अभि सरको नाममा एउटा पत्र


‘म शब्दका घामले
तिम्रो हुस्सु काट्न पसेको बेला
तिमी यिनको उज्यालोले आक्रान्त भयौ,
तिमीले मेरा शब्दका डिलबाट लड्ने भयले
मलाई शब्द नबोल्न भन्यौ
म चुप भएँ’
– शब्द र चोट ( अभि सुवेदी )
धेरै ठाउँमा सोधिँदा मैले भनेको छु, ‘जीवित् मान्छेमा म अभि सरलाई आदर्श मान्छु ।’ सायद ठूलो कुरा गरेँ मैले । एकफेर एउटा अंग्रेजी राष्ट्रिय दैनिकका लागि मलाई सोधियो र मैले फेरि उही जवाफ दिएँ । ‘किन ?’ ‘किनभने जिन्दगीलाई हेर्ने एउटा विशिष्ट दृष्टि छ उहाँसँग ।’ पत्रिकामा मेरो विचार पढेपछि मान्यजनहरूले पालैपालो भने, ‘मलाई त यी बूढा पागलजस्तो लाग्छ ।’ म मुसुक्क हाँसे मात्र । किनभने थाहा छ मलाई, कलामा अभिव्यक्त हुन एउटा विशिष्ट पागलपन चाहिन्छ ।
मेरा शब्दले आफ्नो मर्यादा त भुलेनन् ? म सशंकित भइरहेँ यो पत्र लेखिरहँदा । त्यसैले म धेरैपल्ट रोकिएँ पनि । कारण, म के लेख्दै छु भन्नेमा आफैँ स्पष्ट थिइनँ । एउटा खेस्रा सोच थियो मसँग र त्यही सोचलाई शब्दमा उतार्ने चाहना थियो मेरो । तर, शब्द स्वयंमा निकै गह्रुँगो शब्द हुँदो रहेछ । पत्र लेख्नु सजिलो कहिल्यै हुँदैन, झन् खुलापत्र लेख्न त – धेरै गाह्रो पो हुन्छ । आफूलाई धेरैले पढिरहेका हुन्छन् र आफू अनुकूल व्याख्या पनि गरिरहेका हुन्छन् । तर, यो दुस्साहस गरेँ मैले । तपाईंले प्रत्यक्ष रूपमा पढाउनुभएको विद्यार्थी म होइन । मेरो परिचय यो पत्र सँगसँगै खुल्दै जानेछ, यति आशा गरौँ ।
तपाईंले लेखेजस्तै जीवन पनि कहीँकतै आरुका फूलहरूजस्तै हुने रहेछ । सुन्दर तर क्षणिक अनि निकै अर्थपूर्ण जो सजिलै बुझ्न सकिँदैन । कति सजिलै र कति मार्मिक ढंगले तपाईंले जीवनको अर्थ लगाइदिनुभयो । हो, यही हो विशिष्ट दृष्टिकोण भनेको । ‘अग्निको कथा’ नाटकमा भिक्षुणी पूर्णिमाले भनेकी छे, ‘ज्ञान भनेको यात्रा हो ।’ अनि पूर्णिमा यात्रामा निस्किँदाखेरि भिक्षु ज्ञानले भनेको छ, ‘पूर्णिमा फर्क, बाहिर खतरा छ, सबै ठाउँहरू रक्तरञ्जित भइसकेका छन् ।’ यी दुवै भनाइहरू सत्य हुन् किनभने जीवनको विरोधाभाषलाई यिनले समातेका छन् । यस्तै विरोधाभाषहरूमा सपना खोज्ने धेरै युवाहरूमध्येको एकजना म पनि हुँ । प्रत्येक प्रहर बढ्दै जाने भिडमा एउटा ‘स्पेस’ खोज्नु मेरो मात्रै सपना होइन । तपाईंकै शब्दहरू :
‘म खुलेको आकाशमा
त्यही रित्तिएको सहर देख्छु
तिनै शून्य कुनाहरू देख्छु
त्यहीँ मविनाको
भिडले भरिएको अर्थहीन कान्तिपुर देख्छु
– (भिडमा रित्तिएको सहर)
कस्तो गजबको सीप छ तपाईसँग । कलालाई राजनीतिकरण गर्न खोज्नेहरूलाई तपाईं कति शिष्टतापूर्वक नकारिदिनुहुन्छ । ‘एकेडेमी, गुरुकुल र म’ शीर्षकको लेखमा त्यही कुरा पढेँ मैले । तपाईंलाई संगीत तथा नाट्य प्रतिष्ठानको उपकुलपति बनाउन खोजियो तर तपाईंले निकै कलात्मक पाराले ‘नाइँ’ भनिदिनुभयो । वर्षौंदेखि स्थापित भएको एउटा सम्मानित छविलाई तपाईंले धुमिल हुन दिनुभएन । त्यस अर्थमा पनि तपाईं आदर्श व्यक्ति हुनुहुन्छ ।
