सात नेपाली साउदी अरबको जेलमा

धनकुटा,१६ जेठ । वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब पुगेका संखुवासभा याकु–६ का २४ वर्षीय अशोक राई जेल परेपछि आफन्तले उद्धारका लागि अपिल गरेका छन् ।
राईलाई स्थानीय प्रहरीले पक्राउ गरेर जेलभित्र चरम यातना दिएको बताउँदै बहिनी सीताले दाजुको जीवनरक्षाको पहल गरिदिन अपिल गरेकी हुन् । धनकुटा–१ हिले ओक्मालुङ निवासी राईकी फुपूकी छोरी सीताले आइतबार धनकुटामा पत्रकार सम्मेलन गरेर दाजुलाई १५ मार्च ०१२ मा काम गरेकै स्थानबाट पक्राउ गरेर शारीरिक र मानसिक यातना दिइएको बताइन् । प्रहरीले राईलाई साउदीको दमाम ९१ जेलको चार नम्बर कोठामा राखेको छ । जेलमा एक हजार दुई सयभन्दा बढी नेपाली छन् । राईसँगै १३ नेपाली एकसाथ पक्राउ परेको पीडितले फोनमार्फत जानकारी दिएको
सीताले बताइन् ।
राईसँग पक्राउ परेका १३ नेपालीले नेपाल फर्कन २६ मार्च ०१२ मा फारम भरेका भए पनि १५ दिनपछाडि ६ जनालाई नेपाल पठाइएको र उनीलगायत अन्यलाई जेलमै राखिएको बताइएको छ । जेलमा इलामका दिनेश राई, धनकुटाका नवीनबहादुर कटुवाल, रोल्पाका नवीन बुढामगर, म्याग्दीका खोमबहादुर मगर, बुटवलका खेमलाल पुन र विक्रम श्रेष्ठले शारीरिक यातना पाइरहेको उनीहरूले फोनमार्फत जानकारी दिएको सीताले बताइन् ।
जेलमा राई बिरामी परेको फोनबाट जानकारी पाएको सीताले बताइन् । काठमाडौंस्थित ब्रिलियन्ट म्यानपावर कम्पनीबाट एक लाख २० हजार रुपियाँ तिरेर २९ जुलाई ००७ मा राई साउदी पुगेका थिए । सम्झौताबमोजिमको तलब र काम नदिएपछि एक वर्षपछि राई गैरकानुनी रूपमा नुरा युनिभर्सिटी कम्पनीमा सेक्युरिटी गार्डका रूपमा काम गर्दै आएका थिए । उनीहरूलाई गैरकानुनी रूपमा काम गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
पत्रकार सम्मेलनमा सीताले विदेश पठाउने म्यानपावर कम्पनीका सञ्चालक उदयराज पाण्डेले झुटो आश्वासन दिएर दाजुलाई फसाएको आरोप लगाइन् । राईले आफूहरूलाई पक्राउ गरी शारीरिक र मानसिक यातना दिइएको र बिरामी हुँदासमेत उपचार नगरेकाले नेपाल फर्काउन पहल गरिदिन फोनमा गुहारेको सीताले बताइन् ।

प्रतिक्रिया