सरकार परिवर्तनले अस्थिरता निम्तायो

काठमाडौं, १५ जेठ । प्रधानमन्त्री बाबुराम भट्टराईले संविधान बनाउने तर्फ भन्दापनि राजनीतिक दलहरुले सरकार बनाउने तर्फ ध्यान दिएकाले नयाँ संविधान बन्न नसकेको आरोप लगाएका छन् । उनले भने, ‘विगत ४ वर्षमा ५ वटा सरकार हामीले बेहोर्नु पर्‍यो ।’
पाँचौ गणतन्त्र दिवसका अवसरमा काठमाडौंको टुडिखेलमा आज आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले यो अस्थिरताका कारणले संविधान निर्माणमा ढिलाई भएको बताए । उनले भने, ‘सरकार परिवर्तनका खेलले निरन्तर अस्थिरता निम्त्याइरह्यो र दलहरूबीचको न्यूनतम समझदारी र सम्बन्ध पनि टुटाइदियो ।’
उनले राजनीतिक दलहरुबीचको असमझदारीले ल्याएको परिणाम सम्हाल्ने जिम्मेवारी फेरि पनि राजनीतिक दलहरुकै रहेको बताएका छन् ।
प्रधानमन्त्री भट्टराईले आगामी दिनमा शान्तिसुव्यवस्था, सामाजिक सदभाव कायम राख्न, राष्ट्रिय एकता र अखण्डतालाई अझ सुदृढ बनाउन आ–आफ्नो ठाउँबाट सबैले योगदान दिन आह्वान गरेका छन् ।
आगामी मंसीर–७ गतेका लागि तय गरिएको नयाँ संविधानसभा निर्वाचनलाई सफल पार्न पनि भट्टराईले आग्रह गरेका छन् ।

प्रतिक्रिया