कोलकाता नाइट राइडर्सलाई बंगालको सम्मान


कोलकाता, १७ जेठ । कोलकातामा मंगलबार १०औं हजार मानिस एकाएक सडकमा उत्रिए । कुनै विरोध वा नाराबाजीका लागि उनीहरू सडकमा आएका भने होइनन् । पाँचांै संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिताको उपाधि जितेर चेन्नाईबाट फर्किएको कोलकाता नाइट राइर्डसलाई स्वागत गर्न कोलकाताका सडकहरू भरिएका हुन् ।
राजनीतिक नेता, उच्चस्तरका कलाकार तथा संगीतकर्मी र कोलकातामा क्रिकेटलाई स्थापित गर्ने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का पूर्वप्रमुख जगमोहन डालमियाले आइपिएल सिजन–५ को विजेताटिमलाई कोलकाताका सडकमा गजबले साथ दिए ।
ट्रकको खुला छतमा रहेर दक्षिण कोलकाताको हाज्रादेखि राइटर्स बिल्डिङसम्मको करिब ५ किलोमिटर दूरीमा विस्तारै उनीहरूले कोलकाताका जनताको स्वागत थापेका थिए ।
सडकमा उनीहरूलाई करिब ५० हजार मानिसले स्वागत गरे । यसका अतिरिक्त रूख र घरको छतबाट पनि विजेताटिमलाई स्वागत गर्नेको संख्या ठूलो थियो ।
राइटर्स बिल्डिङमा सानो कार्यक्रम गरिएपछि कोलकाता टिमलाई सोझै इडेन गार्डेन रंगशालामा लगिएको थियो जहाँ नि:शुल्क दर्शक प्रवेश गर्ने व्यवस्था मिलाइएको थियो । रंगशालाका कुनै पनि सिट खाली थिएनन् । कोलकाताकी मुख्यमन्त्री ममता बनर्जीले त्यहाँ खेलाडी स्वागतमा केक काट्नुका साथै टोलीका सम्पूर्ण सदस्यलाई सुनको मेडल पहिर्‍याइएको थियो । त्यसअघि पश्चिम बंगालका राज्यपाल एम के नारायणनले खेलाडीलाई खादा ओढाइदिएका थिए । स्थिति अनियन्त्रित हुँदै गएपछि इडेन गार्डेन रंगशालाबाहिर कार्यक्रमको अन्त्यमा भने उत्साहित दर्शकलाई प्रहरीले लाठीचार्जसमेत गर्नुपरेको थियो जसमा केही घाइते हुन पुगेका थिए ।
कोलकाताका अधिकांश विदेशी खेलाडी चेन्नाईबाटै स्वदेश फर्किए पनि बंगलादेशका सकिब अल हसन भने उक्त समारोहमा उपस्थित रहेर विदेशी खेलाडीको प्रतिनिधि बनिदिए । प्रमुख प्रशिक्षक ट्रेभोर बेलिस र मनोवैज्ञानिक प्रशिक्षक रुदी वेभ्स्टर पनि त्यसक्रममा सहभागी थिए । गत शनिबार भएको रोमाञ्चक फाइनलमा चेन्नाईलाई ५ विकेटले पराजित गरी कोलकाता पहिलोपटक आइपिएलविजेता भएको थियो ।

प्रतिक्रिया