जसले बिपीलाई बचाइराखे


महापुरुषका व्यक्तित्वको आभाले सम्बन्धित युगको नै चिनारी दिन्छ । र, स्थापित हुन्छ नयाँ युग । अनि तीनै महापुरुषको आभा लिएर बाँकी समय उज्यालो बनाउने दौडमा केही मानिस मरिहत्ते गरेर लाग्छन् । जसरी भिक्षु आनन्दले बुद्ध बोकेर हिँडे । प्लेटोले सुकरात बोकेर हिँडे । लाग्छ, सुन्दरीजलका परशुराम पोखरेल पनि बिपी कोइराला बोकेर समयको दौडमा समाहित भएका छन् ।
काठमाडौंले सहर बोकेको छ । अर्थात्, सहर काठमाडौंसँगै छ । तैपनि सबै काठमाडौंसँग सहर छैन । काठमाडौंमै रहेको सुन्दरीजल पनि एउटा उदाहरण हुन सक्ला त्यसको । अझ १८ सालतिर त सुन्दरीजलसँग गाउँ हुनका लागि चाहिने सबै योग्यता थियो । त्यही सालको भदौ १५ गते जन्मिए, परशुराम बस्नेत, उही सुन्दरीजल ग्राममा । राजाले ‘कु’ गरेको एक वर्ष हुँदै थियो । नेपाली राजनीतिका प्रभावशाली पात्र बिपी कोइरालालाई उही सुन्दरीजल ग्राममा पुर्‍याइयो । एउटा राजबन्दीका रूपमा । एउटा जेलमा ।
जेलमा पर्खाल थियो । आर्मी थिए । हतियार थिए । देशमा राजनीतिका नवीन तरंगहरू उचाल्ने तीन व्यक्तित्वलाई निस्तेज बनाउने दुरुह जिम्मेवारी सुम्पिइएको थियो त्यो जेललाई । आसपासमा केटाकेटी खेल्थे । मडारिन्थे । रमाउँथे । उनीहरूलाई जेलभित्रको कुरा थाहा हुने कुरा पनि थिएन । र, थाहा भएन पनि । तिनै केटाकेटीमध्ये पर्थे परशुराम पनि । जो अहिले बिपी स्मृति संग्रहालयका अध्यक्ष छन् । जो बिपीलाई खुब माया गर्छन्, आदर गर्छन् । बिपीलाई ३३ सालमा फेरि त्यही जेलमा छिराउँदा वरिपरिको माटोमा धुलो खेलेका परशुराम अलि बुझ्ने भइसकेका थिए । पिताजी होमनाथबाट पनि केही कुरा थाहा पाएका थिए । त्यतिखेर उनलाई आफ्नो गाउँमा देशका महापुरुष बन्दी बनेको लाग्यो । जनता र राष्ट्रका लागि लडिरहेका योद्धालाई उनले पनि भिड छिचोल्दै पहिलोचोटि देखे । मनमा बिपीमोह झनै झांगिन थाल्यो ।
जति समय बित्यो, राजनीति उत्ति चर्कियो । बिपी जेलमा आए, गए । बहुदलीय प्रजातन्त्रलाई देख्न नपाउँदै बिपीले धर्ती छाडे । बहुदल आयो । गणतन्त्र आयो । यी सबैको साक्षी बनिरहे परशुराम । सुन्दरीजल जेलमा बसेरै ‘विश्वेश्वरप्रसाद’ बनेका थिए बिपी, नेपाली साहित्यमा हलचल ल्याए । जीवनका महत्त्वपूर्ण पाटा त्यहीँ बिताए । उनी जेलमुक्त भइसकेपछि त्यो भूमि आर्मीको कब्जामा रह्यो । प्रजातन्त्र आयो । व्यवस्था फेरियो । मरणोपरान्त बिपीले चाहेको व्यवस्था पनि आयो । तैपनि त्यो भूमि आर्मीकै कब्जामा निसासिइरह्यो धेरै दिनसम्म, एउटा टीठलाग्दो खण्डहर बनेर । यो यथार्थ बिझिरहन्थ्यो, नजिकैका परशुरामलाई । बिपीले शीतल ताप्ने कपुरको रूखमा वसन्तमा पनि कुनै हरियाली देख्दैनथे । अनि उनको सपनायात्रा सुरु भयो– एउटा महापुरुष संग्रहालयको । उनको सपनालाई धेरैले पागलपनको संज्ञा पनि दिएछन् । उनले तत्कालीन शाही कालमा आर्मीको पिटाइ पनि सहन परेछ, आफ्नै गाउँमा । आर्मीको कब्जाबाट जेललाई मुक्त गराएर त्यसलाई संग्रहालय बनाउनुपर्ने उनको माग र सपना अन्तत: धेरै संघर्षका बीच सफल बन्यो एक दिन । २०६१ भदौ २४ गते, बिपीको जन्मदिवसमा ।
