खोजखबर

‘प्रतिगामीका कारण संविधानसभा विघटन’

सौर्य अनलाइन २०६९ जेठ १५ गते १:५३ मा प्रकाशित

काठमाडौ : प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिगामी शक्तिहरूको अनावश्यक चलखेलका कारण संविधानसभा विघटन गर्नुपरेको दाबी गरेका छन् । संविधानसभामा प्रतिगामीहरूको बहुमत रहेको भन्दै उनले अग्रगामी नेपाली जनताले चाहेअनुसार नयाँ संविधान नबन्ने निश्चित भएकाले विघटन गरिएको बताए ।
संविधानसभाबाटै नयाँ संविधान जारी गर्ने विषयमा आइतबार दिनभर अन्य राजनीतिक दलहरूको छलफलपछि आकस्मिक मन्त्रिपरिषद् बैठकबाट उनले आगामी ७ मंसिरमा पुन: संविधानसभा निर्वाचन गर्ने निर्णय गराएका थिए । बैठकलगत्तै सरकारीनिवास बालुवाटार पुगेर पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री भट्टराईले कांग्रेस, एमालेलगायत दललाई प्रतिगामी भन्दै आक्षेप लगाए ।
‘नेपाललाई संघीय संरचनामा लैजाने भन्ने उनीहरू (कांग्रेस–एमाले) को बृहत् शब्दकोशमै थिएन,’ माओवादी उपाध्यक्षसमेत रहेका भट्टराईले भने, ‘माओवादीलगायत शक्तिहरूको आन्दोलनका कारण पुराना राजनीतिक दलले त्यसलाई बाध्यतापूर्वक स्विकारेका हुन् । यसलाई संविधानमै लेखाउनका लागि माओवादी र मधेसी मोर्चाले अन्तिमसम्म प्रयत्न गरे तर संविधानसभाबाट संविधान बनाउन सकिएन ।’
थकित र निकै भावुक मुद्रामा पत्रकारसामु प्रस्तुत भएका प्रधानमन्त्री भट्टराईले आफूले सर्वोच्च अदालतले दिएको आदेशलाई सर्वोपरि मान्दै अर्को संविधानसभाको निर्वाचनका लागि अन्तरिम संविधानको धारा ६३ (२) बमोजिम मिति घोषणा गरिएको बताए । उपप्रधानमन्त्री विजयकुमार गच्छदार तथा मन्त्रीहरू राजेन्द्र महतो, महेन्द्र यादवलगायत मन्त्रीलाई दायाँ–बायाँ राखेर गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री भट्टराईले यही संविधानसभाबाट नयाँ संविधान जारी गर्ने विषयमा माओवादीले मधेसी दलका नेताले धेरै मिहिनेत गरेको जिकिर गरे ।
‘दुई वर्ष आयु रहेको संविधानसभाको मिति पटक–पटक थप गरेर चार वर्ष पुर्‍याउँदा पनि संघीयता र राज्य पुन:संरचनालगायत मुद्दामा सहमति हुन सकेन,’ उनले भने, ‘एकातिर दलहरूबीच सहमति नहुने, अर्कोतिर सर्वोच्च अदालतबाट पनि म्याद थपका लागि लगाएको प्रतिबन्धका कारण संविधानसभाको विघटन निश्चित थियो । संविधानसभा विघटनबारे आफूले राष्ट्रपतिलाई औपचारिक जानकारी गराएको उल्लेख गर्दै प्रधानमन्त्रीले आफूले राष्ट्रपतिबाट कुनै प्रतिक्रिया नपाएको बताए । अन्तरिम संविधानले कार्यकारी अधिकार प्रधानमन्त्रीलाई दिएकाले आफूले निर्धारित मितिमा अर्को संविधानसभाको निर्वाचन गराउने दाबी गरे ।
कांग्रेस, एमालेलगायत दलले प्रधानमन्त्रीको निर्णय असंवैधानिक भएको भन्दै राष्ट्रपतिकहाँ निर्णय उल्टाएर शासन शक्ति लिन सक्दैनन् र ? भन्ने प्रश्नमा प्रधानमन्त्रीले भने, ‘अन्तरिम संविधानमा प्रधानमन्त्री र राष्ट्रपतिको अधिकार स्पष्ट उल्लेख गरिएको छ, त्यसैले मलाई आशा छ राष्ट्रपतिज्यूबाट त्यसको पालना हुनेछ । संविधानले राष्ट्रपतिलाई नभई मन्त्रिपरिषद्लाई अधिकार दिएकाले राष्ट्रपतिबाट त्यस्तो अप्रिय निर्णय हँुदैन भन्ने मलाई लाग्छ ।’
आगामी ७ मंसिरमा निर्वाचन सम्पन्न गर्नेबारे सरकारले निर्वाचन आयोगसँग पनि छलफल गरिसकेको प्रधानमन्त्रीले बताए । (सौस)

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय