सुडान प्रकरणको पुनरावेदन सर्वोच्चमा

काठमाडौ : सुडान भ्रष्टाचार प्रकरणमा विशेष अदालतले पर्याप्त आधार र प्रमाणको मूल्यांकन नै नगरी फैसला गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएको छ ।
सुडानमा खटिएको नेपाल प्रहरीलाई बन्दोबस्तीका सामान खरिद गर्दा अनियमितता गरेको भन्दै २३ जेठ ०६८ मा अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा चलाएको थियो । उक्त मुद्दामा विशेषले दुई ठेकेदार र तीन पूर्वप्रहरी महानिरीक्षकलाई मात्र भ्रष्टाचारी ठहर गरी ३१ जनालाई सफाइ दिएको थियो ।
विशेषले तीन पूर्वप्रहरी महानिरीक्षकहरू ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी र बेलायती ठेकेदार माइकल राइडर तथा उनका नेपाली बिचौलिया ठेकेदार शम्भु भारतीलाई मात्र भ्रष्टाचारी ठहर गरेको थियो ।
विशेषले मुद्दा दर्ता गर्दा पेस गरिएका प्रमाणको मूल्यांकन नगरी फैसला गरेको भन्दै अख्तियारले पुनरावेदनको मुद्दा दर्ता गरेको हो । मुद्दामा बेलायती ठेकेदार माइकल राइडरदेखि ३५ जनालाई नै विपक्षी बनाइएको सर्वाेच्चका प्रवक्ता श्रीकान्त पौडेलले बताए । यसअघि विशेषले सबै अभियोगीको बयान, थुनछेक बहस गर्दै फैसला गरेको थियो । राइडर भने बयानका लागि अदालतमा उपस्थित भएका थिएनन् । फैसलामा उनलाई मुख्य आरोपी बनाइएको थियो ।
फैसलाले मुद्दाका पक्षसँग जोडिएका कांग्रेस नेत्री सुजाता कोइरालाका छोरी–ज्वाइँ रुबेल चौधरी र केही नेतालाई मुद्दा नचलाएको उल्लेख गरेको थियो । यसलाई अख्तियारले अधिकारमाथिको अंकुशका रूपमा उल्लेख गर्दै मुद्दामा भनिएको छ, ‘अदालतबाट अंकुश लाग्ने प्रकृतिको आदेश भएको छ ।’ (सौस)

प्रतिक्रिया