उपाधि जित्ने दाउमा ‘ओरान्जे’

एम्सटर्डम, १६ जेठ । युरोपका व्यावसायिक घरेलु फुटबल बन्द छन् । क्लब फुटबल बन्द भएको अवस्थामा सबैको ध्यान राष्ट्रिय टोलीमाथि केन्द्रित हुनु स्वाभाविक हो । युरोपका सबै फुटबल समर्थक अहिले क्लब छाडेर देशको फुटबलबारे सोचिरहेका छन् । यिनीहरूको ध्यान आसन्न युरोकप फुटबल–२०१२ मा नै केन्द्रित छ । पोल्यान्ड र युक्रेनमा संयुक्त रूपमा आयोजना हुने प्रतियोगितामा सहभागी प्रत्येक १६ टोली एकसेएक भए पनि नेदरल्यान्ड्सलाई यसपटक दाबेदारमध्ये एक मानिएको छ ।
हल्यान्डको नामले पनि परिचित नेदरल्यान्ड्सको राष्ट्रिय टोलीले पहिलो अन्तर्राष्ट्रिय खेल सन् १९०५ मा बेल्जियमसँग खेलेको थियो । सुन्तला रंगको राजदरबार भएको नेदरल्यान्ड्सले यसैलाई इंगित गर्दै उपनाम पनि ‘ओरान्जे’ राखेको छ । नेदरल्यान्ड्सले खेलेका सुरुआतका अन्तर्राष्ट्रिय प्रतियोगिता सन् १९३४ र १९३८ का विश्वकप हुन् ।
नेदरल्यान्ड्सले आफूलाई पहिलोपटक फुटबलको शक्तिराष्ट्रको रूपमा परिचित गराउने क्रममा सन् १९७४ मा पश्चिम जर्मनीमा भएको विश्वकप फुटबलमा फाइनलसम्मको यात्रा तय गरेको थियो । सातपटक विश्वकपमा छनोट भएको हल्यान्डको युरोकपमा यो नवौं सहभागिता हो । सन् १९७४ र ७८ को विश्वकपमा खेलेको नेदरल्यान्ड्सको राष्ट्रिय फुटबल टिम सन् १९८२ विश्वकपको ब्राजिलभैंm विश्व च्याम्पियन नबन्ने संसारकै उत्कृष्ट टोलीका रूपमा परिचित छ ।
त्यसै समयमा प्रशिक्षक राइनस माइकल्सले ‘टोटल फुटबल’ को नयाँ सोच परिचित गराए भने त्यसै समयपछि आयाक्स र फियुनार्ड विश्व फुटबलका पायनियर क्लबको रूपमा परिचित भए ।
टोलीका सबै खेलाडीले सबै पोजिसनमा एउटै गतिमा खेल्न सक्नुपर्छ भन्ने यो नयाँ फुटबल दर्शनलाई एक दशकसम्म ‘ए क्लक वर्क अरेन्ज’ को रूपमा पनि चिनियो । तर, टोटल फुटबलको नयाँ सोच भित्र्याउने डचहरूले विश्व फुटबलमा यसको उपलब्धि भने पाएनन् । योहान क्रायफबाट प्रेरित नेदरल्यान्ड्स १९७४ को विश्वकप फाइनलमा जर्मनीसँग ३–२ ले, १९७८ को फाइनलमा अर्जेन्टिनासँग ३–१ ले र २०१० को फाइनलमा स्पेनसँग १–० ले पराजित भयो । तीनपटक विश्वकप फाइनल पुगेर पनि नजित्ने अभागी टोलीका रूपमा नेदरल्यान्ड्स रहयो ।
दुईपटक विश्वकप फाइनलमा पराजित हुने समयकै बीचमा नेदरल्यान्ड्स १९७६ को युरोकपको सेमिफाइनलमा चेकोस्लोभाकियासँग पराजित भएको थियो । त्यस वर्ष उपाधि पनि चेकोस्लोभाकियाकै नाममा रहयो । त्यसपछि माइनस नै १९८८ को युरोकप टोलीको प्रशिक्षक भएपछि नेदरल्यान्ड्स फेरि सुन्दर फुटबलको पर्याय बन्न पुग्यो । मार्को भान बास्टेन, रुड गुलिट, फ्रान्क राइकार्ड र रोनाल्ड कोम्यान सम्मिलित डच टोली उक्त प्रतियोगितामा पनि पहिलो खेलमै तत्कालीन सोभियत संघसँग
१–० ले पराजित भयो ।
प्रतियोगिताको अर्को खेलमा भान बास्टेनको हयाट्रिकमा इङल्यान्डलाई ३–१ ले हराएपछि डच टोलीको आशा जागेको थियो । आयरल्यान्डसँग जित्नैपर्ने खेलमा ८२आंै मिनेटमा केफ्टको गोलमा नेदरल्यान्ड्स विजयी भएको थियो । त्यसपछि जर्मनीसँगको सेमिफाइनल १–१ को बराबरीतर्फ उन्मुख भए पनि ८९आंै मिनेटमा भान बास्टेनले गोल गर्दै जर्मनहरूको मुटुमै प्रहार मात्र गरेनन्, १९७४ विश्वकप फाइनलको हारको बदलासमेत लिए ।
सोभियत संघसँगको फाइनलमा रुड गुलिटको बुलेट हेड गोल र भान बास्टेनले गरेको युरोकपको हालसम्मकै उत्कृष्ट गोलका कारण नेदरल्यान्ड्स उपाधि जित्न सफल भयो । त्यसपछि त्यो गर्विलो इतिहास फर्काउन संघर्ष गरिरहेको नेदरल्यान्ड्स १९९२ को युरोकपको सेमिफाइनलमा पराजित भयो भने डेनिस बर्गक्याम्पको युगमा १९९८ को विश्वकपमा सेमिफाइनलमा प्रवेश गर्‍यो ।
सन् २००८ को युरोकपपछि प्रशिक्षक बर्ट भान मर्जवीको नेतृत्वमा यो देशले राम्रो प्रदर्शन गरिरहेको छ । शत प्रतिशत विजयसहित विश्वकपमा छनोट भएको नेदरल्यान्ड्स फाइनलसम्म पनि पुगेको थियो । युरो छनोटमा पनि नेदरल्यान्ड्सले १० मध्येका ९ खेल जितेको थियो । छनोट भइसकेपछि टोलीका नियमितभन्दा बाहेक खेलाडीलाई मौका दिंदा नेदरल्यान्ड्स स्वीडेनसँग पराजित भएको थियो ।
वर्तमान डच टोलीमा मार्क भान बोमेल, वेस्ली स्नाइडर, डर्क क्युट र जोनी हेटिङगाजस्ता अनुभवी खेलाडी छन् । एफेली र स्ट्रम्यानजस्ता प्रतिभाशाली युवा खेलाडीको साथ पनि नेदरल्यान्ड्सलाई छ । हन्टलर, रोबिन भान पर्सी र आर्जेन रोबेनजस्ता फरवार्ड भएका कारण डच टोलीको आक्रमण खतरनाक मानिन्छ । क्लब फुटबलकै प्रदर्शनलाई आधार मान्दा भान पर्सीलाई गोल्डेनबुटको दाबेदारसमेत मानिएको छ, साथमा नेदरल्यान्ड्स युरोकपको दाबेदार पनि । एजेन्सी

प्रतिक्रिया