अनन्त–भर्चुअल विश्वबाट आएको मानिस


सृष्टिकर्मबाट ईश्वरलाई कुनै विशेष उपलब्धि होला जस्तो लाग्दैन । तर, उनलाई यसबाट अपार आत्मसन्तुष्टि मिल्छ होला । ईश्वरले सधैँ परहितकारी कार्य गर्दछ । म पनि त्यस्तै परहितकारी कर्म सम्पादन गर्न साहित्य सिर्जनामा समर्पित भएको हुँ भन्ने ठान्दछु । हृदयमा सधैँ एउटा आवाज सुनिन्छ । मेरो साहित्यतिरको यात्रा यही आवाजलाई मैले दिएको प्रत्युत्तर हो । साहित्यमा पनि मैले अनायास आख्यान रोजेँ । मुगलान (२०३१) ले भनेको थियो— म आख्यानमै जीवन अर्पित गर्न चाहन्छु । तर, यस्तो चाहना भावुकता ज्यादा रहेछ किनभने प्रत्येक पल त्यो इच्छालाई ताजा र सचेत राखिरहेँ तर मैले लेख्न सकिनछु । चार दशक बितेपछि फर्केर हेर्दा जम्मा चारवटा आख्यान रच्न सकेछु । दशकको एउटाका दरले । दशकभरि मैले आख्यान लेखिरहिनँ त्यसो भए के गरी यो समय नाश गरेँ त भन्ने पनि लाग्छ तर त्यसको कुनै उत्तर छैन । क्यानडा पुगेका भारतीय आप्रवासीहरू प्रत्येक वर्ष स्वदेश फर्किने आकांक्षा राख्तथे । तर, कहिल्यै त्यो दिन आउने नदेखेपछि सुरजित काल्सीले लेखिन्—
हामी यायावर पक्षी हौँ,
पक्कै पनि यस ऋतुमा घरतिर
उडौँला भन्दै यहाँ पुगेका छौँ ।
कुनै अदृश्य पिँजडाले हामीलाई यहाँ थुनेको छ…
बस, हाम्रा आकांक्षाहरू पनि उड्दै जाँदा कहिले कहाँ थुनिए, कहिले कुनै जालमा पसे, फर्किने ऋतुहरू त्यसरी बिते । मेरो लेखकलाई त्यस्तो बोध हुन्छ, खासगरी आख्यान लेखकलाई । यी चार दशकमा लेखिएका निबन्ध, गरिएका समालोचना अनुवाद, भाषाविज्ञान, क्लासनोट भन्दै बितेका हुन् । आज सम्झिन्छु, तिनैले मेरा आख्यानमार्ग थुनेछन्, आख्यान यात्रालाई विलम्ब गराइदिएछन् ।
त्यसो भए पनि मनमा एउटा सदाको अतृप्त आकांक्षा उठेर यो सुकरातको डायरी लेखेँ । त्यति सहज उत्तर त छैन किनभने आकांक्षाले मात्र पनि लेखाउँदैन । लेखाउने अरू शक्ति छन्— सर्वप्रथम त मनमा म अत्यन्तै सहजतापूर्वक आख्यान लेख्न सक्छु भन्ने थियो । सक्छु पनि, थालेपछि निरन्तर एक आख्यानमा वर्षाैं चढाउन सक्छु । युद्ध र द्वन्द्वले देशलाई निलेको समयमा पाँच वर्ष मैले सुकरातको पाइला चढाएँ । २०६२ मा त्यो लेखिसकेँ । एउटा बर्बर समयलाई उच्च कलाको आवरणमा देखाउने क्षमता ममा रहेछ भन्ने भयो । वास्तवमा सिर्जना गराउने प्रबल शक्ति ता आत्मविश्वास नै हो । त्यसलाई अध्ययन र कलाजगत्भित्र प्रवेश गर्ने चाहनाले बलियो पार्दछ । विश्वविद्यालयको प्राध्यापनले पनि मलाई यो जगत्को बाटो हिँड्न सजिलो बनाइदियो ।
सुकरातको पाइलालाई कुन कलाले टुंग्यायो, म भन्न सक्तिनँ । त्यहाँ पुगेर अनिर्णित अवस्थामा छुटेको अनन्त सम्झिन्छु । रातोदिन त्यो मनमा आउँछ । मन अशान्त भइरहन्छ । त्यो खेल पूरा भएको थिएनझैँ लाग्छ । अनेक प्रतिक्रिया, प्रशंसा र प्रतिरोध आए— अनन्तलाई किन आत्महत्यामा तत्पर गराइस् भन्ने । त्यसो गर्ने म थिइनँ, जनयुद्ध थियो, टाढैबाट देखिने निराशाको बादल थियो । मैले अनन्तलाई आत्महत्यामा पुर्‍याएको थिइनँ, त्यस्तो लागेको मात्र हो, म सदा जीवनवादी छु तर कतिले त्यसको आरोप गर्दा म खिन्न पनि भएँ । सम्झँे त्यो केवल कल्पना थियो, एक खेल थियो, साँच्चै त थिएन, जस्तो–जस्तो मात्र थियो, किन पत्याउँछौ भनी सोधेँ तर पनि उनीहरूले साँच्चै ठानिदिए र मन शान्त भएन ।
त्यसैले सुकरातको पाइला प्रकाशित भइसकेपछि मेरो मनले खालि अनन्तलाई खोजिरह्यो । त्यो काल्पनिक अनन्तलाई कसरी जोड्ने ?
