राउटे मुखियालाई हिनामिनाको आरोप

दाङ, १७ जेठ । ‘मुखियाले हाम्रो भागको पैसा खाए,’ राउटे सुन्दर शाहीले भने, ‘मुखियाले पैसाको हिसाब नै देखाउँदैनन् । कसले कति दियो, त्यो पनि हामीलाई भन्दैनन् ।’
राउटेका लागि आएको रकममा मुखियाले हिनामिना गरेको राउटे समुदायका सदस्यले आरोप लगाएका छन् । पश्चिम वन क्षेत्रमा बस्दै आएका राउटे बस्तीका मुखिया ऐनबहादुर शाहीले राउटेका लागि आएको पैसा उनीहरूलाई नदिएको गुनासो गरेका हुन् ।
पुर्खौँदेखि जंगली जीवन बिताइरहेका राउटे जातिले पछिलो समय पिछडिएको वर्गका रूपमा विभिन्न सरकारी एवं गैरसरकारी निकायको सहयोग पाउँदै आएको छ । संस्थाहरूले राउटे बस्दै आएको जंगलमा पुगेर नगद र जिन्सी सहयोग गरिरहेका छन् । यज्ञबहादुर शाही पनि मुखियाले ठगेको बताउँछन् । उनले भने, ‘हामी मुखिया फेर्ने सोचमा छौँ ।’ उनले मुखियाले जनतासँग राम्रो काम गर्न नसकेको बताए ।
साँवा अक्षरसमेत नचिनेका राउटेका मुखिया ऐनबहादुरले जनताका सम्पूर्ण भार आफैँ सम्हाल्दै आएका छन् । उनले आफूले जनताको पैसा नखाएको बताए । उनले भने, ‘मैले जनताकै लागि ठाउँठाउँ पुगेर सहयोग मागिरहेको छु, जनताले मुखियालाई त्यसरी आरोप लगाउन पाइँदैन,’ उनले भने ।
सहयोग गर्ने निकायले पठाएको सहयोग मुखियाकै हातबाट अरूसमक्ष पुग्ने गरेको छ । राउटे परम्पराअनुसार हरेक काममा मुखियालाई सोध्नुपर्ने हुन्छ । जिल्लाका विभिन्न निकायले अहिलेसम्म गर्दै आएको सहयोग मुखियाले नै लिँदै आएका छन् । सामाजिक सुरक्षा भत्ताबापत सरकारले प्रतिव्यक्ति एक हजार रुपियाँ दिँदै आएको छ । त्यसबाहेक विभिन्न संघसंस्थाले उनीहरूलाई नगद एवं जिन्सी सहयोग गर्दै आएका छन् । मुखियाले आफूहरूलाई कहिले चार सय त कहिले पाँच सय रुपियाँमात्र दिने गरेको र अरू पैसा नदिएको राउटेहरूको गुनासो छ ।
गत माघमा जिल्ला विकास समिति दाङले आठ महिनाको एकमुष्ट रकम मुखिया ऐनबहादुरलाई हस्तान्तरण गरेको थियो । प्रतिमहिना एक हजारका दरले एक सय ३१ जनाको भत्ता ऐनबहादुरले नै बुझेका थिए । सबैको भत्ता र सहयोग बुझ्ने मुखियालाई अहिले उनका जनताले नै भ्रष्टाचारको आरोप लगाएका छन् ।
राउटे समुदायलाई राउटे उत्थान प्रतिष्ठान नेपालले सहयोग गरिरहेको छ । त्यस्तै, जनजाति प्रतिष्ठान नेपाल, महिला तथा बालबालिका मन्त्रालय, काठमाडौं महानगरपालिका, शिक्षा विभाग, साना तथा युवा स्वरोजगार शाखाबाट पनि राउटेलाई आर्थिक एवं भौतिक सहयोग हुँदै आएको छ । ४० घर राउटे परिवारमा एक सय ३१ सदस्य छन् ।

प्रतिक्रिया