सुन लुटेराको बिगबिगी

काभ्रे, १७ जेठ । ‘चामलको भारी बोकेर धुलिखेलबाट काभ्रे–३ स्थित घर जाँदै थिएँ,’ ५५ वर्षीया जेठी तामाङले भनिन्, ‘अपरिचित व्यक्तिले ए बूढी † रिङ फुकाल भन्दै ढुंगाले टाउकामा हान्यो ।’
ढुंगा पाखुरा र कुममा लागेपछि ढलेकी तामाङको कान च्यातेर बेरुवा रिङ लुटिएको थियो । सोमबार साँझको सो घटनामा बेहोस तामाङको तिलहरी तान्दै गर्दा जंगलमा भएका व्यक्ति कराएपछि लुटेरा भागेको थियो ।
तामाङले आइतबार मात्रै बनेपामा ५५ हजार रुपियाँ तिरेर रिङ किनेकी थिइन् । सोमबार नै लुटिएपछि तामाङले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी छन् । घटनाका प्रत्यक्षदर्शी धुलिखेलका अरुण श्रेष्ठले सिन्धुपाल्चोक माङ्खाका माधव रायमाझीले लुटेको भन्दै किटानी उजुरी दिइए पनि प्रहरीले दर्ता गर्न मानेन ।
रायमाझी यसअघि पनि लुटपाटकै घटनामा संलग्न भई कारबाही भोगिरहेका पूर्वप्रहरी हुन् । धुलिखेलमा डेरा गरी बस्दै आएका रायमाझी बिदाको दिन मात्रै आउने गरेका थिए । तामाङ लुटिँदा रायमाझी पछि गएको देखेको अरुणले बताए । प्रहरीले प्रमाण पुग्न नसकेको भन्दै उजुरी दर्ता गर्न नमानेको तामाङले बताइन् ।
यसअघि गत बिहीबार लुटेराको समूहले सुन लुटेर मरी भन्ने ठानेर फालेकी एक वृद्धालाई १७ घन्टापछि आफन्त र स्थानीयले जीवितै उद्धार गरेका थिए । उद्वार गरिएकी वृद्धाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । उनको पाँच दिनपछि सोमबार साँझ मात्रै होस खुलेको हो ।
र्‍याले–७ घर भई सोही गाविसको ८ नम्बरस्थित गोठमा गाईलाई खानेकुरा दिन गएकी ६६ वर्षीया मनमाई घिमिरेलाई लुटेराले दिउँसो ११ बजे भक्तपुर सिपाडोल–४ स्थित हरियाली सामुदायिक वनमा फालिदिएका थिए । ‘सधैँ गोठमा पुगेर फर्किने दिदी बिहीबार साँझ ७ बजेसम्म नफर्किएपछि खोज्न जाँदा फेला परिनन्,’ भाइ बालकृष्ण सापकोटाले भने ।
बाटो ढुकेर कुटपिट गर्दै सुन लुट्ने क्रम बढेपछि काभ्रेका महिलाले असुरक्षाको महसुस गरेका छन् । उजुरीमा हुलिया उल्लेख गर्दा पनि प्रहरीले उजुरी लिन नमान्दा पीडित थप पीडामा परेका छन् । लुटपाटमा पूर्वप्रहरीको संलग्नता खुले पनि प्रहरीले कसैलाई समातेको छैन ।

प्रतिक्रिया