बानेश्वर चोकको शोकगाथा


सुनसान सडक । मात्र एक, दुई साइकल, मोटरसाइकल गुडेका थिए । जेठ १५ गते एकाबिहानैको संविधानसभा भवनअगाडिको दृश्य यस्तै केही थियो । हामीले बाँचेको समय इतिहासमा विलय हुँदो रहेछ र इतिहास पनि समयमा विलय हुँदो रहेछ । त्यस्तो विलयनभित्र द्वन्द्वको चर्को प्रतिक्रिया चर्किंदो रहेछ । हो, अघिल्लो रात यस्तै केही भएको थियो । इतिहासको गर्तमा नयाँ–नयाँ द्वन्द्वको प्रत्युत्पादन हुँदो रहेछ । हिजो मध्यरातसम्मको द्वन्द्व र जेठ १५ गते बिहान उत्पत्ति भएको द्वन्द्वको आकारले यस्तै बताउँदै थियो ।
बानेश्वर चोकको उत्तरपट्टि थ्याच्च बसेको त्यो नेपालीहरूको सपनाको भवन थियो । चोकमा पूरा नदेखिने गरी ठिंग उभिएको, चार वर्षसम्म त्यो रहस्यमय भवनमा अनेक लीला नाटक मञ्चन भए । त्यसका वरिपरि आफ्नै सपनामा खिया लागेका र विल्कुल असफल सुरक्षाकर्मीहरू तैनाथ गरिएका हुन्थे । तिनका हातमा वास्तवमा सुरक्षा थिएन, एक गम्भीर दुर्घटनाको संकेत गर्ने प्रकारको असुरक्षा थियो ।
हुन त एक नागरिकका हैसियतले मलाई जीवित राजनीतिक केन्द्र संविधानसभा भवनको कथा लेख्न मन लागेको थियो । कथा, सफलताको, मुलुकको उन्नत राजनीतिक प्रबन्ध र विकासका नयाँ सम्भावनाका ढोकाको । तर, माफ गर्नुहोला † जेठ १४ गते मध्यरातको एक निमेषको घोषणाले कथाको प्लट फेरियो । कथा सुरु भयो निराशाको, अनिश्चयसूचक गन्तव्यको र कपटपूर्ण राजनीतिक दाउपेचमा पिल्सिँदै गरेको भोलिको इतिहासको । कथाका ठोस पदार्थहरू बटुल्न संविधानसभा चुनाव भएयताका दिनहरूतिर फर्कनुपर्ने हुन्छ, अर्थात् म फ्ल्यासब्याकतिर फर्कनुपर्ने हुन्छ । यो संविधानसभा भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) लाई आफ्नो जिन्दगी फिक्सनझैँ लाग्छ होला या भन्नुस् यो ठूलो रंगमञ्च हो, जहाँ सयौँ विदूषक (जम्बो टोली) एकैसाथ अट्टाहास गर्थे, झगडा गर्थे र विशाल नाटक मञ्चन गर्थे अनि त्यही नाटक टेलिभिजनबाट प्रसारण पनि गर्थे । सभाको रचना राजनीतिक सुझबुझले होइन, जात, धर्म, वर्ण र लिंग शृंखलाबाट भएको थियो । संविधान के हो, थाहा पाएका कति थिए, क्षुद्र नेताका महत्त्वाकांक्षाको बलिवेदीमा चढाउन ल्याइएका ल्याप्चेछाप मनुष्य कति थिए, वा आआफ्ना जातीय महत्त्वाकांक्षाबाहेक संविधानको गहनताका विषयमा बुझेका त्यहाँ कति थिए ? यस प्रश्नले संविधानसभाको परिणामहीन विघटन बुझ्न केही मद्दत पुग्छ ।

