सुर्ती उत्पादकलाई विकल्प खोज्न मन्त्रीले सुझाए

काठमाडौं, १९ जेठ । स्वास्थ्य तथा जनसंख्यामन्त्री राजेन्द्र महतोले सुर्तीजन्य पदार्थ उत्पादन गर्ने सम्पूर्ण उद्योग बन्द गर्नुपर्ने भन्दै विकल्प खोज्न व्यवसायीलाई सुझाएका छन् । विश्व धूमपानरहति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री महतोले नसर्ने रोगहरूको घरका रूपमा रहेका सुर्ती तथा चुरोटलाई उत्पादनमै रोक लगाउनुपर्ने बताएका हुन् ।
‘सुर्ती उत्पादक कम्पनीलाई पूर्णरूपमा बन्द नै गर्नुपर्छ,’ मन्त्री महतोले भने, ‘क्यान्सर र मुटुरोगका प्रमुख कारक रहेका यी उत्पादनलाई बन्द गरेमात्र हामीले स्वास्थ्य सुधार्न सक्छौँ ।’
यी उद्योगबाहेक अन्य थुप्रै क्षेत्रमा व्यापार गर्न सकिने भन्दै महतोले चुरोट तथा सुर्ती उत्पादकले विकल्प खोज्नुपर्ने बताए । ‘व्यापार त धेरै थरीको गर्न सकिन्छ,’ उनले भने ‘त्यसकारण मानिसको ज्यानै लिने यस्ता उद्योग बन्द गरी अन्य उद्योग खोल्नु राम्रो हुनेछ ।’
सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न एक वर्षअघि नै ऐन ल्याइएको भए पनि कार्यान्वयन हुन नसक्नुमा सुर्ती उत्पादक कम्पनीको हस्तक्षेप रहेको उनको भनाइ थियो । ‘ऐन कार्यान्वयनमा ल्याउन नियमावलीलगायत सबै व्यवस्था पनि भएको छ,’ उनले भने, ‘तर, उत्पादकहरूको पटकपटकको मुद्दा तथा अन्य हस्तक्षेपले ऐन निष्प्रभावी भएको छ ।’
कार्यक्रममा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनमा राम्रो कार्य गरेको भन्दै विश्व स्वास्थ्य संगठनले स्वास्थ्य सचिव डा. प्रवीण मिश्रलाई ‘डब्लुएचओ वल्र्ड नो टोबाको डे अवार्ड २०१२’ प्रदान गरेको छ । संगठनका नेपाल प्रतिनिधि डा. लिङ अङले सचिव मिश्रलाई अवार्ड प्रदान गरेका हुन् ।
यसैबीच, मन्त्रालयले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि ल्याएको ऐनको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन कार्य थालेको छ । मन्त्रालयले सहायक सिडिओको सहयोगमा बिहीबार वीर अस्पताल आसपासमा अनुगमन गरेको थियो ।
ऐनले स्वास्थ्य संस्थाको सय मिटर वरिपरि सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने व्यवस्था गरेको छ । अनुगमनका क्रममा अस्पतालपेटीमै व्यापारीहरूले खुलमखुला सुर्तीजन्य पदार्थ बिक्रीवितरण गरिरहेको पाइएको छ । मन्त्रालयका कानुन उपसचिव कोमलप्रसाद आचार्यले पहिलोपटकलाई भन्दै सबै व्यापारीलाई अस्पतालको सय मिटर वरिपरि सुर्तीजन्य पदार्थ बिक्री नगर्न सचेत गराएको बताए ।

प्रतिक्रिया