भदौको साँझ थियो त्यो । संग्रहालय उद्घाटनको कार्यक्रमपछि सबै बाटो लागेका रहेछन् । परशुरामलाई त्यो दिन एकप्रकारको विजय अनुभूतिजस्तो लागिरहेको थियो । घरमा खाना खाएर उनी त्यस राति संग्रहालय कुर्न जानुपर्ने स्थितिमा रहेछन् । ‘आकाश पानी पर्लाजस्तो थियो । बेलुकीको ९ बजेको रहेछ । म बिपीको कोठामा गएँ । सायद, पागलपन थियो मेरो । उनको जन्मदिनमा मैनबत्ती बालिदिऊँ जस्तो लाग्यो । बालिदिएँ ।
मेरो अगाडि उनको खाट रित्तो अवस्थामा थियो । त्यही खाटमा सुतौँजस्तो नि लाग्छ । मन कस्तो कस्तो हुँदै थियो । गणेशमानले बिपीको भूतले तर्साएको कुरा गरेका थिए । मनमा अनायास डर लाग्यो । चुरोट तानेँ । गेटमा आएँ । खेततिर कोही पानी लगाउन आएका छन् कि भनेर हेरेँ बित्थामा । वर्षाको समय थियो पानी लगाउनुपर्ने नै थिएन । झ्यालबाट हेरेँ । बाहिर आकाश एकदम कालो भएछ । कहिलेकाहीँ मिल्कने बिजुलीले परतिरका घरका जस्ताहरू देखिन्छन् । फेरि घरभित्र गएँ । मन ढक्क फुल्यो । कहिल्यै नडराउने म त्यो बेला कमजोर भएँछु । परको आर्मी क्याम्पको घडीले १२ वटा घन्टा हान्यो । बिपीलाई सुत्न दिनुपर्छ भन्ने सोचेँ र अघि बालिएको मैनबत्ती निभाएँ । बाहिर सिँढीबाट झरेँ । पाइला रोकियो । गेटसम्म जाने आँट भएन । अगाडि कालो छायाको अनुभूति भयो । म किन रोकिएँ थाहा भएन । कोही भेट्न चाहिरहेको व्यक्तिसँग साक्षात्कार गरिरहेको भान भयो । झल्याँस्स भएँ । आकाश खुलेको रहेछ’ –एउटा रोमाञ्चक अतीत सम्झिए परशुरामले ।
परशुराम यतिखेर निर्माणाधीन ‘दीर्घायु अस्पताल’को छेउमा बसेर बिपीलाई उस्तै सम्झिरहेका छन् । दिनको झन्डै ५/६ घन्टा सुन्दरीजलको संग्रहालयमै हुन्छन् उनी । नेपाली साहित्यका उत्कृष्ट कृतिहरू बिपीले त्यही कपुरको रूखमुनि बसेर लेखे । जेलको कोठामा बसेर लेखे । उनी बिपीको अस्तुअगाडि ठिंग उभिन्छन् र मरिसकेको संविधानसभा सम्झन्छन्– ‘९ सालमै संविधानसभाको कुरा उठेको थियो, बिपी हुँदै । नेपालमा एउटा ठूलो अवसरको अवसान भएको छ ।’ प्रत्येक नागरिकजस्तै उनी पनि खिन्न छन् । नेपाली कांग्रेसको महासमिति सदस्य पनि हुन् उनी । प्रजातन्त्रको पर्यायजस्तै रहेको कांग्रेसले चुनावमा जान डराउन नहुने तर्क गर्छन् उनी । त्यसैले उनी आफ्ना नेताहरूलाई चुनावमा जान सुझाब दिन्छन् । नेपालमा उनले सत्ताकेन्द्रित राजनीति धेरै हेरे । त्याग र समर्पणको राजनीति हराएजस्तै देख्छन् । उनी अरूलाई बिपीको समग्र व्यक्तित्व अध्ययन गर्न सुझाउँछन् । हातमा टुकी लिएर उज्यालो खोज्ने प्रवृत्ति उनलाई मन पर्दैन । नेपाली राजनीति यही प्रवृत्तिको सिकार भएको विश्लेषण गर्छन् ।