भवनलाई आफ्नो मुड वा आफ्नै सुविधाअनुसार, तथाकथित् ‘संविधानसभा’मा खोजी बस्थे सभासद् । हो, १५ गतेको बिहान अवसान भइसकेको ‘संविधानसभा’ भवनअघि कतिबेर रित्तो दिमाग लिएर उदास उभिई मात्र रहेंँ, किन उभिइरहेँ, थाहा भएन । संविधानसभा चुनावी परिणाम कति गुणात्मक थियो, त्यो बेग्लै कुरा हो तर जोजो सभासद् बनेर सभाभित्र छिरेका थिए, उनीहरूसँग एक करोडभन्दा बढी मतदाता र तिनका सन्तानहरूको सपना थियो । त्यो हिजो रातिसम्म धुकधुकीमा थियो, उज्यालोले धर्ती टेक्न नपाउँदै मरिसकेको थियो । दिमाग ब्ल्यांक हार्ड–डिस्कझैँ भयो ।
भवन उही र उस्तै थियो । तर, राजनीतिक वृत्तमा छरिएको र तलसम्म बिस्तार हुनथालेको जातीय विद्वेषले आज सिंगै मुलुक सन्त्रस्त मुद्रामा भेटिएको छ । कारण उही थियो, संविधानसभाको गलत बनावट । समाजमा विभेद छ, स्रोतसाधनको स्वामित्वमा, उपभोगमा, सामाजिक आचार व्यवहार र अधिकार प्रयोगमा तर त्यसलाई वास्ता गरिएन र संविधानसभाको रचना गरियो जातको, धर्मको, लिंगको र त्यसैलाई केही राजनीतिका चतुर विदूषकहरूको भाषामा समावेशीकरण भनियो । संविधानसभाको त्यही रचना गर्भले आज भवनबाहिर मात्र होइन, सिंगै मुलुकका सडकमा जातीय झन्डा फहराइरहेका छन् । काठमाडौंको गुलजारमा परम्परालाई चुनौती दिएर ठिंग उभिएको यसले आफ्नो परिचय थेग्छ कसरी ? अर्थात् मृत्यु भएपछिको लास पल्टिएजसरी डङ्रङ्ग पल्टिएको छ यसको आकृति । आशा र भरोसाको केन्द्र बनाइएको संविधानसभाले परिणामहीन मृत्यवरण गरेपछि चार वर्षका पट्यार लाग्दा प्रतीक्षाहरू एकैपटक अवसान भएका छन् । रचना हुँदै छ अर्काे कमजोर कथाको र दारुण देहको ।
६० वर्षको सपनापछि इतिहासले पनि परिवर्तनको मोड पार गर्‍यो र संविधानसभाले चार वर्षको आयु पनि गुजार्‍यो । यस परिवर्तनको प्रक्रियाको दृश्यपटमा कस्ता रंग, रेखा, रूप, आकार लीन भए ? नवीन इतिहास निर्माणका लागि बलेको आगो किन निभ्यो ? के आगोको मूच्र्छना र संविधानसभा विलयनको आविष्कारभित्र देश वाचाल हुन्छ ?

राजनीतिका अरू पनि थुप्रै प्रयोगहरू भए । हरेक प्रयोगको योग अहिलेसम्म नयाँ प्रयोग र फेरि नयाँ प्रयोग मात्रै हुँदै आएको छ । एकैछिन मात्र ‘ठन्डा दिमाग’ लिएर सोच्ने हो भने पनि प्रयोगको अभ्यासमा आजको नेपाली पुस्तालाई सौभाग्यशाली नै मान्नुपर्ने हुन्छ । जस्तो आज बाँचिरहेको मानिसले राणा शासनको हावाहुरी बेहोर्‍यो, त्यसलगत्तै आयो बहुदल अनि राजाको शासन, फेरि बहुदल, फेरि राजाको प्रत्यक्ष शासन र गणतन्त्र । एउटै व्यवस्था भोग्न कुर्नुपर्ने शताब्दी लामो समय आजको नेपाली पुस्ताले कुर्नुपरेन या संविधानसभाको अवसानपछि धर्तीमा जीवित भएर उभिँदा राजनीतिक उथलपुथल भोगाइको हिसाबले हाम्रो उमेर चार सय वर्ष भएको छ । प्रयोगको हिसाबले म दीपक सापकोटा नै तीन सय वर्षको भइसकेछु ।
मलाई अहिले लागिरहेको छ, इतिहास र समय एक अर्कामा विलय भए पनि यो संयोजन समवर्ती मौन हुँदो रहेछ । होइन भने, कुनै समयमा महान् भनिएको त्यो संविधानसभा अब इतिहासको गर्तमा काम नलाग्ने भएर थन्किएको छ । समय उही पदचिह्नमा चक्रवत हिँड्न सक्दैन र यसका मौलिक पहिचानहरू हुन्छन् अथवा मरेको संविधानसभा अब उही स्वरूपमा जन्मन सक्दैन । अब बन्यो भने पनि नयाँ संविधानसभाको अर्कै पहिचान हुन्छ ।
बुद्धिको दुरुपयोग गरेर ‘ठूला’ बनेका बौद्धिकहरू, विचारको किनबेच गर्ने कथित राजनीतिकर्मी, शक्तिका दासभाटहरू र नपुंसकता छोप्नेहरूले नै मृत बनाए संविधानसभा– चिया गफ र माइक्रोमा यस्तै हल्ला व्याप्त छन् ।