प्रत्येक व्यक्तिमा चरम निराशा छ तर म भन्छु निराशा भनेको सबैभन्दा ठूलो आशा हो । ‘यो जीवन कति दिक्क लाग्दो’ यसरी निराश हुनेहरू पनि मलाई आशावादी लाग्छन् (यसलाई अराजक अर्थमा नबुझियोस् ) । जीवनप्रतिका यिनै आशाहरूलाई जीवित राख्नका निम्ति तपाईंले बुद्धका दर्शनहरूलाई कविता र नाटक बनाउनुभयो । तपाईं पोखिनुभयो छताछुल्ल र सँगसँगै हामीलाई चिप्ल्याइदिनुभयो । तपाईंकै दृष्टिकोणमा समाहित भएर हामी चिप्लिँदै गयौँ, थाहा छैन कहाँ पुगेर रोकिन्छौँ ।
एकफेर एकजना साथीले भनेको थियो, ‘वास्तवमा युवा त अभि सर पो हुन् । ती अझै पनि उत्तिकै उत्साहका साथ हिँडिरहेका हुन्छन् । हरेकपल्ट नवीन दृष्टिकोणहरू भेटिन्छन् उनीसँग कुरा गर्दा ।’ साँचो हो । यी शब्दहरूले तपाईंको तारिफ गरियो कि आफ्नो मनका कुनामा अल्झिएका कुराहरू भनियो या तपाईंको नाममा जोडेर आफूलाई लेखकीय अस्तित्वमा ल्याउन खोजियो, त्यो समयले मूल्यांकन गरोस् । तर शब्दहरू त लेखिइसके । आदर्शका शब्दहरू, दर्शनका शब्दहरू अनि समग्र जिन्दगीका शब्दहरू ।
मानव जीवनका अपरिभाषित सम्बन्धहरू समेटिएका तपाईंका सिर्जनाहरूको खै कसरी व्याख्या गर्न सकिएला ? त्यति प्रखर समालोचक मभित्र छैन । तर, सम्बन्धका जति पनि आयामहरू तपाईंले प्रस्तुत गर्नुभएको छ, तिनै आयामहरूमा जीवनको अर्थ खोजिरहेको हुन्छु म । मैले तपाईंको व्यक्तित्व र कृतित्वको चर्चा गर्न खोजेको थिइनँ र मेरा कुण्ठा र आवेगहरू प्रस्तुत गर्न खोजेको पनि थिइनँ । तर, त्यस्तै पो हुँदै गएछ पत्र त । मेरो यति ठूलो हैसियत बनिसकेको छैन तर पनि जुन साहस गरेर मैले यो पत्र लेखेँ, त्यसको अन्त्यमा एउटा आग्रह अवश्यै गर्छु । कविता, नाटक र निबन्ध त धेरै लेख्नुभयो, अब कथा, उपन्यास या आत्मकथा … † तपाईंका प्रत्येक लेखहरूले समयका कथाहरू भनेका छन्– यो तपाईंले नै भन्नुभएको हो । त्यसैले मेरो आग्रह निराधार होइन । तपाईंले जीवनका अरू धेरै पहेलीहरूलाई लिपिबद्ध गर्नुभयो भने हामी आफ्नै ढंगले तिनलाई सुल्झाउने अर्को दुस्साहस पनि गरौँला ।
मान्छे असाध्यै जटिल संरचनाको हुन्छ । अहा † जति बुझेँ भने पनि बुभिँmदैन । तपाईं, म, हामी अनि हामीले देखेका नदेखेका कैयौँ मान्छेहरूको नियति हो, आजको समय र युग भनेको । तपाईंकै शब्दमा :
‘आजको मान्छे
एउटा बालकको कापीमा
कोर्नै नमिल्ने
कोर्नै नसकिने आकारको
भइसकेछ ।’
–(आजको मान्छे)
‘आजको मान्छे’ शीर्षकको यिनै हरफहरू टिपेर मैले एउटा माला उन्न खोजेँ । एउटा छोटो चलचित्र बनाएँ मैले । हेरिसकेपछि भन्नुभयो, ‘छोटो, मीठो, चिटिक्क परेको, मन पर्‍यो ।’ म खुब खुसी भएँ किनभने समाजमा अत्यन्तै सम्माननीय छवि बनाएर स्थापित भइसकेका सर्जकहरूको सिर्जनालाई चलाउनु ठूलो चुनौती हो । त्यसमा म असफल चाहिँ भएनछु ।
मान्छेका भिन्दाभिन्दै संवेदनाहरूलाई कथामा उतार्दा–उतार्दै म यति कथात्मक भइसकेको थिएँ कि हरेक सहजतामा पनि मैले जटिल कथाहरू भेटेको थिएँ । जीवनको यही प्रतिविम्बलाई हेरेर बाँचिरहेको मजस्तो मान्छे तपाईंका सरल तर गम्भीर दर्शनहरूसँग ठोक्किन पुगेँ । अनि खोज्न थालेँ जटिलताहरूमा जीवनका सरल तर गम्भीर अर्थहरू । त्यो खोज अद्यापि चलिरहेकै छ ।
ठूला कुरा गरेँ । गह्रुँगा शब्दहरू पनि बोलेँ । कति साँचो बोलेँ कति गलत बोलेँ, थाहा छैन । अन्त्यमा आफ्नै शब्दहरू :
‘शब्ददेखि भाग्न
मैले शब्दकै भर्‍याङ चढेँ
तर, म लडेँ र पछारिएँ शब्दमाथि नै
शब्द कस्तो शब्दजस्तै हुँदो रहेछ
बुझ्नै नसकिने ।’

प्रतिक्रिया