अचानक मलाई स्फुरण भयो— भ्रान्ति बाँकी छन्, स्वप्न छ, कला छ, त्योभन्दा ठूलो त भर्चुअल जगत् छ— परोक्ष यथार्थता । वर्तमान विश्वलाई त्यसैले निलेको छ । नेपाली सिर्जनामा यो भर्चुअल कलाको प्रयोग कसरी गरौँ भन्ने अठोट गरेँ र म सुकरातको डायरी लेख्न थालेँ । वास्तवमा अनन्तलाई ब्युँझाउनु मात्र मलाई गारो थियो । त्यो सहजतापूर्वक सम्पन्न गरेँ । अरू कला, अरू प्लट, क्यारेक्टर, सेटिङ मसँगै थिए, त्यस्ता कुरा सधैँ सँगै छन् । कस्तो उपन्यासको आकृतिमा यी कुरा पोखौँ भन्ने मलाई लागिरहेकै थियो । अनन्तलाई भर्चुअल विश्वबाट खोजेर यहाँ उपस्थित गराएपछि मलाई अत्यन्तै सजिलो भयो र म अघि बढेँ ।
अन्य प्रकारका दैनिकी त यथावत् हुन्छन् तर प्रत्येक रात डायरी पल्टाउँछु र अलिकति थप्छु । मनमा प्लट, क्यारेक्टर, थिम आदिको स्पष्ट रेखांकन नहुँदै लेखनयात्रा सुरु हुन्छ । वारपार नदेखिने चारकोसे झाडीको एक छेउबाट यात्रा सुरु गरेजस्तै हो । म हिँड्न सक्छु भन्ने अठोट छ, पारि छिचोल्छु भन्ने पनि छ तर पारि नपुगेसम्म कुन बाटो आएँ भन्न मुस्किल हुन्छ लेखन त्यस्तै हो ।
म प्रत्येक रात बस्छु अनन्तको खोजीमा । सुकरात निस्किएपछि मलाई सजिलो भयो । त्यो भर्चुअल वार्ताले झन् सजिलो भयो । अनन्तको आख्यान रच्ने इच्छा र उत्सुकताले मेरो उपन्यास तानेको तान्यै अन्त्यमा पुर्‍यायो । बीचमा सयौँ टेक्निक छन््, सयौँ प्रस्तुति छन् । ती स्वतन्त्रजस्ता देखिए पनि अनन्त सुकरात र नीलिमाकै मनोजगत्का वार्ता र विम्ब हुन् । यो कल्पनाकर्मको निष्पादन हो । तर, यी कथा उपकथाले प्रत्येक पात्रलाई कुनै न कुनै अर्थपूर्ण भूमिकाको भारी बोक्न लगाएँ— जीवन दर्शनको, आख्यान कलाको, विश्वआख्यान र नेपाली प्रयत्नको । ती कुराहरू आख्यान पूरा गराउने ‘फिलर’ होइनन्, अत्यन्तै गम्भीर उद्देश्यले, अनिवार्य युक्ति बनेर आएका छन् ।
मेरो लेखनको क्षण रात्रि हो । सुनसानमा, एकान्तमा निस्पट्ट भइसकेपछि, एक्लै कुनै टाढाको ध्वनि बाँकी होला, जंगलनजिक निषाचर कराउलान् तर यो शान्ति आवश्यक छ । मेरो वास्तविक लेखन पनि बताउँछु— म अझै कम्प्युटर–फ्रेन्डली भएको छैन । अंग्रेजी त सिधै हान्छु तर देवनागरीमा सिर्जना लेख्ने बेलामा त्यो पर्दाले छेक्छ कि जस्तो मनोविज्ञान छ । मस्तिष्क र डायरीको सिधा सम्पर्क होस् अथवा कलम, रोजेको मसी, ठूला धर्के उत्कृष्ट कागज र मेरा बीचमा अरू कोही नउभियोस् जस्तो लाग्छ ।
