतिवेदन तयार पार्न समितिलाई समस्या परेको छ । शुक्रबारसम्म मात्र प्रतिवेदन बुझाउने म्याद भए पनि खरेलले अटेर गर्दा ढिलाइ भएको स्रोतले जनाएको छ ।
गत भदौमा मिल्समा विद्युत् चुहावट भएको फेला पारिएको थियो । गत चैतमा कर्मचारीले नै विद्युत् चोरीसम्बन्धी सक्कल फाइल गायब पारेपछि अहिले प्राधिकरणलाई करोडाँै घाटा पार्नेहरूलाई कारबाहीका लागि दबाब बढेको छ । कर्मचारीको मिलेमतोका कारण न मिल्सबाट चोरीबापतको रकम असुलउपर हुन सकेको छ न त दोषी कर्मचारी कारबाहीमा पर्न सकेका छन् ।
प्राधिकरण सञ्चालक समिति सदस्य विश्वप्रकाश गौतमको संयोजकत्वमा रहेको चुहावट पुनरावलोकन समितिले गत मंसिरमै तत्कालीन वीरगन्ज वितरण प्रमुख शेखर दत्त र इन्जिनियर सन्तोषकुमार जैसवाललाई कारबाहीको सिफारिस गरेको थियो । आर्थिक प्रलोभनमा उक्त फाइल नै गायब पारिएको कर्मचारीको आरोप छ । फायल गायब हुनामा उच्च तहका कर्मचारीकै संलग्नता रहेकाले दोषीमाथि कारबाही हुन नदिन छानबिन समेत प्रभावित पारिएको आरोप कर्मचारीको छ ।
‘विद्युत् चोरी गरेको प्रमाण भेटिएको नौ महिना बिते, कसैलाई कारबाही गरिएको छैन, अहिले उच्च तहका कर्मचारी मुछिने हुनाले फायल गायब पार्ने कर्मचारीलाई जोगाउने षडयन्त्र भइरहेको छ,’ एक कर्मचारीले भने ।
उक्त मिल्सले कर्मचारीको मिलेमतोमा बिलिङ सिस्टम बिगारी विद्युत् चोरी गर्दै आएको भेटिएको थियो । गत चैतसम्म उक्त मिल्स सञ्चालक र कर्मचारीमाथि कारबाही नभएपछि प्राधिकरणका कर्मचारी युनियनहरूले कारबाहीका लागि आवाज उठाएका थिए । कानुन विभाग प्रमुख खरेल सरुवा भएर गत चैतमा उक्त ठाउँमा गोसार्इं केसी आएपछि चोरीसम्बन्धी फाइल हराएको खुलासा भएको थियो ।

प्रतिक्रिया