इलाममा पन्ध्र व्यापारी लुटिए

इलाम जेठ १८ । इलामको बाँझोस्थित लारुम्बाको बुधबारे हटियाबाट दानाबारी फर्किदै गरेका १५ व्यापारी लुटिएका छन् । हाट भरेर आउँदै गरेका उनीहरुलाई बाँझोको लारुम्बा र महमाईको सीमामा पर्ने डढी भन्ने स्थानमा बुधबार राति लुटिएका हुन् ।
मे १ त २१०८ नम्बरको ट्याक्टरमा चढेर आउँदै गरेका उनीहरुलाई राति ११ बजेतिर १०÷१२ जनाको अज्ञात समूहले लुटपाट गरेको सशस्त्र प्रहरी वेस क्याम्प दानाबारीले जनाएको छ ।
लुटेराको समूहले नक्कली पेस्तोल देखाउँदै व्यापारीहरुबाट नगद दुई लाख, आठ थान मोवाइल सेट, व्यापारी प्रकाश दाहालको चालक अनुमतिपत्र, तीन महिलाको विभिन्न गरगहना लुटेको सशस्त्र प्रहरीका निरीक्षक सुदनराज गिरीले जानकारी दिए ।
लुटिएका प्रकाश दाहालले लुटेराले व्यापारीको हत्या गर्ने धम्की दिदैं आफूलाई मुक्त गरेको बताएका छन् ।
लुटिएका व्यापारीहरुमा दानाबारी–१ का खगेन्द्र राई, पवन सुब्बा, प्रकाश श्रेष्ठ र दानावारी–३ का कृष्ण घिमिरे, प्रकाश दाहाल, सीता राई, सावित्रा ढकाल, वुद्ध सुब्बा, गोपाल गड्तौला, जीवन मगर, वेलु सुब्बा, चन्द्र सुब्बा, मिलन राई, उमेश राई र अम्विका दाहाल रहेका छन् ।
अहिले लुटेराको समूहलाई सशस्त्र प्रहरी वेस क्याम्प दानाबारी, महमाई प्रहरी चौकी र बाँझोको चिसोपानी प्रहरी चौकीको गस्ती टोलीले तीब्र खोजी गरिरहेको सशस्त्र प्रहरीका निरीक्षक गिरीले बताएका छन् ।

प्रतिक्रिया