जांगरिली जमुना

समान उमेरका अरू थुप्रै बूढाबूढी चौबीसै घन्टा स्याँ–स्याँ गर्दै ओछ्यानमै थन्किएर बस्दा हुन् । ७९ वर्षीया जमुना थापाले भने त्यस्ता दिन देख्नुपरेको छैन । कसैले देला र खाउँला भनेर आस गरेर बस्नुपर्ने बुढ्यौली उनको होइन ।  भन्छिन्, ‘चार हातपाउ मजाले चलेकै छन् ।’ घरमा दुई बूढाबूढी मात्रै छन्, कलाकार भीमबहादुर थापा उनका पति हुन् । घरायसी काम सबै आफैँ सम्हाल्छिन् जमुना ।
बिहान ६ बजे ओछ्यान छाडेपछि सुरु हुन्छ उनको दैनिकी । नित्य कर्म सकेपछि कोठाभरि देवीदेवता धूपदीप अक्षता गरेर दिन सुरु गर्छिन् । कहिलेकाहीँ घरअगाडिको मैतीदेवी मन्दिरको दर्शन गर्न पनि भ्याउँछिन् । ‘टाढाको मन्दिर जानचाहिँ शरीरले अलि साथ दिँदैन,’ उनले भनिन् । हाड, जोर्नी दुख्ने र ग्यास्टिक रोग छ रे यो बुढ्यौलीमा उनलाई । त्यसैले अमिलो, पिरो र चिल्लोतिर ध्यानै जाँदैन ।
भीमबहादुरले भाँडाकुटी र पुतलीको बिहे खेल्ने सात वर्षको उमेरमा उनको सिउँदो भरिदिएका रहेछन् । पति पनि आठ दशक काटेको उमेरमा तगडै छन् । कलाकारिताका क्रममा बाहिर गइरहन्छन् । त्यति बेला जमुना घरमा एक्लै हुन्छिन् । जमानामा त बूढाले उनलाई सौता हाल्नसमेत भ्याएका रहेछन् । ‘तर अब विगतका सबै तीता कुरा भुलिसकेँ,’ उनले भनिन् । आफू बाँचुन्जेल बूढाको सेवाटहलमा कुनै कसर नआओस् भन्ने चाहँदी रहिछन् यी
हजुरआमा । त्यसकै लागि बुढ्यौलीमा पनि ठिटौले उमेरमै जसरी खट्न खोज्छिन् ।
छोराबुहारी नातिनातिना सबै सात समुद्रपारिको अमेरिकामा छन् । रहर नभएको त कहाँ हो र, छोराबुहारीसँगै बसेर नातिनातिना खेलाउने । तर, छोराबुहारीको भविष्यका लागि सबै बिर्सिएका छन् रे † केही काममा नजिकको नाता पर्ने एक बुहारीले सघाउँदी रहिछन् तर पकाउने र अन्य सामान्य काम भने जमुना आफैँ गर्छिन् सधैँ । खानामा उनलाई उतिसाह्रो सोख छैन । माछामासु छाडेको चौध वर्ष भयो ।
उमेर ढल्कँदै जाँदा बूढाबूढी मात्र बस्नुपर्दा कहिलेकाहीँ अत्यास नलाग्ने भने होइन । दिनभरि घरमा प्राय: एक्लै बित्छ । घरमा कोही आउँदा खुसी मान्छिन् । टिङटिङ आवाज आएर फोन बजेपछि हेलो भन्न पाउँदा खुब आनन्द लाग्छ रे † तर, त्यो अवसर पनि कमै पाउँछिन् । बूढालाई खोज्नेहरूले मोबाइलमा गरिहाल्छन्, उनैलाई भनेर आउने फोन यसै पनि निकै कम । टेलिभिजनचाहिँ कहिलेकाहीँ हेर्छिन् । तीतोसत्य, जिरेखुर्सानी उनका बुढेसकालका फेबरेट कार्यक्रम हुन् । बूढाले खेलेको सिरियल हेर्न पाउँदा त झनै दंग ।
पूर्वमेजरसाबसँगको ७२ वर्षे वैवाहिक सम्बन्ध उनलाई ठीकठाक चलेको जस्तो लाग्छ । छेउमै बसेका बूढालाई हेर्दै छेडखानी गरिन्, ‘हेला भनेर त्यस्तो नराम्रो व्यवहार पनि होइन, माया भनेर त्यस्तो चौपट अनुभूति पनि छैन ।’ २० वर्ष भएछ उनले काठमाडौंमा बिताएको तर अधिकांश समय बिताएको खोटाङ पनि सम्झिरहन्छिन् । ‘के गर्ने बूढाले यतै ल्याएपछि बस्नै परिगो नि †’ उनले सुनाइन् ।
लामो हिँडडुल गर्न उनलाई खुट्टाले साथ दिँदो रहेनछ । ‘सायद बुढौलीले होला,’ उनले सुनाइन् । तर, सक्दिनँ भन्दैमा कुँजिएर बस्न पनि मनले कहाँ मान्छ र ? चाउरी परेको गाला मुसार्दै भनिन्, ‘कस्तो थिएँ कस्तो भएँ, पिउँदापिउदैँ यस्तो भएँ भने जस्तै हो, अब हिजोकै दिनमा जस्तो खोजेर त कहाँ हुन्छ र ?’

प्रतिक्रिया