पाँच वर्षपछि अमेरिकी डोनोभानको हयाट्रिक

फ्लोरिडा, १५  जेठ । प्रष्ट भएको छ, अमेरिकी फुटबलर ल्यान्डन डोनोभानको खेल्ने जाँगर अझै पनि कम भएको छैन । कति समयसम्म ‘एलिट’ स्तरमा खेल्ने भोक उनीमा छ भन्नेप्रति सार्वजनिक रूपमा चासो भइरहँदा ३० वर्षीय डोनोभानले शनिबार स्कटल्यान्डविरुद्ध भएको मैत्रीपूर्ण खेलमा हयाट्रिक गरे । एलए ग्यालेक्सीका मिडफिल्डर/फरवार्ड उनी उक्त हयाट्रिक राष्ट्रिय टोलीका लागि पाँच वर्षपछि गर्न सफल भएका हुन् । पछिल्ला १८ दिनमा ५ खेल खेलेको अमेरिकी राष्ट्रिय टोलीले आठ महिनापछि बोलाइएका डोनोभानले सानदार प्रदर्शन गर्ने क्रममा स्कटल्यान्ड ५–१ ले पराजित भयो ।
‘पछिल्लो समयमा मलाई बेवास्ता गरिएको बारेमा म केही भन्न चाहन्न तर अब भने त्यस्तै अवस्था फेरि आवोस् भनेर कुनै गल्ती भने गर्न चाहन्न,’ प्रभावशाली पुनरागमनपछि डोनोभानले भने, ‘म अमेरिकी टिमको महत्त्वपूर्ण अंश हुन चाहन्छु, त्यसलाई मात्र म ख्याल गर्छु । म व्यावसायिक खेलाडी हुँ र मलाई थाहा छ मैले कसरी काम गर्नुपर्छ । लामो समयदेखि गरिआए जसरी म आफ्नो भूमिका निर्वाह गरिरहेको छु र गर्नेछु ।’
स्कटल्यान्डविरुद्ध तेस्रो मिनेटमै डोनोभानले खाता खोले । गोलकिपर एलान मेग्रेगोरलाई रिवाउन्डमा बिट गर्दै डोनोभानले अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए । ६०आंै मिनेटमा जर्मैन जोन्सको पासमा दोस्रो गोल गरेका डोनोभानले त्यसपछि पाँच मिनेट पनि नबित्दै माइकल ब्राड्लीको पासलाई सदुपयोग गरी हयाट्रिक पूरा गरेका हुन् ।
स्कटल्यान्डविरुद्ध प्राप्त सफलतापछि डोनोभानले अन्तर्राष्ट्रिय गोल संख्या ४९ पुर्‍याए । अमेरिकाका लागि १ सय ३९ पटक खेल्ने क्रममा उनले तीनपटक हयाट्रिक पनि गरिसकेका छन् । स्कटल्यान्डविरुद्ध सुरुआती टोलीबाट खेलेर उनले राष्ट्रिय टोलीबाट धेरैपटक (१ सय २५) सुरुबाटै खेल्ने अमेरिकी कीर्तिमान पनि बनाए । यसअघि अमेरिकी राष्ट्रिय टोलीमा सन् १९८८–२००३ सम्म खेलेका डिफेन्डर जेफ आगुसले अन्तर्राष्ट्रिय खेलमा १ सय २४ पटक सुरुआतबाटै उपस्थिति जनाउने मौका पाएका थिए । ‘प्राय: सबै कुरा ठीक भएका रातमध्येको एउटा रात रहयो आज,’ डोनोभानले भने, ‘मैले गरेका सबै गोलमा टोलीका सबै खेलाडीले राम्रो साथ दिए ।’
सन् २००२ मा कोन्काकाफ गोल्डकप फाइनलमा डोनोभानले क्युवाविरुद्ध चार गोल र सन् २००७ मा एल साल्भाडोरविरुद्ध खेलिएको प्रदर्शनी खेलमा तीन गोल गरेका थिए । ‘अहिले हामीसँग ल्यान्डन छन् र उनले हामीलाई प्रशस्त गोल दिए,’ अमेरिकी टोलीका जर्मन प्रशिक्षक जर्गेन क्लिसम्यानले भने, ‘यसबाहेक डोनोभानबारे केही भन्न चाहन्न ।’
राष्ट्रिय टिममा ‘डेब्यु’ गरेको छैटौं वार्षिक उत्सवमा ब्राड्लीले ११औं मिनेटमा ३० यार्ड टाढाबाट आकर्षक गोल गरे । चोटका कारण लगातार आठ खेल गुमाएपछि शनिबार मात्र खेलेका जोन्सले ७०आंै मिनेटमा गोल गरी अन्तर्राष्ट्रिय गोल संख्या दुई पुर्‍याए । १५आंै मिनेटमा जेओफ क्यामरुनले स्कटल्यान्डका लागि गोल गरे पनि त्यसपछि अमेरिकाले गोल व्यहोर्नुपरेन ।
अमेरिका आफ्ना पछिल्ला पाँच खेलमा लगातार विजयी भएको छ । गत सिजनको कोन्काकाफ गोल्डकपको फाइनलमा अमेरिकाको खराब प्रदर्शनपछि तत्कालीन प्रशिक्षक बव ब्राड्लीलाई प्रतिस्थापन गरी मैदानमा ल्याइएका क्लिसम्यानको प्रशिक्षणमा अमेरिकाले एक जित, चार बराबरी र एक हारको सामना गरेको थियो ।
क्लिन्सम्यानको प्रशिक्षणमा डोनोभानसँगै यसअघि खेल्न अवसर नपाएका क्लिन्ट डेम्पसी शनिबार पनि चोटका कारण मैदानमा उत्रन असफल रहे । त्यस्तै जोजी अल्तिदोर पनि क्लबले मुक्त नगरेपछि उक्त खेल गुमाउन बाध्य बने ।
फ्लोरिडामा करिब ४५ हजार दर्शकसामु खेलिएको खेलमा क्लिन्सम्यानको प्रशिक्षणमा आएयता पहिलोपटक अमेरिकी खेलाडी आफ्नो नामसहितको जर्सीमा देखापरेका थिए ।
सन् २०१४ को ब्राजिल विश्वकपका लागि छनोट खेलको तयारी गरिरहेको अमेरिकाले अब आगामी बुधबार ब्राजिल र शनिबार क्यानडासँग प्रतिस्पर्धा गर्नेछ ।
छनोट तयारीलाई व्यापक बनाउने क्रममा अमेरिका सन् २००९ को गोल्डकपमा ग्रेनाडालाई ४–० ले पराजित गरेयता पहिलोपटक चार गोलअन्तरमा विजयी भयो भने सन् २०१० को विश्वकपका लागि त्यसको दुई वर्षअघि खेलिएको छनोटमा क्युवालाई ६–१ ले हराएयता पहिलोपटक पाँच गोल गर्न सफल भयो । सन् २००६ मा नर्वेलाई ५–० ले हराएयता अमेरिकाले पहिलोपटक युरोपियन टोलीविरुद्ध पाँच गोल पनि गर्‍यो । आसन्न युरोकपमा छनोट नभएपछि स्कटल्यान्ड भने यतिबेला विश्वकपका लागि छनोट तयारी गरिरहेको छ ।

प्रतिक्रिया