एलए र नोबेल एकेडेमी सेमिफाइनलमा

काठमाडौं, १८ जेठ । लिटिल एन्जल्स (एलए) र नोबेल एकेडेमी प्रथम ओलम्पिया अन्तरविद्यालय यु–१४ छात्र नकआउट फुटबल प्रतियोगिताको बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । जावलाखेल मैदानमा भएको पहिलो खेलमा एलएले रोजबर्डमाथि ७–१ को सहज जित निकाल्यो । एलएको जितमा दीपेन राणा र अनुज व्यञ्जनकारले हयाट्रिक गरे । थप १ गोल सनिश श्रेष्ठको नाममा रहयो । रोजबर्डका सम्राट मानन्धरले १ गोल फर्काए ।
बबरमहलस्थित ओलम्पिया वल्र्ड स्कुलद्वारा आयोजित प्रतियोगिताको अर्को खेलमा नोबेलले त्रियोगलाई पेनाल्टी सुटआउटमा ३–२ ले पाखा लगायो । निर्धारित ६० मिनेटको खेल २–२ को बराबरीमा टुंगिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट गरिएको थियो । उक्त दुई खेलसँगै सेमिफाइनल समीकरण पूरा भएको छ ।
दुवै सेमिफाइनल बिहीबार हुँदै छन् । पहिलो सेमिफाइनलमा एलआरआईले नोबेलसँग खेल्नेछ भने दोस्रोमा एलएले सैनिक आवासीय महाविद्यालयको सामना गर्नेछ ।

प्रतिक्रिया