चियाको बट्टा फोर्दा पैसैपैसा


काठमाडौं, १६ जेठ । बारा महेशपुर–७ का ३१ वर्षीय असिन मिया त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाट फुर्तिसाथ निस्कँदै थिए । कालो सुटकेस गुडाउँदै हिँडेका बेला प्रहरीको एउटा टोलीले रोकेर सुटकेस खोल्न भन्यो । उनले नहिच्किचाई सुटकेस खोले । सुटकेसमा चिया, कुकिज, सर्फजस्ता घरायसी प्रयोगका सामग्री टनाटन थिए ।
झट्ट हेर्दा सुटकेसभित्रका सामग्री सबै सामान्य नै देखिन्थे । तर, सोसाइटी लेखिएको चियाको बट्टालाई प्रहरीले शंकास्पद ठान्यो । नभन्दै प्रहरीले बट्टा के फोरेको थियो, चिया होइन, भारतीय नोटको बिटो कोचिएको भेटियो । स्तब्ध बनेका प्रहरीले टी टाइम असोर्ड नामको कुकिज पनि फोड्यो र त्यसमा पनि भर्खर छापिएको जस्तो लाग्ने भारतीय नोट भेटियो । सँगै रहेको बहर नामक सर्फको बट्टा फोर्दा पनि भारतीय नोट नै †
प्रहरीले सुटकेसभित्रका सबै कपडा बाहिर निकाले । अनि, फल्स बटम फोर्दा त्यो पनि भारतीय नोटले नै भरिएको थियो । त्यस बेलासम्म असिन असिनपसिन बनिसकेका थिए । सुटकेसबाट प्रहरीले पाँच सयका तीन हजार नौ सय ९० थान र हजारका चार हजार नौ सय ७७ थान गरी उनान्सत्तरी लाख बहत्तर हजार भारतीय नोट बरामद गर्‍यो । परीक्षणपछि पुष्टि भयो, बरामद भएका सबै नोट नक्कली थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा विभाग प्रमुख डिआइजी नारायण वस्ताकोटीले ठूलो परिमाणमा नक्कली भारतीय नोट भेटिएको यो तेस्रोपटक भएको बताए । असिन साउदी अरबको सारजहाबाट १४ गते जी ९ ५३५ नम्बरको जहाज चढेर नेपाल आएका थिए । विमानस्थलमा ८:०६ बजे उत्रिएका उनलाई प्रहरीले नौ बजे पक्राउ गरेको थियो ।
सारजहामा पेन्टरको काम गर्ने भनिएका उनी दुई महिनाको छुट्टी लिएर नेपाल आएका थिए । आफूलाई हिन्दी बोल्ने अपरिचितले नेपाल पुर्‍याउनु भन्दै सुटकेस दिएको उनले प्रहरीलाई बताएका छन् । पत्रकारको जिज्ञासामा पनि उनले कुरा दोहोर्‍याए । डिआइजी वस्ताकोटीले भने प्रहरीलाई असिनले ढाँटिरहेको बताएका छन् ।
डिआइजी वस्ताकोटीका अनुसार काठमाडौंबाट बारा हुँदै भारतीय बजारमा सो नोट पुर्‍याउने योजनामा उनी थिए । बारामा उनलाई मन्जुर अन्सारी भनिने व्यक्तिले सहयोग गर्ने गरेको उनको भनाइ छ ।
यसअघि विमानस्थलमा ३९ लाख ९० हजार नक्कली भारतीय रुपियाँसहित पाकिस्तानी नागिरक र ९८ लाख ८ हजार नक्कली भारतीय रुपैयाँसहित भियतनामी नागरिक पक्राउ परेका थिए । डिआइजी वस्ताकोटीका अनुसार यी तीनवटै घटनामा समानता देखिएको छ ।
सप्लाइ गर्ने विधि, व्यक्तिको छनोट तथा नोटको छपाइ गुणस्तर हेर्दा तीनवटा घटनाको योजनाकार एउटै रहेको हुनसक्ने उनको भनाइ छ । वस्ताकोटीले भने, ‘उनीहरूले भरिया प्रयोगमा मात्रै परिवर्तन गरेका छन्, सप्लाइ विधि एउटै छ । विदेशीभन्दा नेपाली नागरिकमाथि शंका कम हुने भएकाले उनीहरूले यस्तो गरेको हुन सक्छ ।’

प्रतिक्रिया