आत्मसम्मानमा रमाएकाहरू


‘अनेकथरी ‘धन्दा’ गरेर मुख लुकाएर हिँड्नुभन्दा आत्मसम्मानको सानै काम राम्रो होला नि ?’ यो मान्यता हो सुनीता बस्नेतको । उमेरले २५ मात्रै पुगेकी उनी नारायणगोपालचोक नजिकैको रिचमन्ड फुड क्याफेमा झाडुपोछा लगाउने काम गर्छिन् ।
उनीजस्तै उमेरका धेरै छोरीचेली चिटिक्क परेर निस्कन्छन् । सुनीतालाई भने एकाबिहानैदेखि समयको चापाचाप सुरु हुन्छ । ‘बिहानै उठेर सासू, श्रीमान्लाई चिया पकाउँछु’ सुनीताले भनिन्, ‘सकेसम्म दुई प्रेड पढ्छु, सातबजे त काममा पुगिसक्नुपर्छ ।’ होटेलका भुइँ, टेबल, किचेन र कोठामा झाडुपोछा गर्ने पेसाले उनको मन कहिल्यै धमिलो भएको छैन । बरु उनै सफा पारिएका टेबल र भुइँजस्तै उज्यालिएको देख्न सकिन्छ ।
बाँसबारी उच्च माविमा पढ्दै गरेकी सुनीताले भनिन्,‘काम सानो ठूलो हुँदैन, व्यवहारले पो त्यस्तो बनाउँछ त ।’ पढ्नैका लागि राजधानी पसेको भन्न रुचाउने उनले पढेलेखेर अरूले ‘ठूलो’ भन्ने गरेको जागिरसम्म खाने सपना बनाएकी छन् । उनीकहाँ आउने गेस्टहरूबाट आफूले कहिल्यै कुनै नमीठो व्यवहार सहनु नपरे पनि उनलाई कसैकसैले ‘सानो काम’ भनेको सुन्दा भने दु:ख लाग्दो रहेछ ।
आफूजस्तो निरक्षरलाई सातआठ हजारको जागिर दिएकामा दाङ देउखुरी मौरीघाटकी ३५ वर्षीया शान्ति चौधरी पनि दंग छिन् । उनले भाटभटेनी सुपरमार्केटका सञ्चालकप्रति कृतज्ञता जनाउँदै भनिन्, ‘आठ घन्टा काम गर्छौं, आठ हजार लिन्छौँ, हामीलाई अरू कर्मचारीभन्दा सम्मान पनि दिइएको छ ।’ सञ्चालकले दिएको जागिरभन्दा उनले भन्ने गरेको ‘तपाईंहरू यसलाई सुन्दर बनाउने माली हो’ भन्ने भनाइले बढी जाँगरिलो बनाएको शान्तिले भनिन् । कतिपय मान्छेले पोछाझाडु लगाउनेलाई ‘हेय’को नजरले हेर्ने गरेको थाहा भए पनि आफूकहाँ त्यस्तो नभएको उनले बताइन् । शान्तिजस्तै पोछाझाडुमै जीवनका झन्डै आठ वर्ष बिताएकी सर्लाही हरपुर–९ की ३१ वर्षीया मेनुका बस्नेत सुनीताजस्तै आत्मसम्मान बेच्नभन्दा श्रम बेचेर खानुमा गौरव देख्छिन् । ‘सहरमा अनेकथरी मान्छे छन्, पैसाका लागि आफँलाई बेच्नेहरूको कमी छैन’ मेनुकाले भनिन्, ‘आफूलाई बेच्नेहरू मुख छोपेर हिँड्छन्, हामी मिहिनेत गर्छांै, टाउको उठाएर हिँड्छौँ ।’
अबको जमाना श्रम गरेर खाने भएको बुझेकी सिन्धुपाल्चोककी लालकुमारी तामाङ ‘त्यसैले यो पेसामा आएको’ भन्छिन् । उनी झाडु लगाएरै महिनामा चार पाँच हजार कमाउने गरेको जानकारी दिँदै भन्छिन्,‘श्रीमान् र मेरो कमाइले तीनजना छोराछोरी सजिलै पढाउन, पाल्न सकेका छौँ ।’ धेरै मानिस दु:ख नगर्ने बानी र सजिलै कमाउने बहानामा ‘अनेकथरी’ काम गर्ने गरेको बताउने लालकुमारीले भनिन्,‘कमाउनु छ भन्दैमा ‘जे पनि’ गर्नेहरूले समाजलाई खोक्रो बनाउँदै लगेका छन् । झाडुपोछामै रमाएका सुनीता, शान्ति, लालकुमारी र मेनुकाहरूले देशको राजनीति पनि नबुझेका भने होइनन् । गरिखाने यी प्रतिनिधि पात्रले मुलुकमा गरिखाने अवस्था बिग्रँदै गएकोप्रति भने उस्तैखाले चिन्ता जनाएका थिए ।
राजनीतिप्रतिको वितृष्णा जनाउने शब्द र शैली फरक भए पनि उनीहरूको आशय भने कत्ति फरक थिएन । राजनीतिमा चासो नभए पनि हिँड्दा, टिभी हेर्दा, आफन्त भेट्दा उनीहरूले आजको राजनीतिलाई राम्ररी बुझेको बताए । उनीहरूको आशय थियो, ‘हामी मरीमरी दु:ख गरेर कमाउँछौँ, घरभाडा तिर्छौं, हामीले तिरेको पैसामा रजाइँ गरेर हामीलाई केही दिन सकेनन् ।’ पढ्दै गरेकी सुनीताले त स्पष्टै भनिन्, ‘यिनीहरू (राजनीतिज्ञ)ले हामीलाई ल्याएर देलान् भन्ने आशा त होइन, जे गरिखाएका थियौँ, त्यही पनि नपाइने हो कि भन्ने मात्रै पिर छ ।’

प्रतिक्रिया