मितिबाट लेखेर प्रत्येक दिन एक दुई प्यारा लेख्तै फेरि देहोर्‍याउँछु कुनै खड्कियो भने त्यहाँ रातो मसीले तारा दिएर लेख्छु । अझ सुकरातको डायरीमा त विज्ञानका विद्यार्थीले प्राक्टिकल गरेर रिपोर्ट लेख्नेजस्ता ठूला चिल्ला सिटहरू क्लिपबोर्डमा च्यापेर लेख्तै भरिएपछि फाइलिङ गर्दै गरँे । लेखेको लेख्यै एकैचोटि पल्लाछेउ पुग्न सकिँदैन । कति बिर्सिन्छ, कति लेखौँ लागेको कुरा छुटेको हुन्छ, दोहोर्‍याएर पढ्दा बल्ल— ए यो थप्न पाए, यो हटाउन पाए भनेजस्तो हुन्छ । यसरी पहिलो लेखन बिस्तारै क्रमिक रूपले गर्छु । कति ठाउँले अध्ययन खोज्छ । त्यहाँ पुगेपछि फेरि कति दिन रोकिन्छ । कुन कृति कति पढेपछि बल्ल बाटो खुल्छ । सरासर लेख्ने सार्ने जस्तो मात्र कुरा भए त रातको एकै पृष्ठ लेखे पनि वर्ष दिनमा एउटा उपयुक्त आकारको आख्यान बन्दो हो तर सिर्जना त्यस्तो होइन । त्यसलाई आवश्यक पर्ने पौष्टिक र उर्बरले मस्तिष्कलाई बेलाबेलै सुदृढ गराएपछि मात्रै लेख्ने कुरा आउँछन् यसको इम्युन सिस्टम पनि दह्रो बनाउनु पर्छ । बेलाबेलै दुरुत्साहकहरूले पनि झम्टिरहन्छन् ।
आफ्ना हितैषीलाई बेलाबेलै अलिकति सुनाएर केही प्रशंसा सुनौँ जस्तो लाग्छ, केही टिप्पणी र सल्लाह पनि सुनिदियो भने ती खुसी हुन्छन् । यसरी मस्तिष्कको तयारी र भावनात्मक तत्परताले धेरै समय खान्छ, साथै उपयुक्त वातावरण निर्माणमा पनि कत्रो लगानी र ध्यान आवश्यक पर्छ । कति सम्मेलन हुन्छन्, कति टाढाका यात्रा, कति आफन्तको आगमन र अस्पताल, अरू दैनिकीका अकाटय, अदृश्य सञ्जाल— कलमकापी समातेर साँच्चै लेख्ने क्षणहरू जोड्दा त कति थोरै लाग्ला तर यो मन सदा भारी, सदा तत्पर, सदा कौतूहलपूर्ण, सदा उत्सुक, सदा एक जिम्मेवारीले थिचिरहेको बोझिलो हुन्छ । धेरै खुलेर हाँस्न पनि नसकिने जस्तो किनभने कहिले त सपनामा पनि यो मन आख्यान लेखिरहेको हुन्छ । चौबीसै घन्टा कर्मले होस् वा भावनाले निरन्तर लेखिरहन कहाँ सकिन्छ र † फेरि मेरा लागि त एकपल्ट कापी कलममा लेखिसक्नु भनेको चालीस प्रतिशत मात्र पूरा भएको हुन्छ । टाइप गरेपछि बाँकी ६० प्रतिशत काम सुरु हुन्छ ।
पढ्दै हेर्दै, मिलाउँदै, काट्तै, थप्तै सच्याउँदै शब्दकला (वर्ड क्राफ्ट) त्यसपछि आरम्भ हुन्छ । एउटा आख्यानको फिनिसिङ कम्तीमा एक वर्ष लाग्छ । सुकरातको डायरी १८ पल्ट पुन: भ्रमण गरेछु । मलाई किनकिन यो कामलाई मोर पस्र्पिरेसन दयान इन्स्पिरेसन जस्तो लाग्छ अर्थात् अन्तरप्रेरणा कम्ती र पसिना कढाइ ज्यादा भएको हो कि ? कहिले ता हाँस पनि उठ्छ ।

प्रतिक्रिया