हो त, यो देशको भूगोल च्यापिएकै हो । नेताहरूको ‘सपना’ को च्यापोमा संविधानसभा पनि च्यापियो । सायद, फेरि सास फेर्न सक्दैन । संविधानसभा खेर फाल्ने आफ्ना सत्ता आकांक्षा पूर्ति गर्ने दुईतिहाइ थान सभासद्हरू उत्पादन गर्ने र्‍यालमा अनायास संविधानसभाको हत्या भएको छ । ‘जनता’ आफ्नो पोल्टामा सत्ताका सबै साधन जम्मा गर्ने द्रव्य बनाइएका छन् । त्यसैले हिजो जनताको नाम लिएर भनियो, ‘संविधानसभा बनेपछि देश सुनौलो हुनेछ, जीवन सुनौलो हुनेछ र सपनाबाट नब्युँभिँmदै एउटा कुनामा भाले बास्नेछ अनि अर्काे कुनामा पोथीले पनि सुनको अन्डा पार्नेछे । यस्तै अमूर्त सपनाको खेतीले संविधानसभाले दिनै नसक्ने सपनाहरू पनि देखायो र आज झन् सपना देखाइएको छ जातीय राज्यहरूको ।
यस्तै–यस्तै असम्भव र असामयिक सपनाहरूले इतिहासको कठिन गर्तबाट जन्माइएका उपलब्धिहरूलाई पनि क्षणभरमै खरानी बनाएका छन् । नेता अझ त्यसमा पनि सबैभन्दा बढी सपना देखाउने माओवादीका सबैभन्दा ठूला नेताले देखाएका सपनाहरूले जनताको रगतको मूल्य समाप्त भएको छ । (केही अझै भन्दै छन् जातीय पहिचानसहित भनेको हो जात भनेको होइन † त्यही भवनबाट निस्केर नारायणकाजी भन्छन् : जात पहिचान होइन, जातीय पहिचान हो । के जातबाटै जातीयता आएको होइन ?)

