युवा संघ नगर अध्यक्षको हत्यामा संलग्न पक्राउ

जनकपुर, १७ जेठ । नेकपा (एमाले)को भ्रातृसंगठन युवा संघका जनकपुर नगर अध्यक्ष माथवर मुखियाको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जनतान्त्रिक तराई मुक्ति मोर्चा (पृथ्वी सिंह) सँग आबद्ध  जनकपुर–१२ कुवा रामपुरका आभाष भनिने रामबाबु महतोलाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
भारतीय प्रहरीको सहयोगमा धनुषा जटहीबाट ३३ वर्षीय महतोलाई नियन्त्रणमा लिइएको एसपी पुरुषोत्तम कँडेलले बताए । प्रहरीका अनुसार महतोले फोनबाट धम्क्याएर चन्दा असुल गर्दै आएका थिए । महतोले २३ साउनमा जनकपुर–१२ का मुखियालाई गोली प्रहार गरेर हत्या गरेका थिए । महतो जनकपुरमा हातहतियार ओसारपोसार तथा भण्डारण कार्यमा पनि संलग्न थिए । उनलाई जलेश्वर कारागारमा राखिएको छ ।
एसपी कँडेलका अनुसार महतोले ९७२४१५३७२८ नम्बरको फोनबाट एसएमएस गरेर मार्ने धम्की दिँदै रकम असुल्ने गरेका थिए । प्रहरीले महतोका साथबाट सिम कार्ड, विस्फोटक पदार्थमा प्रयोग हुने बारुद र सोडा बरामद गरेको छ ।
धनुषा प्रहरीले पत्रकार सम्मेलनमा आपराधिक क्रियाकलापमा संलग्न अन्य चार अभियुक्तलाई पनि सार्वजनिक गरेको छ । मोर्चामा आबद्ध जनकपुर–१२ कुवा, रामपुरका ३१ वर्षीय शंकरकुमार यादव र २७ वर्षीय सञ्जीवकुमार यादवलाई सार्वजनिक गरिएको हो । प्रहरीका अनुसार दुवैले महतोलाई आपराधिक क्रियाकलापमा सहयोग गर्दै आएका थिए ।
यस्तै, प्रहरीले अपहरण तथा शरीर बन्धकमा संलग्न ३२ वर्षीय त्रिलोककुमार यादवलाई समेत सार्वजनिक गरेको छ । महोत्तरीका यादव हाल जनकपुर–८ वाल्मीकिनगरमा बस्दै आएका थिए । फेमिली बचत तथा ऋण सहकारी संस्थामा आबद्ध यादवले पनि फोनबाट धम्क्याएर चन्दा असुल गर्दै आएका थिए । उनी हातहतियार देखाएर लुटपाटमा संलग्न थिए । यादव जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह) सँग आबद्ध भएर रौतहट इन्चार्जका रूपमा काम गरिरहेको पाइएको छ  ।
यस्तै, फोनमार्फत धम्क्याएर चन्दा असुलीमा संलग्न महोत्तरी सुन्दरपुर– २ का २० वर्षीय कमान्ड भनिने रामबाबु यादवलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । कक्षा १२ मा पढ्दै गरेका उनी ज्वाला सिंह समूहमा आबद्ध रहेको बताइएको छ ।

प्रतिक्रिया