पेसाले स्वास्थ्यकर्मी हुन् परशुराम । वीर अस्पतालबाट सुरु भएको स्वास्थ्यसेवामा २४ वर्ष बिताइसके । यही सिलसिलामा उनले सुरुआती समयमा भारतको अल इन्डिया इन्स्टिच्युटबाट एक वर्षे रेडियोग्राफीसम्बन्धी तालिम लिए । पछि रूसको इभानोभो मेडिकल कलेजबाट एक्स रे पनि पढे । नेपाल स्वास्थ्यकर्मी संघको संस्थापक अध्यक्षसमेत रहेका यिनी हाल निम्नमध्यमवर्गीयको पहँुच हुन सक्ने अस्पताल निर्माणमा जुटिरहेका छन् ।
बिपीको समाजवाद नै नेपालको मौलिक राजनीतिक सिद्धान्त हुन सक्ने ठम्याउँछन्, सामान्य किसान परिवारका सदस्य परशुराम । यद्यपि, माक्र्सवादको पनि अध्ययन गरेका छन् रे † बिपीपछिको मनपर्ने नेताको नाम लिँदा उनी मदन भण्डारीलाई सम्झन्छन् । विश्वेश्वरको साहित्यपछि उनलाई रमेश विकल र भैरव अर्यालको साहित्य मन पर्दो रहेछ । खानपिनमा खासै सोख नराखे पनि यतिचाहिँ ढाँटेनन्– ‘मदिराप्रेमीचाहिँ हुँ है †’ एउटा निभ्न लागेको इतिहासको ज्योतिमा तेल थप्न पाएकामा गौरवान्वित हुन्छन् उनी आफैँप्रति । बिपी संग्रालय उनको सपना थियो, पूरा गररै छाडे । संग्रहालय आफैँमा बिपीको घरजत्तिकै प्यारो लाग्न सक्छ, अहिले घुम्न जाने जो कसैलाई पनि । जहाँ हेर्‍यो त्यहीँ बिपीको स्पर्श छ कि जस्तो । स्मृति–पृष्ठका धमिला अक्षरहरूमा अहिले पनि परशुराम बाल्यकालको धुलौटे सम्झना केलाउँछन् । उनको प्राथमिक पाठशालामा गुरु ज्ञान र भीमप्रसादले पैतालाले घामको छाया नापेर समय पहिचान गर्दै गर्दा बिपी आफ्नै खेलमैदानछेउमा थुनिएका थिए । घडीको सुईबाट समय पहिचान गर्न सिकेपछि परशुरामले थाहा पाए– त्यो जेलमा प्रजातन्त्र पनि थुनिएको रहेछ ।
प्रजातान्त्रिक र समाजवादी सिद्धान्तबाट प्रभावित यिनको स्वभावमा भने ‘एस अर नो’ प्रकारको कडा लाग्ने शैली पनि देख्न सकिन्छ । दुई छोरा र दुई छोरीका पिता यिनमा व्यावहारिक छनक पनि राम्रो देखिन्छ । समाज अनुकूलको व्यवहार गर्न सक्ने क्षमता राख्छन् उनी, शैली, सिद्धान्त र सपनाप्रति कर्तव्यनिष्ठ लाग्छन् । समाजमा बस्ने आममानिसले कुनै कुराप्रतिको अत्यधिक लगावलाई ‘मुख्र्याइँ’ या ‘पागलपनको’ संज्ञा पनि देख्न सक्छ । तर, समयले यी सबै कुरालाई गलत साबित गरिदिन सक्छ । बरु, समय जीवनको अर्थपूर्ण र सार्थक क्रियाशीलताप्रति अनुगृहीत हुन सक्ला । सायद यसै कारण आज समय परशुरामप्रति अनुगृहीत छ ।

प्रतिक्रिया