संविधानसभामा सभासद्हरूले लघुशंका गरे मात्रै, सिद्धान्तत: संविधान उनैले बनाउनुपर्ने थियो तर शीर्षदलका शीर्ष नेताहरूले सभासद्हरूलाई लघुशंका गर्ने र सुत्ने जिम्मेवारीमै सीमित गरिदिए । संविधानसभा जन्मिएपछि कति आशा, विश्वास र हिम्मत नेपालमा जन्मियो, खै त्यो आज ? संविधान भ्रूण हुँदै हत्या गर्नुथियो भने किन जन्माइयो ? गद्दारहरूको हातमा त्यति सुन्दर कुरा परेपछि कसरी त्यसको शोभा बढोस् ? किन प्रचण्ड, बाबुराम या क, खले आफूलाई जोगाएर संविधानसभा र देशको भविष्य मारे ? त्यस्तो के कारण थियो, जसले ती मरे ? (अखबार संविधानसभाको मृत्युको समाचारबाट आफ्नो मृत्युको समाचार छोप्न खोज्छ, उसले सायद, सम्पादकीय कोलममा पनि लेख्न बिर्सन्छ, आफ्नै सपना, आफ्नो छोराछोरीको सपनाको पनि सँगै अवसान भएको ।)
संविधानसभाले देशका समस्याको चित्र पस्कने गरी कसरी संविधान बनाउन सकोस् ? संविधान बनाउने बहसमा जातीय मुद्दा र राज्य पुनर्संरचनाको विषयले प्रवेश गर्नै पाएन । संविधानमा घरजग्गाविहीन, गरिबीको चोट, भोक, शोक, रोगका विषयमा बहस हुनै पाएन । संविधानमा सहिदहरूका सपनाले प्रवेश गर्नै पाएन । तर, प्रवेश गराइयो जातजातिको राज्य बनाउने बहसलाई । के त्यो कुनै गरिब र पिछडिएको खाँटी नेपालीको सपना थियो ?
१४ गतेको रातसँगै अस्ताएको संविधानसभाले १५ गते आफ्ना अघिको कालोपत्रे सडकमा देख्यो– भयानक सन्नाटा । हिजोसम्म आफूसँग चिच्याइ–चिच्याई अनेकौँ माग गर्नेहरू आज कोही पनि थिएनन् । चार वर्षसम्म आइपुग्दा, यसले नयाँ कामका योजना, रहर र सपनाहरू सजायो होला हृदयमा । बितेका दिनमा के गर्‍यो वा गरेनको कुनै लेखाजोखा गरेन । समय बग्नु वा वर्षहरू ढल्नु संविधानसभाका लागि एउटा उत्सव जस्तै बन्यो । त्यसैले त वर्ष बितेकामा शोकगीत होइन, म्याद थपिएकोमा बडो उत्सव मनाउँथे नेताहरू । अहिले मृत्यु भएपछि त झनै एक अर्कामा दोषारोपणको उपक्रम चलेको छ ।
यदि नेताहरू सद्दे हुन्थे भने महिना र वर्षहरू ढलिरहँदा संविधानसभाको उमेर पनि सँगसँगै ढलिरहेको तीव्र अनुभव गर्नुपर्ने थियो । विगतका असफलताहरू, पूरा गर्न नसकिएका वाचाहरूले सताउनुपर्ने थियो । उनीहरू त संविधानसभाकै लागि झाँगिदै गएका ऐँजेरु बने । त्यसैले स्मृतिमा संविधानसभामा भोट दिएका, आन्दोलनमा हिँडेका केही सन्दर्भहरू मन्दगतिमा आउँछन् जान्छन् । संविधानसभाको अवसानले लोकमतमा आधारित लोकतन्त्रको खिल्ली मात्र उडाएन लोकतन्त्रको भविष्यका लागि नै अर्को खतराका संकेतहरू छोडेर गयो । यो बडो दु:खान्त फिल्मझैँ बन्न पुग्यो ।
दलहरू र यसका नेताले सुतेरै बिताएको चार वर्ष, यसका नकामी, अक्षमताहरूले हालसम्म सबै दिनहरू निराशाजनक बन्यो । सम्भवत: नेपाली राजनीतिको इतिहासमा यो सबैभन्दा दु:खान्त हो । यसले समाजलाई आघात पुग्ने गरी थुप्रै चोट दिएको छ । नेपाली इतिहासमै यो वर्ष बडो दु:खान्त, भयावह र त्रासदीपूर्ण वर्षका रूपमा अंकित हुनेछ ।

यी घटनालाई सूचक मानेर अबको नेपाली समाजको राजनीतिको स्वरूप कस्तो हुनेछ, राजनीतिको दिशा र गतिका बारेमा थुप्रै कुरा भन्न सकिन्छ । संविधानसभा भवन रेलवे प्लेटफर्ममा बसेर चिया, कफी, चुरोट, चिसो बेच्ने दु:खी फुटपाथे व्यापारीजस्तै रहेछ । उसले कतिलाई सपना बेच्यो उसलाई गन्तीसँग मतलब छैन । ऊ यात्रीको रूप, रङ अनि रुचि र जातीय स्वादमा देखिएको परिवर्तन मात्र भन्न सक्छ । जति उत्साहका साथ संविधानसभाको चुनाव गरियो वा गठन गरियो, यसको अन्त्य बडो दु:खद् ढंगले बैठक पनि नबसिकनै भयो । चरम निराशा बढेको छ । सामाजिक मनोविज्ञानमा संविधानसभा असफल ‘फसल’ को रूपमा दर्ज भएको छ ।
सामाजिक मूल्य र राजनीतिक नैतिकताको कसीमा संविधानसभाको चार वर्ष हल्लामा गयो । त्यसको ठाउँ लिए रिसोर्टहरूले, व्यापारीका सुसज्जित बैठक कक्षहरूले, नयाँबजार र बालुवाटारले । यो अनाथ भयो । यसमा आउन वैधानिकता पाएकाहरूले बाबुरामको बालुवाटारे पत्रकार सम्मेलनको चितामा मध्यरातमा आफूलाई होमे । अघिल्लो दिन भवन परिसरमा नेताहरूविरुद्ध कुर्लने सभासद्हरू त्यसपछि लासझैँ नबोल्ने भए, केही नेताको चिताको आगोमा ६ सय एकजना सतीको देह र आत्मा खाक भयो । म त्यसै भवनछेउको चोकमा बसेर शोकधुन सुनिरहेको छु । प्रचण्ड र बाबुराम शोकधुनमा नाचिरहेका छन् । दृश्य बडो विस्मयकारी छ ।

प्रतिक्रिया