युएईसँगको हवाई सम्झौता वार्ता रोकियो

काठमाडौं, १८ जेठ । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच गत महिनाका लागि तय भएको हवाई सम्झौता पुनरावलोकनसम्बन्धी वार्ता रोकिएको छ । मन्त्रिपरिषद्ले अनुमति नदिएका कारण वार्ता हुन नसकेको हो ।

मुख्यसचिव माधवप्रसाद घिमिरेले फाइल सदर नगर्दा वार्ता हुन नसकेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले बताएको छ । मन्त्रालयले दुई महिनाअघि वार्ताको अनुमतिका लागि मुख्यसचिव समक्ष फाइल पुर्‍याएको थियो । ‘मुख्यसचिवले हस्ताक्षर नगर्दा वार्ता हुन सकेन,’ मन्त्रालयका एक अधिकारीले भने । सम्झौता पुनरावलोकनका लागि वार्ता गर्न मन्त्रिपरिषद्बाट स्वीकृति दिनुपर्छ । यसका लागि मन्त्रालयले मुख्यसचिवमार्फत् मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको थियो ।
स्रोतका अनुसार नेपाल वायुसेवा निगम तथा केही निजी विमान कम्पनीले वार्ता हुन नदिन ‘लविङ’ गरेका थिए । उनीहरूकै आग्रहमा मुख्यसचिव घिमिरेले फाइल सदर नगरेको बताइएको छ । ‘वार्तामा युएईले पाँचौँ स्वतन्त्रता अधिकारको कुरा उठाउने देखेपछि रोकिएको हो,’ मन्त्रालय स्रोतले भन्यो । युएईले असीमित उडानको माग गरेका कारण पनि निगमले वार्ता रोक्न खोजेको बताइन्छ ।
वार्ताका क्रममा विवादास्पद विषय नउठाउने सर्त नेपाली पक्षको थियो । युएईसँग पाँचाँै स्वतन्त्रता अधिकारको विषय विवादास्पद छ । युएईको सारजहाँबाट काठमाडौंका लागि दैनिक दुई उडान गरिरहेको त्यहाँको राष्ट्रिय वायुसेवा कम्पनी एयर अरेबियाले काठमाडौं क्वालालम्पुर दुईतर्फी उडानको माग गरेको थियो । दुई देशबीचको हवाई सम्झौताअनुसार नेपालले यो अनुमति दिए पनि पछि रोकिएको थियो । यससम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पनि विचाराधीन छ ।
युएईले नेपालमा असीमित उडान गर्न पाउनुपर्ने भन्दै नेपाल सरकारलाई हवाई सेवासम्झौता पुनरावलोकन गर्न प्रस्ताव पठाएको थियो । ‘युएईको आग्रहमा गत महिना वार्ता हुने निश्चित भएको थियो तर विभिन्न कारणले हुन सकेन ।’ पर्यटन मन्त्रालयका सहसचिव सुरेश आर्चायले भने । आचार्यका अनुसार युएईले प्रतिसाता कम्तीमा ५६ वटा उडान गर्न पाउनु पर्ने माग गरेको छ । हाल युएईका चारवटा विमान सेवा कम्पनीले सातामा ३८ वटा उडान काठमाडौंमा गरिरहेका छन् । युएईको एयर अरेबिया र फ्लाई दुबईले सातामा १४/१४ वटा उडान गर्छन् भने इत्तिहादले सात र र्‍याक एयरवेजले तीन गरी प्रत्येक साता ३८ वटा उडान युएई काठमाडांै भइरहेको छ ।
युएईअन्तर्गत आबुधाबी, दुबई, अजमान, सारजहाँलगायत सातवटा इमिरेट्स पर्दछन् । सबै क्षेत्रबाट नेपाल उडान गर्न सम्झौता अपर्याप्त भएकाले युएईले असीमित उडानको माग गरेको हो । दुई देशबीच पहिलोपल्ट सन् १९९९ मा हवाई सेवा सम्झौता भएको थियो । सन् २००७ मा हवाई सेवासम्बन्धी केही बाधाअवरोध फुकाउन सम्झौता पुनरावलोकन गरिए पनि दीर्घकालीन समस्या समाधानका लागि सो सम्झौता पूर्ण नभएको युएईले बताउँदै आएको थियो ।
युएईसँग सम्झौता पुनरावलोकन हुन नसकेपछि ‘पाइप लाइन’ मा रहेका साउदी अरेबिया, भुटान, पाकिस्तान, अमेरिका र अस्ट्ेरलियाको सम्झौतासमेत ओझेलमा परेको छ । मन्त्रालयका अनुसार सबै मुलुकले हवाई सम्झौता पुनरावलोकनका लागि बारम्बार निवेदन तथा फोन सम्पर्क गरिरहेका छन् ।
नेपालले हालसम्म ३६ वटा मुलुकसँग हवाई सेवा सम्झौता गरिसकेको छ । यसमध्ये भारत, चीन, भुटान, कतार, बहराइन, पाकिस्तान, बंगलादेश, हङकङ, सिंगापुर, डामन, ओमान, मलेसिया, साउथ कोरियालगायतका १६ मुलुकका वायुसेवा कम्पनीले अहिले नेपालमा उडान गरिरहेका छन् ।

प्रतिक्रिया